इन्दोर (भारत)- भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ इन्दोर आइपुगेका छन्। इन्दोरस्थित देवी अहिल्याबाई होल्कर विमानस्थलमा उनलाई मध्यप्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानललगायत सरकारी अधिकारीले स्वागत गरे।
प्रधानमन्त्री प्रचण्ड उज्जयनका लागि प्रस्थान गरिसकेका छन्। प्रधानमन्त्री दाहालको स्वागतमा दुवै झण्डा हातमा लिएका भारतीयहरूले स्वागत र सांस्कृतिक प्रस्तुति गरेका छन्। सडकका कतिपय स्थानमा स्वागत बोर्ड राखिएका छन्।
दाहालले उज्जैनस्थित श्रीमहाकालेश्वर मन्दिरमा रहेको वास्तुकलाको अवलोकन गर्ने कार्यक्रम छ। मन्दिर परिसरको अवलोकनपछि प्रधानमन्त्री दाहाल होटल इन्दोर मेरियटमा रहनेछन्।
भ्रमणका क्रममा दाहालले आजै मध्यप्रदेशका गभर्नर श्री मङ्गुभाइ पटेलसँग भेटवार्ता गर्ने कार्यक्रम छ। उनले स्वच्छ भारत अभियानअन्तर्गत इन्दोर म्युनिसिपल कर्पोरेसनले गरेको फोहर व्यवस्थापनसम्बन्धी सफल अभ्यासबारे जानकारी लिनेछन्। प्रधानमन्त्री दाहालकोे सम्मानमा मध्यप्रदेशका मुख्यमन्त्री चौहानले रात्रिभोजको आयोजना गर्ने कार्यक्रम छ।
शनिबार प्रधानमन्त्री दाहाल नेतृत्वको प्रतिनिधिमण्डलले टीसीएस इन्फोसिस विशेष आर्थिक क्षेत्रको भ्रमण गर्ने कार्यक्रम छ। बिहीबार प्रधानमन्त्री दाहाल र भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ताका साथै दुई देशबीच महत्वपूर्ण विषयमा सहमति तथा समझदारीसमेत भएको थियो। प्रधानमन्त्री दाहाल शनिबार स्वदेश फर्कने कार्यक्रम छ।













सबै तस्बिर : प्रधानमन्त्रीको सचिवालय


