आज सूचना र सञ्चार प्रविधि, आइसिटी अथवा आइटी सुशासनका लागि मात्र होइन, विकास र मानिसको दिनचर्याका लागि अपरिहार्य भइसकेको छ। हामी आइटीविना चल्नै नसक्ने अवस्थामा पुगिसकेका छौं। पहिलो कुरा, आइटीको प्रयोग केका लागि भन्दा देशलाई सुव्यवस्थित बनाउन, समाजलाई सुव्यवस्थित बनाउन, मानव समाजलाई अझ सभ्य, अझ परिष्कृत, अझ उन्नत बनाउन र देशमा सुशासन अझ सुदृढ गर्न, आइटीको प्रयोगलाई सुशासनको सहयोगीको रूपमा, समाजको सुप्रबन्धका लागि सहयोगीको रूपमा, करप्सन कन्ट्रोलका लागि सहयोगीको रूपमा र जनतालाई सेवा सुविधा पुर्याउने कुरामा सहयोगीको रूपमा आइटीलाई प्रयोग गर्न चाहन्छौं।
आइटी एउटा सोख मात्रै होइन, अनिवार्य आवश्यकता बनेको छ। आइटीले हाम्रो विकासलाई तीव्रता दिनुपर्दछ। टेक्नोलोजी भनेकै त्यै हो, जसले विकासलाई व्यापकता र तीव्रता दिन्छ। नवीनता त्यसको लागि आवश्यकता छ र नवीनता दिन्छ। यसले समाजमा पारस्परिक रूपमा मानवीय भावना, पारस्परिक प्रेम, सद्भाव, सहिष्णुताको विकासका निम्ति सहयोग गर्नुपर्दछ। हामीले सूचना प्रविधिलाई त्यसै हिसाबले प्रयोग गर्नुपर्दछ। यही कुरालाई ध्यानमा राखेर हामीले आइटीलाई डिजिटल नेपालको नाराका साथ अगाडि बढाएका छौं। सिङ्गै देशलाई डिजिटलाइज्ड गर्ने र त्यसको अधिकतम सदुपयोग गर्ने। त्यसैअनुसार नै म अघिल्लोपल्ट प्रधानमन्त्री हुँदैदेखि डिजिटल नेपाल फ्रेमवर्क बनाएका थियौं।
अहिलेसम्मका अनुभव र प्रगतिहरूलाई हेरेर हामीले ‘फ्रेमवर्क टु जिरो’ अर्को चरणमा प्रवेश गरेका छौं र त्यस फ्रेमवर्कलाई अगाडि बढाउँदैछौं। म यस प्रविधिको प्रयोगलाई शिक्षाको क्षेत्रमा, स्वास्थ्यको क्षेत्रमा र अरु विभिन्न क्षेत्रहरूमा पनि यसको सदुपयोग गरेर समाजलाई लाभान्वित गराउने पक्षमा म आफैँ पनि क्रियाशील रहेको छु। सरकार क्रियाशील रहेको छ र हामी हरेकले यस सन्दर्भमा प्रयास गर्नुपर्दछ। हामीले एउटा मात्रै सानो उदाहरण दियौं भने गत वर्ष नेपालको एसइईको परीक्षाको नतिजामा पास हुनेको सङ्ख्या ४८ प्रतिशतभन्दा कम थियो र गत वर्षबाट हामीले सुरुदेखि नै यस प्रतिशतलाई वा ४८ भन्दा कम रहेको प्रतिशतलाई ७० प्रतिशत पुर्याउने भनेका थियौं। पछि हामीले केही संशोधन गर्नुपर्यो र हामीले ६० देखि ६५ प्रतिशतसम्म पुर्याउँछौं भनेर हाम्रा केही युवा साथीहरूले अनलाइन कक्षाको सुरुवात गर्नुभयो। त्यसका निम्ति एउटा अभियान चलाउनुभयो।
मैले प्रधानमन्त्री चलाएको यो पछिल्लो एक वर्षको अवधिमा असाधारण ढङ्गले हामीले यस क्षेत्रमा पनि प्रगति गरेका छौं। हामीसँग एउटा राम्रो पक्ष के छ भने हामीसँग एउटा यो ‘डेमोग्राफिक डिभिडेन्ड’ हाम्रो राम्रो छ। त्यसलाई हामीले यस क्षेत्रमा प्रयोग गर्न सक्छौं किनभने हाम्रा युवाहरू आज आम रूपमा भन्ने हो भने डिजिटल फ्रेन्डली छन् अथवा डिजिटल क्षेत्रमा, आइटी सेक्टरमा भन्ने हो भने उनीहरू शिक्षित कमसेकम छन्। उनीहरूले विभिन्न ढङ्गले त्यसबाट नेलेज लिन र नेलेज सम्प्रेषण गर्न सक्छन्। त्यसकारण नवप्रवर्द्धनका कुराहरू, ‘इनोभेसन’का कुराहरू अथवा अरु अनुसन्धानका कुराहरूदेखि लिएर आइटीको प्रयोगले हामीलाई धेरै ठूलो मद्दत पुगिराखेको छ र हामी समाज परिवर्तनका लागि यी सबै कुरा, मान्छेको विकासका लागि सबै कुरा, अर्थतन्त्रको विकासका लागि, शिक्षा, स्वास्थ्य र सबै समाजिक क्षेत्रको विकासका लागि र समाजमा जनतालाई सेवा सुविधा पुर्याउनका लागि यी कुराहरूमा काम गरिराखेका छौं।
अहिलेको दुनियाँमा यस सूचना प्रविधिको राम्ररी सदुपयोग मात्रै भएको छ भन्न सकिँदैन। खासगरी सूचनाको क्षेत्रमा, ‘मिस इन्फर्मेशन’, ‘डिस इन्फर्मेशन’ जस्ता कुराहरू पनि यसबाट केही केही क्षतिका कुराहरू पनि भइराखेका छन्। समाजलाई अलि विकृति बढाउने खालका कुराहरू पनि भइराखेका छन् र यस्ता कुराहरूप्रति हामी सजग छौं। सबै कुरा हुन पाउनुपर्दछ। वास्तवमा यो प्रेस स्वतन्त्र, सूचनाको स्वतन्त्रता सबै कुरा हुनुपर्दछ तर अनियन्त्रित र समाजलाई हानी गर्ने गरी होइन, समाजलाई फाइदा पुग्ने गरी यी कुराहरू हुनुपर्दछ। समाजका लागि आइटी, विकासका लागि आइटी, राष्ट्रिय एकताका लागि आइटी, विश्व शान्तिको पक्षमा आइटी, सूचना मनोरञ्जनका लागि आइटी, शिक्षाका लागि आइटी, स्वास्थ्यको लागि आइटी। यसो भएर हामीले आइटीलाई सदुपयोग गर्न सक्नुपर्दछ राम्ररी।
हाम्रो राष्ट्रिय आकाङ्क्षा हामीले भनेका छौं–समृद्ध नेपाल, सुखी नेपाली। त्यो हाम्रो राष्ट्रिय आकाङ्क्षा हो। त्यो आकाङ्क्षा परिपूर्ति गर्नका लागि, त्यसलाई प्राप्त गर्न, त्यसलाई गन्तव्य बनाएर हामी हिँडिरहेका छौं र त्यसको प्राप्तिका लागि सुशासन र विकास, तीव्रता, सुदृढता र तीव्रताका साथ अगाडि बढाउन जरुरी छ। त्यसमा आइटीको भरपूर मद्दत लिन जरुरी छ। यो अत्यन्तै उपयोगी छ। तसर्थ, हामी यसको सदुपयोग गर्दै देशका लागि, जनताका लागि, समाजका लागि र मानव जातिका लागि यसको सदुपयोग गर्ने, सुशासन र विकासका लागि सदुपयोग गर्ने काम गर्दै अगाडि बढ्ने यस दिशामा हामी लागि राखेका छौं।
यस सन्दर्भमा तपाईंहरुले आयोजना गर्नुभएको विश्व आइटी सम्मेलन २०२५, ले अवश्य नै ठूलो योगदान गर्नेछ भन्ने मैले विश्वास लिएको छु। यही विश्वासका साथ म तपाईंहरूलाई धेरैधेरै शुभकामना भन्न चाहन्छु। तपाईंहरू यस दिशामा अझ तीब्रताका साथ अगाडि बढ्न सक्नु होस्, अझ ठूलो योगदान गर्न सक्नु होस् र यसका निम्ति हामीले कानुुन बनाएका छौं। भर्खरै हामीले एआई नीति तय गरेका छौं। यी सबै कुराहरूको उपयोग गर्नुस्। हामीले भर्खरै कानुनी हिसाबले नै यहाँको आइटी उत्पादनलाई निर्यात गर्न सहजै सक्ने कुरा, यही बसेर लाभ गर्न सक्ने कुरा र बाहिर त्यसका निम्ति कम्पनी खोल्न सक्ने कुरा, विदेशमा कम्पनी खोल्न सक्ने कुरा आदि कुराहरूमा पनि कानुन निर्माण गरेरै अगाडि बढाएका छौं। तसर्थ म यहाँहरु सबैमा यस कामलाई सदुपयोग गर्ने दिशामा सोचेर अगाडि बढ्न आग्रह गर्न चाहन्छु।
(प्रस्तुत विचार प्रधानमन्त्री केपी शर्मा ओलीले १ भदौ, २०८२ मा राष्ट्रिय युवा संघ नेपालद्वारा आयोजित विश्व आइटी सम्मेलनमा व्यक्त गर्नुभएको मन्तव्यका आधारमा प्रधानमन्त्रीको स्वकीय सचिवालयले तयार पारेको सम्पादित अंश)


