काठमाडौँ- परराष्ट्रमन्त्री डा आरजू राणा देउवाले इजरायलबाट हमास समूहले अपहरण गरी लगेको भनिएका नेपाली युवा विपीन जोशीको अवस्था अझै अज्ञात रहेको बताएकी छन्। आगामी आर्थिक वर्षको बजेटबारे मन्त्रालयगत छलफलका क्रममा सांसदले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री देउवाले यस्तो बताएकी हुन्।
सन् २०२३ अक्टोबर ७ मा हमास समूहले इजरायली क्षेत्रमा आक्रमण गर्दा १० जना नेपालीसहित १२ सय भन्दा बढीको मृत्यु भएको थियो भने २५१ जनालाई हमासले नियन्त्रणमा लिएको थियो। हमासको नियन्त्रणमा पुगेकामध्ये जोशीसहित ५० जनाको अवस्थाबारे कुनै जानकारी नभएको इजरायली सरकारले समेत जानकारी दिँदै आएको छ।
‘अहिलेसम्म उहाँको स्थिति पत्ता लागेको छैन। हामीले भगवानसँग प्रार्थना गरौँ नेपालका छोरा विपीन जोशी सकुशल छन्। कुनै दिन नेपाल फर्किनेछन् भन्ने आशामा छौँ,’ प्रतिनिधि सभामा उनले भनिन्।
जोशी कहाँ र कस्तो अवस्थामा छन् भन्ने विषयमा कुनै जानकारी नभएपनि सरकारले उनको रिहाइका लागि प्रयास गरिरहेको मन्त्री देउवाको भनाइ छ।
‘विपीन जोशीको रिहाइका लागि हामीले सक्दो प्रयास गरेका छौँ। सम्माननीय प्रधानमन्त्री स्वयंले इजिप्टका राष्ट्रपतिलाई फोनमार्फत अपिल गर्नुभएको छ। सभामुख देवराज घिमिरेले अरब संसद्का अध्यक्षलाई सम्बोधन गर्दै पत्र लेख्नुभएको छ’, उनले भनिन्, ‘म स्वयंले कतार संयुक्त अरब इमिरेट्सका परराष्ट्र राज्यमन्त्रीहरू, एजिप्ट टर्की र इरानका परराष्ट्रमन्त्रीहरू पत्र लेखी अनुरोध गरेकी छु।’
ओमानमा आयोजित इन्डियन ओसियन कन्फ्रेन्समा कतार र संयुक्त अरब इमिरेट्सका राज्यमन्त्री र इरानका समकक्षीसँग भेट गरेर अनुरोध गरेको गरेको पनि उनले बताइन्।
विपीन सकुशल रहेको र उनी फर्कने विश्वासमा नेपाली पक्ष छ। सुदूरपश्चिम विश्वविद्यालयको कृषि तथा विज्ञान संकायमा अध्ययनकै क्रममा ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत जोशी इजरायल गएका थिए।
त्यतिबेला विश्वविद्यालयबाट ४९ जना विद्यार्थी इजरायल पुगेका थिए भने विपीनलगायत १७ जना एउटै फार्ममा काम गर्थे। १० जना हमास आक्रमणमा परी मारिए।
हमासले गोली बर्साउन थालेपछि विपीन साथीहरूसँग बंकरभित्र लुकेर बसेका थिए। त्यही बेला विपीनले बंकरमा हमासले हानेको ग्रिनेड मान्छे नभएका ठाउँतिर फ्याँकिदिएको भनेर नेपाल फर्किएकाहरूले बताएका थिए। पछि हमासले बंकरभित्रै पुगेर गोली चलाई विपीनलाई तानेर लगेको नेपाल फर्किएका उनकै ब्याचका विद्यार्थीहरूले बताएका छन्।
गत वर्ष मंसिर ३ गते इजराइली सेना (आईडीएफ)ले ट्विटर/एक्समा एक भिडियो सार्वजनिक गर्दै विपीन जीवितै रहेको बताएको थियो। भिडियोमा दुई जना बन्धकलाई हमासका लडाकुले उपचार कक्षमा लैजाँदै गरेको दृश्य थियो। इजरायली सेना (आइडीएफ)ले ती दुईमध्ये एक नेपाली रहेको भनेको थियो।
नेपालका लागि इजरायली राजदूत शमुलिक ए. वासले गत मंसिर २० गते जोशी गाजा क्षेत्रमै रहेको सूचना पाएको र उनी सकुशल फर्कने सूचना आफूहरूले पाएको बताएका थिए। ‘विपीन जोशी जीवितै रहेको सूचना हामीले पाएका छौं,’ वासले पत्रकारहरुसँग भनेका थिए, ‘उनी छिट्टै काठमाडौँ फर्किनेछन्।’
अक्टोबर ७ पछि सुरु भएको इजरायल-हमास (प्यालेस्टाइन) युद्धमा २२ जुन २०२५ सम्ममा ५५ हजार ९०८ जनाको मृत्यु भएको अलजजीराको रिपोर्टमा उल्लेख छ। तर वास्तविक मृतकको संख्या यो भन्दा पनि बढी हुन सक्ने अन्तर्राष्ट्रिय समाचारहरूमा उल्लेख छ।


