जनकपुर- देशभर मनसुनी प्रणाली सक्रिय भएको लगभग दुई महिनाजस्तो भए पनि मधेश प्रदेशका आठ जिल्लामा वर्षा हुन सकेको छैन। समयमा वर्षा नभएपछि यहाँका किसानहरूले चरम खडेरी र सुक्खा झेल्नुपरेको छ। धान रोप्नका लागि वर्षाको पानीको भर पर्नुपर्ने यहाँका किसानहरूले पानीको अभावका कारण श्रावणको पहिलो हप्तासम्म पनि रोपाइँ गर्न पाएका छैनन्।
सुक्खा र खडेरीका कारण असार २६ गते मधेश प्रदेश सरकारले मधेशका आठ जिल्लालाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको थियो भने श्रावण ७ गते बसेको नेपाल सरकारको मन्त्रिपरिषद् बैठकले पनि मधेश प्रदेशलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ।
मधेश प्रदेशका विभिन्न जिल्लामा पानीको अभावका कारण समयमा रोपाइँ हुन सकेको छैन भने रोपाइँ गरिसकेका खेतमा पनि धाँजा फाट्ने, धानका बीउ सुक्नेजस्ता समस्या किसानहरूले झेलिरहनु परेको छ। त्यसो त हरेक वर्ष मलखादको अभाव झेल्नुपरेका मधेशका किसानहरूले यो वर्ष भने सुक्खा र खडेरीको सामना गर्नु परेको छ।
लक्ष्मीनियाँ गाउँपालिका, सोहनी सिनुरजोडा, धनुषाका किसान बहादुर कवाडीका अनुसार पहिलेका वर्षहरूमा यो समयसम्म धान रोपाइँ सकिने गरे पनि यसपालि वर्षा भएन। ‘नहरमा पानी आउँदैन, त्यसकारण धानको बीउ पनि सुकिसक्यो,’ उनले भने, ‘पम्प मोटर हुनेहरूले रोपाइँ गरे पनि धेरै गर्मीका कारण पम्प मोटरले खेतमा पानी हाल्दा पनि छिट्टै सुक्छ।’ स्थानीय सरकार र प्रदेश सरकारले यहाँका किसान र कृषिका लागि खासै ध्यान नदिएको उनको गुनासो छ।
सोही गाउँका अर्का किसान विन्देश्वर रविदासले आफ्नो खेतमा भएको सुकेको बोट देखाउँदै भने, ‘यो बोट सुक्यो, पानी परेको छैन, त्यसैले खेती समयमा गर्न पाइएन।’
यस क्षेत्रमा सिँचाइका लागि कमला सिँचाइ आयोजना रहे पनि त्यो त्यति प्रभावकारी देखिएको छैन। सिँचाइ आयोजनाबाट धनुषा र सिरहाका २५ हजार हेक्टर कृषियोग्य जमिनमा सतह सिँचाइ (नहरमार्फत) सुविधा पुर्याई त्यहाँका ४० हजार घरपरिवारलाई लाभान्वित गराउने उद्देश्य रहे पनि अहिले यस आयोजनाका अधिकांश पम्प सञ्चालनमा छैनन्।
लोहारपट्टी नगरपालिका, महोत्तरीका किसान श्रावणकुमार चौरसिया सुक्खा खेतमा रोपेको धान देखाउँदै मल पनि नपाइने र पम्पसेट पनि वितरण नगरिएको गुनासो गर्छन्। नगरपालिकाले पम्पसेट वितरण गर्दा पनि आफूले नपाएको र पैसा तथा पहुँच हुनेले मात्र पाउने गरेको उनले सुनाए।
तस्बिर/भिडियो: प्रकाशचन्द्र तिमिल्सेना/नेपाल फोटो लाइब्रेरी


