काठमाडौं– आज बिहान ११ बजेका लागि प्रतिनिधिसभा बैठक बस्ने कार्यसूची तय भएको छ। संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा सरकारले अगाामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेटमाथि छलफल सुरु हुनेछ।
बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०÷८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट)माथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ।
आजको बैठकमा प्रतिपक्षी एमालेले संसद्मा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणका क्रममा बोलेको कुराबारे स्पष्टीकरण मागिने बताएको छ। भारत भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले बंगलादेशी बन्दरगाहसम्म पुग्ने बाटो प्रयोग गर्न दिने सर्तमा नेपाली जमिन लिपुलेक–लिम्पियाधुरा र कालपानीसहितको भूभाग नयाँ दिल्लीले सुम्पिने अभिव्यक्ति दिएका थिए।
एमालेले सोही अभिव्यक्तिबारे प्रधानमन्त्री प्रचण्डसँग जवाफ माग्ने तयारी गरेको एमाले नेता गोकर्ण विष्टले बताए। उनले भने, ‘हामीले संसदीय दलको बैठक बसेर तीन वटा कुरा महत्त्वका साथ उठाउने निर्णय गरेका छौं। पहिलो संसद् छलेर नागरिकता विधेयक प्रमाणीकरण, टीकापुर घटनामा दोषी ठहर भई तीनै तहका अदालतबाट जन्मकैदको फैसला सुनाएका रेशम चौधरीको आममाफी र प्रधानमन्त्री प्रचण्डले कालापानीबारे दिएको अभिव्यक्तिको जवाफ माग्छौं।’
लिपुलेक, कालापानीसहितको भूभाग फिर्ता ल्याउनुको सट्टा साटफेर गर्न सकिने भनेर प्रधानमन्त्रीले हलुका टिप्पणी गरेर राष्ट्रहित प्रतिकूल अभिव्यक्ति दिएको उनले आरोप लगाए। आजै दिउँसो ३ बजेर १ मिनेटमा राष्ट्रिय सभा बैठक बस्ने कार्यसूची तय भएको संसद् सचिवालयले जनाएको छ।


