चितवन: चितवनको नारायणघाट–मुग्लिन सडकखण्डमा शनिबार साँझदेखि सम्पूर्ण सवारी आवागमन रोकिएको छ। निरन्तर वर्षाका कारण पहिरोको उच्च जोखिम देखिएपछि प्रशासनले उक्त निर्णय लिएको हो।
प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार, जोखिमपूर्ण अवस्थालाई ध्यानमा राख्दै शनिबार साँझ ६ बजेदेखि आइतबार बिहानसम्मका लागि सडक बन्द गरिएको हो। आइतबारको अवस्थाअनुसार थप निर्णय लिने उनले बताए। सडक बन्द भएपछि यात्रुहरू बाटोमै अलपत्र परेका छन्। चितवनका प्रहरी प्रमुख एसपी गोविन्द पुरीका अनुसार, हाल ४० देखि ५० वटा सवारी साधन बीच बाटोमै रोकिएका छन् भने २ सयभन्दा बढी यात्रुहरू प्रभावित भएका छन्।
यात्रुहरूको असहज अवस्थालाई मध्यनजर गर्दै होटल व्यवसायीहरूले राहत दिन थालेका छन्। होटल व्यवसायी संघ चितवनसँगको सहमतिअनुसार, होटलहरूले २५ प्रतिशतमात्र कोठा भाडा लिएर यात्रु राख्ने व्यवस्था मिलाएका छन्। संघका अध्यक्ष कृष्ण भट्टले आपत्कालीन अवस्थामा यात्रुहरूको व्यवस्थापनमा सहयोग गर्न आफूहरू तयार रहेको बताए। ‘चितवनमा करिब ३ सय होटल छन्, जसले १,२०० भन्दा बढी यात्रुहरूलाई आश्रय दिन सक्छ,’ उनले जानकारी दिए।
त्यस्तै, सौराहास्थित क्षेत्रीय होटल संघका उपाध्यक्ष सुवास चन्द्र गौतमले पनि आफूले सञ्चालित होटल ‘साथी’ मा ४० जना यात्रुलाई निःशुल्क राख्ने तयारी गरिएको जानकारी दिए। उनले अन्य होटल व्यवसायीहरूलाई पनि सहयोग गर्न आग्रह गरेका छन्। सडक डिभिजन कार्यालय भरतपुरका अनुसार तुइन खोला लगायतका क्षेत्रमा पहिरोको जोखिम अझै उच्च रहेकाले सम्पूर्ण सवारी सञ्चालनमा पूर्ण रोक लगाइएको हो। सम्भावित दुर्घटना न्यूनीकरण गर्न सुरक्षा निकायको समन्वयमा यस्तो निर्णय गरिएको कार्यालयले जनाएको छ।
साथै, डिभिजन कार्यालयले अत्यावश्यक सेवासँग सम्बन्धित सवारी चलाउनु परेमा सम्बन्धित सुरक्षा निकायमार्फत समन्वय गरी मात्र यात्रा गर्न अनुरोध गरेको छ।


