काठमाडौँः मेटाले नेपालमा फेसबुक कन्टेन्ट मनिटाइजेसन सेवा औपचारिक रूपमा सुरु गरेको छ। यससँगै योग्य नेपाली कन्टेन्ट क्रियटरले आफ्ना फेसबुक सामग्रीमार्फत कमाएको रकम अब सिधै नेपाली बैंक खातामा कनेक्ट गरेर झिक्न सक्ने भएका छन्।
मेटाले केही प्रयोगकर्तालाई इमेलमार्फत यो सुविधा नेपालमा उपलब्ध भएको जानकारी दिइसकेको छ। कम्पनीले पनि नेपालमा सेवा सुरु भएको पुष्टि गरेको छ।
यसअघि इन–स्ट्रिम एड्स, एड्स अन रिल्स र पर्फमेन्स बोनसमार्फत मात्रै सीमित क्रियटरले भुक्तानी पाउँदै आएका थिए। तर गत अगस्टदेखि ती सबै कार्यक्रमलाई एउटै छातामुनि ल्याई ‘फेसबुक कन्टेन्ट मनिटाइजेसन’ मा रूपान्तरण गरिएको छ।
हाल यो सेवा ‘इनभाइट–अनली’ मोडमा चलाइएको छ। अर्थात्, योग्य देखिएका प्रयोगकर्तालाई मेटाले नै प्रत्यक्ष निमन्त्रणा पठाउँछ। निमन्त्रणा पाएका क्रियटरले मेटा बिजनेस सुइट वा प्रोफेशनल ड्यासबोर्डमार्फत पेआउट सेटअप गरी आफ्नो बैंक खाता विवरण भरेपछि रकम प्राप्त गर्न सक्नेछन्।
मेटाले तोकेको पार्टनर मनिटाइजेसन पोलिसी र कन्टेन्ट मनिटाइजेसन पोलिसी पालना नगर्ने पेज वा कन्टेन्ट भने अयोग्य हुने बताइएको छ। कपिराइट उल्लङ्घन, ब्रान्डेड कन्टेन्टको दुरुपयोग वा अनधिकृत इन्गेजमेन्ट बढाउनेजस्ता गतिविधि भएमा आम्दानी रोकिनेछ।


