एजेन्सीः इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले बन्धकहरूको रिहाइसहित इजरायललाई स्वीकार्य सर्तहरूमा गाजा युद्ध अन्त्य गर्न वार्ताको निर्देशन दिएको बताएका छन्।
नेतान्याहूले बिहीबार राति इजरायली सेनालाई बताएअनुसार उनको मन्त्रिपरिषद्ले व्यापक अन्तर्राष्ट्रिय र घरेलु विरोधको बाबजुद गाजा शहरको उत्तरी भागमा ठूलो आक्रमणको योजनालाई अनुमोदन गरेको छ। सोमबार, हमासले कतारी र इजिप्टियन मध्यस्थकर्ताहरूले तयार पारेको ६० दिने युद्धविराम प्रस्तावमा सहमति जनायो।
कतारका अनुसार, गाजामा बाँकी रहेका आधा बन्धकहरूलाई यस प्रस्तावअन्तर्गत रिहा गर्नुपर्ने थियो। पहिलो पटक प्रतिक्रिया दिँदै नेतान्याहूले यो सम्झौता स्वीकार गरेका छैनन्। इजरायली मिडियाले एक अधिकारीलाई उद्धृत गर्दै स्थान तय भएपछि अधिकारीहरूलाई नयाँ वार्ताको लागि पठाइने बताएको छ।
इजरायलको गाजा डिभिजन मुख्यालयको भ्रमणको क्रममा एक भिडियो वक्तव्यमा नेतान्याहूले सबै बन्धकहरूको रिहाइको लागि तुरुन्तै वार्ता सुरु गर्नू निर्देशन दिएका छन्। इजरायल र हमास बीचको यो युद्ध ७ अक्टोबर २०२३ मा दक्षिणी इजरायलमा हमासको आक्रमणपछि सुरु भएको थियो।
यस आक्रमणमा एक हजार २०० जना मारिएका थिए र २५१ जनालाई हमासले बन्धक बनाएको थियो। २२ महिनाको युद्धपछि ५० बन्धकहरूमध्ये २० जना मात्र जीवित रहेको इजरायलको अनुमान छ। इजरायलले हमासको आक्रमणको विरुद्ध गाजामा सैन्य आक्रमण सुरु गरेको छ। गाजाको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार यी आक्रमणहरूमा कम्तिमा ६२ हजार १९२ प्यालेस्टिनीहरू मारिएका छन्।


