काठमाडौँ- स्वास्थ्य बीमा बोर्डमा करार सेवाका लागि छनोट भएका १५० मेडिकल अधिकृतले नियुक्तिपत्र लिन अस्वीकार गरेका छन्।
कार्यविवरण र सम्झौतामा संशोधनको माग गर्दै उनीहरूले नियुक्ति पत्र लिन अस्वीकार गरेका हुन्। नियुक्ति पत्रका बुँदाहरू अव्यावहारिक र आफूहरूको श्रम अधिकार विपरीत रहेको भन्दै असहमति जनाएका हुन्।
बोर्डले जेठ १८ गते तीन महिनाका लागि १८० जना मेडिकल अधिकृत आवश्यक भएको सूचना जारी गरेको थियो। उक्त सूचनाअनुसार आवेदन दिई छनोट भएका मेडिकल अधिकृतले नियुक्ति लिन अस्वीकार गरेका हुन्।
प्रत्येक कार्य दिनमा ४०० वटा दाबी मूल्यांकन गर्नुपर्ने वा २५ देखि ३० लाख रुपैयाँसम्मको मूल्यांकन पूरा गर्नुपर्ने लक्ष्यलाई अव्यावहारिक भएको मेडिकल अधिकृतहरुले बताएका छन्।
बिहान १० देखि साँझ ५ बजेसम्ममा लक्ष्य पूरा गरेपछि थप ४ घण्टा ओभरटाइम गर्न सकिने व्यवस्था पनि आफूहरूको श्रम अधिकार विपरीत रहेको नवनियुक्त मेडिकल अधिकृतहरूले असहमति जनाएका छन्।
तोकिएको समयमा तोकिएको कार्य सम्पन्न नभएमा थप अन्य दिन कार्य गरी उक्त तोकिएका कार्य सम्पन्न गर्ने जिम्मेवारीको शर्तमा पनि मेडिकल अधिकृतहरूले आपत्ति जनाएका छन्। सो बापत कुनै पनि थप सुविधा उपलब्ध नहुने भएपछि अधिकृतहरूले नियुक्ति लिन अस्वीकार गरेका हुन्।
यस्तै कार्य विवरण अनुसारको कार्य सम्पन्न भएको व्यहोरा सुपरभाइरजरबाट प्रमाणित भएपछि मात्रै पारिश्रमिक भुक्तानी गरिने कार्यविवरणमा उल्लेख छ।
‘दैनिक ४०० दाबी समीक्षा भनेको लगभग एक मिनेटमा एउटा केस हेर्नुपर्ने हुन्छ। जुन असम्भव नै हो, दैनिक सात घण्टाको दरले १५० वटा केसको मात्रै दाबी समीक्षा गर्न सकिने’ उनीहरुको भनाइ छ।
यता स्वास्थ्य बीमा बोर्डका सूचना अधिकारी विकेश मल्ल ठकुरीले भने तोकिएको लक्ष्य ठूलो नभएको दाबी गरेका छन्।
‘अवैज्ञानिक लक्ष्य तोकिएको छैन। अहिलेको काम गरिराख्नुभएको जनशक्तिले दैनिक ६०० सम्मको समीक्षा हेरिराख्नु भएको छ, आज अन्तिम समय हो। अहिलेसम्म ७० जनाले मात्रै नियुक्ति पत्र लिनुभएको छ,’ उनले भने।
उनले तोकिएको समयभित्र नियुक्तिपत्र नलिनेले अवसर गुमाउने र वैकल्पिकले अवसर पाउने बताए।


