काठमाडौँ- सरकारले ल्याएको महत्वाकांक्षी परियोजना पूर्व-पश्चिम रेलमार्गको प्रगति सुस्त छ। धेरैजसो ठाउँमा मुआब्जा विवादका कारण काम रोकिएको छ। यो आयोजनका लागि पर्याप्त रकम छैन।
करिब ४ अर्ब खर्च गरेर पूर्व–पश्चिम रेलमार्गको डीपीआर बनाइएको छ। तर अन्य काम अघि बढेको छैन। आयोजना सुरू भएको एक दशकभन्दा बढी समय बितिसक्दा साढे ३ प्रतिशत मात्र काम भएको छ।
पूर्वमा झापाको काँकडभिट्टादेखि पश्चिममा कञ्चनपुरको गड्डाचौकीसम्म पुग्ने ९२५ किलोमिटर लामो रेलमार्गमा यही गतिमा काम भए पूरा हुन दशकौं लाग्ने देखिन्छ।
यही साउन ७ गते भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले बजेट अभावका कारण पूर्व-पश्चिम रेलमार्ग निल्नु न ओकल्नु भएको बताएका थिए। राष्ट्रिय सभा अन्तर्गत संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा उनले यस्तो बताएका हुन्।
‘पूर्व–पश्चिम रेलमार्ग हाम्रो ड्रिम हो। तर अहिले निल्नु न ओकल्नुको अवस्थामा पुग्यो,’ आयोजना अघि बढाउन नसकेको स्वीकार गरेका उनले थपेका थिए, ‘जनताको जग्गा चार–पाँच वर्ष भइसक्यो होल्ड गरेर राखेका छौँ। न हामी मुआब्जा दिन सक्छौँ, न केही गर्न सक्छौँ।’
तस्बिर : नेपाल फोटो लाइब्रेरी


