पोखरा: जेनजी प्रदर्शनपछि पदयात्राका लागि विश्वप्रसिद्ध अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक आगमन घटेको छ।
प्रदर्शनपछि भारतीय पर्यटक घटेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका प्रमुख डा. रविन कडरियाले बताए। जेनजी प्रदर्शन हुनुअघि एकै दिनमा ७०९ जनासम्म दक्षिण एशियाली मुलुकका पर्यटकले प्रवेश अनुमति लिएकामा त्यसपछि उक्त सङ्ख्या घटेर बिहीबार ७९ मा सीमित भएको छ।
“सार्क क्षेत्रभित्र भारतीय पर्यटकको सङ्ख्या घटेको छ, तेस्रो मुलुकका पर्यटक आगमन केही प्रभावित बनेको छ”,कडरियाले भने, “गत वर्षको तुलनामा यस वर्ष सेप्टेम्बरमा विदेशी पर्यटक झण्डै आधाले घट्ने देखिएको छ।”
गत वर्ष सेप्टेम्बरमा २३ हजार ८८ पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका थिए। यस वर्ष सेप्टेम्बर १८ अर्थात् बिहीबारसम्म जम्मा नौ हजार ९९९ पर्यटकले प्रवेश अनुमति लिएका छन्। तीमध्ये दक्षिण एसियाली मुलुकका पाँच हजार ५४९ र अन्य देशका चार हजार ४५० पर्यटक छन्।
मुख्य पर्यटकीय याम सुरु भइरहेका वेला भएको प्रदर्शनले पर्यटक आगमन प्रभावित भएको कडरियाले बताए।
“अहिले जनजीवन सामान्य भइसकेको छ, अन्नपूर्ण क्षेत्रका कुनै पनि गन्तव्यमा कुनै क्षति पुगेको छैन”, उनले भने, “शान्त र सुरक्षित वातावरणमा अन्नपूर्ण क्षेत्रको घुमफिर गर्न सकिन्छ, पदयात्राका लागि यो याम उत्तम मानिन्छ।”
पर्यटनका हिसाबले असोज र कात्तिक महिनालाई मुख्य मानिन्छ। दशैँ, तिहार जस्ता ठूला चाडवाड यहीँ वेला पर्ने भएकाले मानिस घुमफिरको योजना बनाइरहेका हुन्छन्। नेपाल सुरक्षित गन्तव्य हो भन्ने सन्देश विश्वमाझ दिएर पुनः पर्यटन क्षेत्रलाई लयमा फर्काउनुपर्ने ट्रेकिङ ऐजिन्सिज एशोसियशन अफ नेपाल (टान) गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले बताए।
“अन्योलको अवस्था कायमै छ, बुकिङ गरिसकेका पर्यटक पनि आउन डराइरहेका छन्, कतिले बुकिङ रद्द गरेका छन्”, उनले भने।


