भोजपुर- भोजपुरको रामप्रसादराई गाँउपालिकामा चार जनाको बीभत्स हत्या भएको छ। वडा नम्बर-२, धोद्लेखानीमा शनिबार राति एकै परिवारका ४ जनाको हत्या भएको हो।
जिल्लाको भोजपुर नगरपालिका-२ हेलौँछाका ३० वर्षीय राजेन्द्र राईले ससुराली परिवारका चार जनाको हत्या गरेको साविति बयान दिएका छन्।
१६ वर्षीया मनिषा गिरी, ६८ वर्षीय ससुरा बेलबहादुर गिरी, सासू ४५ वर्षीय मञ्जु गिरी र सालो सपन गिरीको हत्या भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ। घटना राति सवा १ बजेतिर भएको हो। राजेन्द्र राईकी पत्नी मनिषा गिरि हुन्।
राई आफैंले शनिबार राति सवा १ बजे प्रहरी कन्ट्रोल रुममा फोन गरेर ‘ममाथि चक्कु प्रहार भएकाले मैले मान्छे मारें, मलाई पक्राउ गर्न आउनुस्’ भनेर फोन गरेका थिए। घटनास्थलभन्दा पाँच किलोमिटर टाढाबाट राईलाई प्रहरीले पक्राउ गरेको छ।
राजेन्द्र गम्भीर घाइते छन्। उनको पेटमा तीन ठाउँमा छुरी लागेको छ। जिल्ला अस्पतालमा उनको उपचार हुन नसकेपछि धरान रिफर गरिएको छ।
श्रीमती मनिषालाई लिन भनेर राजेन्द्र ससुराल गएका र उनीहरुबीच विवाद भएको थियो। शनिबार राति सासुआमाले चक्कुले हानेपछि आफूले चार जनाको हत्या गरेको राईको प्रारम्भिक बयान छ।
प्रहरीका अनुसार ११ बजेतिर आरोपीले १ बजेतिर प्रहरीलाई फोन गरेका थिए। फोन गर्नेले भनेकै ठाउँमा प्रहरी पुग्दा ४ जना मृत अवस्थामा भेटिए। हत्यामा संलग्न आरोपीलाई घटनास्थलभन्दा करिब ५ किलोमिटर टाढा हर्बु भञ्ज्याङबाट प्रहरीले घाइते अवस्थामा नियन्त्रणमा लिएर उपचारका लागि भोजपुर अस्पताल लगिएको थियो।
गएराति खाना खाएर सबै जना सुतेको र सल्याङबल्याङ आवाज आएपछि आफू ब्युँझिदा परिवार नै मिलेर आफ्नो हत्या गर्ने प्रयास भएको आरोपीको दाबी छ। आफूमाथि सासूले छुरा प्रहार गरेपछि त्यही छुरा प्रहार गरेको उनको भनाइ छ।
भोजपुर नपा–२ हेलौंछाबाट उनी ६ दिनअघि ससुराली गएका थिए। पत्नी मनिषालाई सासूले डेढ महिनाअघि लिएर गएकी थिइन्। पारिवारिक विषयमा उनीहरूका बिचमा मनमुटाव भएको थियो। त्यही विवादले हत्याको रूप लिएको प्रहरीको आकलन छ।
शनिबार जसरी भए पनि मनिषालाई लिएर फर्किने अठोटका साथ राजेन्द्र ससुराली गएका थिए। ससुराली पक्ष छोरी लैजान नदिने पक्षमा थियो। लैजाने र लैजान नदिने विषयले विवाद चर्काएको थियो। यसपछि विवादले हिंसात्मक रूप लिएको थियो।
राजेन्द्र भोजपुर सदरमुकाममा डेरा गरी बस्दै आएका थिए। उनी निर्माण मजदुर हुन्। सामान्य आर्थिक अवस्थाका उनी प्रेम विवाहपछि गिरि परिवारसँगको टकराव उत्पन्न भएको थियो। ‘प्रेमपछिको अन्तरजातीय विवाहमा ससुराली पक्षले स्वीकार नगर्दा हत्याको निर्णयमा पुगेको देखिएको छ,’ हत्याको अनुसन्धानमा खटिएका प्रहरी अधिकारीले भने।
गत वर्ष राजेन्द्रले किशोरीलाई भगाएर लगेका थिए। भोजपुर नगरपालिका-२ हेलाउँछ बस्ने ३० वर्षीय राजेन्द्र राईको घरमा किशोरीलाई त्यहाँको सहज थिएन। परिवारले हेला गरेको कारण उनीपछि माइती फर्किइन्। प्रहरीको अनुसन्धानका क्रममा राजेन्द्रको यसअघि पनि विवाह भएर छुटेको खुलेको छ।
मनीषा र राजेन्द्रबीच सामाजिक सञ्जालमार्फत चिनजान भएर विवाहमा परिणत भएको खुलेको छ।
यसपछि राजेन्द्र पत्नीलाई लिन ससुराली पुगे। तर उनी पत्नीलाई लिएर मात्र घर फर्कने अडान लिएर ससुरालीमा बस्दै आएका थिए। घटना सानै उमेरमै भएको विवाहसँग जोडिएको प्रहरीको प्रारम्भिक अनुमान छ।
हत्या गरिएका ४ जनाको शव घटनास्थलमै छ। गिरी परिवारका अन्य दुई छोरी र एक छोरा घर बाहिर रहेको खुलेको छ।


