काठमाडौँ- भारतको प्रतिष्ठित औद्योगिक समूह रिलायन्स इन्डस्ट्रिजले नेपालको प्रतिष्ठित औद्योगिक घराना चौधरी ग्रुप (सीजी)सँग सहकार्य गरेको छ। यी दुईदेशीय दुई घरानाबाीचको सहकार्यमा कोल्ड ड्रिंक ब्रान्ड ‘क्याम्पा कोला’ उत्पादन थालेर नेपाली बजारमा ल्याइसकिएको चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले जानकारी दिएका हुन्।
‘क्याम्पा कोला’ नेपालमै उत्पादन तथा वितरण सुरु गरेसँगै जानकारी दिन असार ३० गते कार्यक्रम आयोजना गरिएको थियो। ‘रिलायन्स इन्डष्ट्रि नेपालमा भित्रिएको छ, पछिल्लो समय जताततै लगानीको वातावरण असहज भईरहेको सुनिईरहँदा रिलायन्स जस्तो ग्रुप नेपाल भित्रिनु, नयाँ उत्पादन सुरु हुनु पक्कै देशको समग्र अर्थतन्त्रको लागि सकरात्मक पक्ष हो,’ कार्यक्रममा बोल्दै निर्वाण चौधरीले भने, ‘अहिले क्याम्पाबाट लगानी भित्रिन सुरु भएकोमा पछि अन्य क्षेत्रमा पनि भित्रने अपेक्षा राख्न सकिन्छ। यसरी औधोगिक क्षेत्रमा छिमेकी मुलुकबाट लगानी भित्रको गर्वको कुरा हो।’
चौधरिका अनुसार यो साझेदारीले नेपाली उपभोक्तालाई गुणस्तरीय र ऐतिहासिक पेय पदार्थको स्वादमा रम्ने अवसर दिने छ। वितरण प्रणाली र बजार अनुभवको प्रयोग गरेर क्याम्पा कोलालाई नेपाली बजारमा लोकप्रिय बनाउने उनको दाबी छ।
रिलायन्सले सन् २०२२ मा क्याम्पा कोला ब्रान्ड खरिद गरेर २०२३ मा भारतमा व्यावसायिक उत्पादन पुनः सुरु गरेको थियो। हाल क्याम्पा कोला भारतको प्रतिस्पर्धी कोल्ड ड्रिंक ब्रान्ड बनेको रिलायन्सको भनाइ छ।
‘चौधरी ग्रुपजस्तो प्रतिष्ठित साझेदारसँग मिलेर नेपालमा क्याम्पा कोला ब्रान्ड ल्याउन पाउँदा हामी अत्यन्त उत्साहित छौं,’ आरसीपीएलका कार्यकारी निर्देशक केतन मोदीले भनेका छन्, ‘क्याम्पा कोला ५० वर्षभन्दा पुरानो ऐतिहासिक भारतीय ब्रान्ड हो जसले धेरै पुस्तालाई जोड्ने भावनात्मक सन्देश दिन्छ। हामी नेपालमा दीर्घकालीन लगानीको सोचसहित आएका छौँ।’
क्याम्पा कोलाको नेपाल आगमनले रिलायन्सको सीजीसँगको व्यावसायिक सम्बन्ध विस्तार तथा समग्र नेपालप्रतिको दीर्घकालीन प्रतिबद्धता थप पुष्टि गर्ने रिलायन्सले जनाएको छ।
क्याम्पा कोला रिलायन्स इन्डस्ट्रिजको एफएमसीजी विङ र रिलायन्स कन्जुमर प्रडक्ट्स लिमिटेड (आरसीपीएल)द्वारा उत्पादित अन्तर्राष्ट्रिय रूपमा ख्यातिप्राप्त भारतीय कोल्ड ड्रिंक ब्रान्ड हो। क्याम्पा कोलाले क्रिकेट प्रतियोगिता आइपीएललगायतका ठूला इभेन्टहरूलाई स्पोन्सर गर्दै आएको छ।
क्याम्पा कोला खाडी मुलुकहरूमा स्थापित ब्रान्ड बनेको छ। अब चौधरी ग्रुपले नेपालमा उत्पादन र वितरण गर्ने छ। यो ब्रान्डले नेपालीको मन जित्न सफल हुने दुवै कम्पनीको विश्वास छ।
चौधरी ग्रुपका अनुसार क्याम्पाका उत्पादनहरू क्याम्पा कोला, क्याम्पा लेमन, क्याम्पा अरेन्ज, क्याम्पा इनर्जी गोल्ड बुस्ट र क्याम्पा इनर्जी बेरी किक बजारमा आउन थालेका छन्।
२५० मिलिलिटर कार्बोनेटेड सफ्ट ड्रिंक (सीएसडी) बोतल (क्याम्पा कोला, क्याम्पा लेमन र क्याम्पा अरेन्ज) को उपभोक्ता मूल्य ३० रुपैयाँ छ। क्याम्पाको २५० मिलिलिटर इनर्जी बेरी किकको मूल्य ४० रुपैयाँ तोकिएको छ।
भारतीय बिजनेस टाइकुन मुकेश अम्बानी नेतृत्वको रिलायन्स इन्डस्ट्रीजको एफएमसीजीसँगको साझेदारीमा चौधरी ग्रुपले मकवानपुरमा क्याम्पा कोला उद्योगको प्लान्ट स्थापना गरेको छ। प्लान्टमा ७५ करोड भन्दा बढी लगानी गरिएको बताइएको छ। तर दुवै पक्षले आधिकारिक रूपमा लगानीको रकम खुलाएका छैनन्।
रिलायन्स कन्जुमर प्रडक्ट्स लिमिटेड (आरसीपीएल) रिलायन्स इन्डस्ट्रिज लिमिटेडको एफएमसीजी कम्पनी हो। फोर्ब्सको डलर अर्बपतिको सूचीमा नेपालबाट सूचीकृत एक मात्र व्यक्ति विनोद चौधरी जोडिएको चौधरी ग्रुप नेपालको प्रतिष्ठित व्यापारिक घराना हो। विश्वबजारमा २०२ भन्दा बढी कम्पनी र २६१ ब्रान्ड चौधरीले बजारमा ल्याएको छ। विश्वभरि २० हजारभन्दा बढी कर्मचारीको बलमा अघि बढिरहेको चौधरी ग्रुप नेपाली मूलको बहुराष्ट्रिय कम्पनी पनि हो।
खाद्य तथा पेयपदार्थ, वित्तीय सेवा, शिक्षा, पूर्वाधार, अटोमोबाइल, सूचना तथा प्रविधि, रियल इस्टेट र आतिथ्य सत्कारजस्ता क्षेत्रको व्यापारमा जमेको चौधरी ग्रुपले सुरक्षित, प्रभावकारी र विश्वस्तरीय सेवा तथा उत्पादन प्रदान गर्दै दाबी गर्छ। नेपाललाई विश्वमा चिनाउने तथा देशको समग्र विकासमा योगदान पुर्याउने अठोटसहित चौधरी ग्रुपले नेपालमा विभिन्न क्षेत्रमा लगानी विस्तार गरिरहेको चौधरी बताउँछन्।
तस्बिरहरू
0


