कञ्चनपुर। कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जअन्तर्गत अर्जुनी क्षेत्रमा सेतो स्कुटरमा आएका तीन जना अपरिचित व्यक्तिले दुई मजदुरलाई लुटपाट गरेका छन्।
कालिकोट, पलाता–७ का कलमबहादुर धामी र नैनबहादुर धामीलाई खुकुरी देखाउँदै मोबाइल र १४ हजार भारु लुटिएको पीडितले बताएका छन्। ‘सवारीसाधन नपाएपछि महेन्द्रनगरबाट पैदल हिँडिरहेका थियौँ। तीन जना स्कुटरमा आएका व्यक्तिले खुकुरी देखाउँदै मोबाइल र पैसा खोसे,’ कलमबहादुरले बताए।
उनीहरू पाँच जना साथीहरू फर्किँदै गरेका मध्ये दुई जना मात्र लुटपाटमा परेका हुन्। भारतमा मजदुरी गर्न गएका उनीहरूले काम नपाएपछि घर फर्कने क्रममा बीच बाटोमै घटनामा परेका हुन्।
लुटपाटबारे इलाका प्रहरी कार्यालय झलारीमा जानकारी गराइएको छ। प्रहरी निरीक्षक राजेश बस्नेतका अनुसार पीडितले दिएको विवरणका आधारमा लुटेराको खोजी कार्य भइरहेको छ।


