काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली चीन प्रस्थान गरेका छन्। तियानजिनमा हुने सांघाई सहयोग संगठन (एससीओ)को शिखर सम्मेलनमा सहभागी हुन आज बिहान ७ बजे उनी चीन प्रस्थान गरेका हुन्।
भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चीन र रुसका राष्ट्रपतिसहित ६ देशका सरकार प्रमुखसँग द्विपक्षीय वार्ता गर्ने टुंगो लागेको छ। ओलीले चीनका राष्ट्रपति सी चिनफिङसँग तियानजिनमा भेटघाट गर्ने कार्यक्रम छ।
ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसँग पनि भेट्ने बताइएको छ। भारत र चीनले नेपाली भूमि लिपुलेक हुँदै व्यापार पुनः सुरु गर्ने गत साता सहमति गरेको पृष्ठभूमिमा ओलीले दुवै देशका शीर्ष राजनीतिक नेतृत्वसँग कुराकानी गर्ने भएका हुन्।
भारत र चीनले गरेको सहमतिप्रति नेपालले औपचारिक रूपमा विरोध जनाइसकेको छ। तर ओलीले लिपुलेकका विषयमा दुवै देशका शीर्ष नेतृत्वसँग कुराकानी गर्ने तयारी भने गरेका छैनन्। नेपाली भूमि प्रयोगमा दुवै देशले बलमिच्याइँ गरिरहेका बेला साइडलाइन भेटलाई नेपालले फलदायी बनाउने सम्भावना कम छ।
भदौ १५–१६ गते एससीओ बैठक चीनको तियानजिन सहरमा हुँदै छ। नेपाल ‘डायलग पार्टनर’ का रूपमा एससीओमा सहभागी हुन लागेको हो। नेपाल एससीओको सदस्य राष्ट्र होइन। ओलीले ‘एससीओ प्लस’ बैठकलाई सम्बोधन गर्नेछन्।
प्रधानमन्त्री ओलीले १७ भदौमा चीनका उपराष्ट्रपति हान चङसँग बेइजिङमा भेट गर्नेछन्। परराष्ट्र मन्त्रालयका अनुसार सोही दिन बेइजिङमा आयोजना गरिने जापानी आक्रमणविरुद्ध चीनको विजयको ८० औं वार्षिकोत्सव कार्यक्रममा समेत प्रधानमन्त्री ओली सहभागी हुनेछन्। गत वर्ष प्रधानमन्त्री भएपछि ओलीको यो दोस्रो चीन भ्रमण हो। गत वर्ष १७–२० मंसिरमा ओलीले चीन भ्रमण गरेका थिए।
भ्रमण टोलीमा प्रधानमन्त्री पत्नी राधिका शाक्य, पूर्व उपप्रधानमन्त्री एवं प्रतिनिधिसभा सदस्य पूर्णबहादुर खड्का, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, पूर्वमन्त्री एवं प्रधानमन्त्रीको आर्थिक तथा विकास सल्लाहकार डा युवराज खतिवडा, पूर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य छविलाल विश्वकर्मा र नेपाल सरकारका उच्चपदस्थ कर्मचारीहरू सहभागी छन्।
प्रधानमन्त्री ओली भदौ १८ गते बेलुकी साढे १० बजे स्वदेश फर्कने कार्यक्रम छ।
सबै तस्बिर : नेपाल फोटो लाइब्रेरी


