काठमाडौं – सरकारले कीर्तिपुरको त्रिवी अन्तराष्ट्रिय क्रिकेट मैदानलाई अन्तर्राष्ट्रिय स्तरको रंगशालाको रुपमा विकास गरिने योजना बनाएको छ। सोमबार दुवै सदनको बैठकमा अर्थमन्त्री डा. प्रकाश शरण महतले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमा यो मैदानलाई अन्तराष्ट्रिय स्तरको रंगशालाको रुपमा विकास गरिने विषय समेटिएको हो।
यो मैदानमा फ्लड लाइट राख्ने कार्य सम्पन्न गरिने बजेटमा उल्लेख रहेको छ। चालु आर्थिक वर्षको बजेटमा पनि फ्लड लाइट राख्ने व्यवस्था भए पनि सो काम सुरु हुन सकेकाे छैन्। तर सरकारले अन्तर्राष्ट्रिय स्तरको रंगशालाको रुपमा विकास गर्ने महत्वकांक्षी याेजना सार्वजनिक गरेको हो
सरकारले क्रिकेटमा थप लगानी गर्ने भएको छ। मुलपानी क्रिकेट रंगशालाको निर्माण सम्पन्न गरिने बजेटमा उल्लेख रहेको छ। २०६० सालमै दुई वर्षभित्र सम्पन्न गर्ने गरी शिलान्यास गरिएको मूलपानी क्रिकेट रंगशाला अहिलेसम्म निर्माणाधीन छ। यता दुई वर्षअघि पनि निर्मााण् सम्पन्न गर्ने योजना थियो। तर हुन सकेको छैन्। यस परियोजनका लागि २०६९ देखि हरेक आर्थिक वर्षमा वजेट विनियोजन हुँदै आएको छ। तर काम भने हुन सकेको छैन्।
क्रिकेटका क्षेत्रमा विराटनगरको गिरिजा प्रसाद कोइराला क्रिकेट स्डेडियम, बैतडीको दशरथ चन्द क्रिकेट रंगशाला, कैलालीको फप्ला क्रिकेट रंगशाला र काठमाडौंको सुवर्ण समशेर क्रिकेट रंगशाला निर्माण कार्य अघि बढाउन बजेट व्यवस्था गरेको अर्थमन्त्री महतले बताएका हुन्।
देशा विभिन्न स्थान धनगढी, इटहरी, पोखरा र नेपालगञ्जमा निर्माणधिन प्रदेश रंगशाला र कभर्डहले निर्माण सम्पन्न गरिने भएको छ।
सार्वजनिक निजी साझेदारीमा उच्च पर्वतीय अभ्यास केन्द्रका साथै राफ्टिङ, क्यानेइङ, प्याराग्लाइडिङ, रक क्याइम्बिङ, अल्ट्रा म्याराथनलगायतका साहसिक खेल पूर्वाधार निर्माण गरिने बजेटमा उल्लेख छ।
‘खेल पर्यटनलाई प्रवर्धन गरिने छ। खेलकुदका पूर्वाधार निर्माण व्यवस्थापन र प्रतियोगिता सञ्चालनमा नीजि क्षेत्रलाई प्रोत्साहित गरिने छ, ’ अर्थमन्त्रीले भने, ‘स्वरजोगार बन्न चाहेका खेलाडी लाई युवा स्वरजोगार कोष मार्फत सहुलियत पूर्ण कर्जा उपलब्ध गराउने।’
सरकारले १९ औं एसियाली खेलकुद, एसियाली खेलकुद र र १० औं राष्ट्रिय खेलकुदका लागि खेलाडीलाई आवश्यक तालिम र प्रशिक्षण दिन बजेटको व्यवस्था गरेको छ। अन्तर्राष्ट्रिय खेलकुदमा पदक हाँसिल गर्ने खेलाडीलाई प्रात्साहन र सम्मान गरिने बजेटमा उल्लेख छ।
युवालाई अनुशासित र स्वस्थ्य बनाउन मार्सल आट्सलाई समूदायमा लैजानेका साथै नेपाल ओलम्पिक कमिटी, क्यान एन्फाको खेल क्षमता विकास गरि खेल प्रतियोगिता सञ्चालन गर्न बजेटले प्रोत्साहित गर्ने अर्थमन्त्रीले बताए।
स्थानीय स्तरमा खेल प्रतियोगिता सञ्चालन गर्नका लागि सहयोग गरिने उनले बताएका हुन्।
