काठमाडौं: प्रस्तावित ७० मेगावाटको दूधकोसी–२ अर्धजलासय जलविद्युत (पीआरओआर) आयोजना अब नेपाली लगानीकर्ताले बनाउने भएका छन्। बनाउन नसकेपछि भारतीय कम्पनी आफ्नो स्वामित्व नेपालीलाई बिक्री गरेर आयोजनाबाट बाहिरिन लागेको हो।
भारतीय कम्पनीको अध्यक्षमा चैतन्य सगीराजु छन्। अब जलविद्युत आयोजनाको स्वामित्व नेपाली प्रवर्धकलाई हस्तान्तरण गर्ने प्रक्रियामा रहेको छ। आयोजना अधिग्रहण सम्पन्न हुने अन्तिम चरणमा रहेको कम्पनीले रेटिङका लागि सार्वजनिक गरेको विवरणमा उल्लेख छ।
नेपालीमा स्वामित्व हस्तान्तरणपछि सञ्चालक समितिको नेतृत्व व्यवसायी कदम केसीले गर्ने तय भएको छ। केसी हाई हिमालय हाइड्रो कन्स्ट्रक्सन प्रालि, पुवा खोला वान हाइड्रोपावर लिमिटेड र आयु मालुन हाइड्रोपावर प्रालिका सञ्चालक समिति सदस्य छन्। उनी आयु इन्टरटेनमेन्ट प्रालिका अध्यक्ष र धौलागिरी कन्स्ट्रक्सन एण्ड डेभलपमेन्ट प्रालिका प्रबन्ध निर्देशक पनि हुन्।
आयोजना निर्माणको प्रारम्भिक चरणमा छ। जसमा २०२५ को मध्य जुलाई सम्ममा २ प्रतिशत मात्र वित्तीय प्रगति हासिल भएको छ। आवश्यक व्यावसायिक सञ्चालन मिति आउँदो असारका लागि तोकिएको छ । गएको असारसम्म सामान्य भौतिक प्रगति हासिल भएको छ।
आयोजनाको कुल अनुमानित लागत १५ अर्ब रुपैयाँ रहेको छ। ७० प्रतिशत बैंकको ऋण र ३० प्रतिशत संस्थापकहरुको स्वपुँजी (इक्विटी) हुने गरी लगानी संरचना बनाइएको छ । जसअनुसार १० अर्ब ५० करोड रुपैयाँ बैंकको ऋण र बाँकी साढे चार अर्ब रुपैयाँ संस्थापकहरुको स्वपुँजी लगानी हुने दूधकोसीले जनाएको छ।
आयोजना बनाउन वित्तीय व्यवस्थापन अझै भएको छैन । कम्पनीले परियोजनाको सिभिल, हाइड्रो मेकानिकल र प्रसारण लाइनको कामका लागि सम्झौता भएको छैन् । जसले कम्पनीलाई परिकल्पित समय र लागतभित्र परियोजना कार्यान्वयनसँग सम्बन्धित जोखिमहरूमा पार्ने देखिएको छ।
परियोजनाको आवश्यक व्यावसायिक सञ्चालन मिति जुलाई ३०, २०२६ हो। समयमा आयोजना सम्पन्न नभएपछि कम्पनीले ठूलो जरिवाना तिर्नुपर्ने सम्भावना छ । साथै मूल्य वृद्धि प्रावधानहरूको समाप्तिको कारणले गर्दा आम्दानीको घट्ने सम्भावना छ।
नेपाल विद्युत प्राधिकरणसँग २०२१ नोभेम्बरमा आयोजनाबाट उत्पादन हुने बिजुली खरिदबिक्री सम्झौता (पीपीए) भएको थियो। वर्षायाममा (जुनदेखि नोभेम्बर) सम्म प्रतियुनिट ४.८० रुपैयाँ र सुक्खा मौसममा (डिसेम्बरदेखि मे) सम्म ८.४० रुपैयाँ रहेको ।
पिकिङका लागि बेलुका ५ बजेदेखि १० बजेसम्म परिभाषित गरिएको छ । पिकिङको समयमा पीपीएदर ८.५० देखि १०.५५ रुपैयाँसम्म रहेको छ। सुक्खा मौसममा दैनिक ६ घण्टाको पिकिङको अधिकतम सीमा रहेको छ । वार्षिक ३ प्रतिशतका दरले ८ पटक बिजुलीको मूल्यवृद्धि हुनेछ।
परियोजनाबाट उत्पादित बिजुली १२ किलोमिटर लामो १३२ केभी प्रसारण लाइनमार्फत पहिले नै सञ्चालनमा रहेको विद्युत प्राधिकरणको टिङ्ला सबस्टेशनमा जोड्ने प्रस्ताव गरिएको छ।
दूधकोशी हाइड्रोपावर नेपाल प्राइभेट लिमिटेड सन् २०१३ अक्टुबरमा स्थापना भएको हो । आयोजनाको डिजाइन डिस्चार्ज ६२.३० प्रतिसकेन्ड रहेको छ । क्यू ४० मा आयोजना डिजाइन गरिएको छ । २०२५ को मध्यसम्म आयोजनाको सम्पूर्ण सेयर स्वामित्व दूधकोशी हाइड्रोपावर प्राइभेट लिमिटेड, भारतको हो ।
सोलुखुम्बुको थुलुङ दूधकोसी गाउँपालिकामा पर्ने दूधकोसी नदीमा विद्युत उत्पादनको लागि विद्युत विकास विभागबाट २०७७ असोजमा इजाजतपत्र (लाइसेन्स) पाएको थियो ।
यसअघि आयोजना सोलुखुम्बुमा थुलुङ दूधकोसीमा बाँध बनाइ सुरुङमार्गबाट खोटाङको ऐसेलुखर्क गाउँपालिकाको जलेश्वरीमा विद्युतगृह निर्माण गरी २३० मेगावाट उत्पादन गर्ने अनुमानसहित प्रक्रिया अगाडि बढाइएको थियो ।
यसअघि दूदूधकोसीको पानी करिब पाँच किलोमिटर सुरुङ मार्गमार्फत पुर्याउने योजना थियो । अहिले तीन किलोमिटर सुरुङमार्गमार्फत खन्यखर्कमा निर्माण हुने विद्युतगृहमा पुर्याइने भएको छ । जसकारण उत्पादन क्षमतासमेत २३० मेगावाटबाट घटेर ७० मेगावाटमा झरेको कम्पनीले जनाएको छ ।


