काठमाडौँ– द ब्रिटिस कलेजका पाँच जना विद्यार्थीहरू आइएस्टीले प्रदान गर्ने अन्तर्राष्ट्रिय इन्टर्नसिपका लागि जर्मनी र थाइल्यान्ड जाने भएका छन्। शैक्षिक आदानप्रदानका लागि विद्यार्थीहरूले ती देश जान लागेको कलेजले विज्ञप्तिमार्फत जानकारी दिएको हो।
८ देखि १२ हप्तासम्म चलेको छनोट प्रक्रियामा आफूलाई अब्बल साबित गर्दै ब्रिटिस कलेजका ५ जना विद्यार्थीहरू छनोट भएका हुन्। अनमोल कार्की (बिएससी आइटी लेभल ६) थाइल्याण्डको थामसार्ट विश्वविद्यालयमा सूचना प्रविधि र औद्योगिक इन्जिनियरिङमा काम गर्न जानेछन् भने बाँकी चार जना विद्यार्थी जर्मनी जानेछन्।
योगेश श्रेष्ठ (एमएस्सी आइटी, लेभल ७) मेकाट्रोनिक्स, रोबोटिक्स, र अटोमेसन इन्जिनियरिङमा काम गर्न एप्लाइड साइन्स इन्जिनियरिङ विश्वविद्यालयमा जानेछन्।
गरिमा ढकाल (बिएससी आइटी लेभल ६) कम्प्युटर प्रोग्रामिङ इन्टर्नसिपका लागि बुन्डेसन्स्टल्ट फर मटेरियलफोर्सचुङ अन्ड प्रुफङ (बीएएम) मा जानेछिन्।
त्यस्तै, प्रिया दंगाल (बिबिए, लेभल ६) लजिस्टिक, मटेरियल र सप्लाई चेन म्यानेजमेन्टमा काम गर्न मर्सेबर्ग युनिभर्सिटी अफ एप्लाइड साइन्स, मर्सेबर्ग, जर्मनी जानेछिन्।
त्यस्तै, अवन्तिका नेपाल (बीएससी आइटी लेभल ६) फ्रेडरिक शिलर विश्वविद्यालयको यात्रा गर्नेछिन्, जहाँ उनले आर्टिफिसियल इन्टेलिजेन्स र कम्प्युटर विज्ञान कार्यक्रममा भाग लिनेछिन्।


