काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी सभापति शेरबहादुर देउवाले करिब डेढ वर्षदेखि एकलौटी निर्णय गर्दै आएको बताएका छन्। नेपाल प्रेस युनियनले काठमाडौँमा शुक्रबार आयोजना गरेको कार्यक्रममा बोल्दै महामन्त्री थापाले यस्तो बताएका हुन्।
सभापति देउवाले पार्टीमा कुनै छलफल नै नगरी विवादि विषयमा एकल निर्णय गर्दै आएको आरोप थापाको छ। त्यसलाई बदल्नका लागि आफूले प्रयास गरिरहेको उनको भनाइ छ।
‘रेशम चौधरीलाई आममाफी दिने निर्णय, नागरिकता विषय, प्रदेश सरकारमा कांग्रेसको सहभागिता र मन्त्रालय तोडफोड (प्रदेशका) र सांसद विकास कोषलगायतबारे सभापतिले एक्लै गरेको निर्णय हो,’ सञ्चारकर्मीहरूसँग थापाले भने, ‘यी निर्णय मैले तपाईंले भन्दा पछि थाहा पाएको हो। तपाईंले थाहा पाउनुभयो, सम्प्रेषण भयो। अनि मैले त्यसलाई पढेर थाहा पाएँ।’
उनले आजसम्म सभापतिका निर्णयहरूलाई सहेको तर अब भने नसहने अवस्थामा पुगेको बताए। ‘सभापति बहुमतमा हुनुहुन्छ, मिलाउनुहोला भन्ने भो। तर अब म सहन्नँ,’ थापाको भनाइ छ, ‘म काम गर्ने तरिका बदल्न चाहन्छु।’


