काठमाडौं। नेपालमा ठूला जलविद्युत आयोजनाहरु बनाइरहेको भारत सरकार स्वामित्वको सतलज जलविद्युत निगम लिमिटेड(एसजेबीएन) ले आगामी वर्ष ठूलो लगानी गर्ने घोषणा गरेको छ।
एसजेवीएनले आर्थिक वर्ष २०२६ मा विभिन्न जलविद्युत परियोजनाहरूमा एक खर्ब २० अर्ब (१२ हजार करोड) भारु लगानी गर्ने जानकारी दिएको छ। उसले उक्त रकम लगानी गरेर १३ अर्ब नौ करोड युनिट थप बिजुली उत्पादन गर्ने महत्वकाँक्षी योजना बनाएको छ।
एसजेवीएनले विज्ञप्ति जारी गरी सञ्चालन रहेका सबै परियोजनाहरूबाट १० अर्ब ६४ करोड ७० लाख युनिट बिजुली उत्पादन गरेको जानकारी दिएको छ। कम्पनीले अहिलेसम्मकै उच्च बिजुली उत्पादन हासिल गरेको बताएको छ। “आर्थिक वर्ष २०२५/२६ का लागि एसजेवीएनसँग १३ अर्ब नौ करोड युनिट बिजुली उत्पादन र एक खर्ब २० अर्ब भारु पुँजीगत खर्च गर्ने लक्ष्य छ” एसजेवीएनले भनेको छ।
चालू आर्थिक वर्षको पहिलो त्रैमाशमा कम्पनीले तीन अर्ब ६८ करोड १६ लाख युनिट ऊर्जा उत्पादन गरेको छ। यस्तै आठ अर्ब २२ करोड भारु आम्दानी र दुई अर्ब ५८ करोड भारु कर पछिको नाफा गरेको जानकारी दिएको छ।
एसजेवीएनले १५ सय मेगावाटको नाथपा झाक्री जलविद्युत केन्द्र सञ्चालन गरिरहेको छ। यो विद्युतगृहले रेकर्ड उत्पादन गरेको छ। जसमा अहिलेसम्मकै उच्च त्रैमासिक उत्पादन तीन अर्ब ४५ करोड युनिट उत्पादन गरेको छ।
त्यसैगरी, ४१२ मेगावाटको रामपुर जलविद्युत केन्द्रले २९ करोड २३ लाख युनिट र ६० मेगावाटको नैतवार मोरी जलविद्युत केन्द्रले पहिलो सञ्चालन वर्षमा ३१ करोड ६४ लाख युनिट बिजुली उत्पादन गरेको कम्पनीले जनाएको छ।
एसजेवीएनले नेपालमा ९०० मेगाावटको अरुण तेस्रो जलविद्युत आयोजना निर्माण गरिरहेको छ। अरुण तेस्रोको ८० प्रतिशत बढी काम सकिएको छ। यस्तै ६६९ मेगावाटको तल्लो अरुण आयोजना पनि निर्माणको तयारी गरेको छ।
नेपाल विद्युत प्राधिकरणको साझोदारीमा ४९५ मेगावाटको अरुण चार आयोजना पनि बनाउन समझदारी गरेको छ।
एसजेबीएनले अरुण तेस्रोबाट उत्पादन हुने बिजुली दामोदर भ्याली कर्पोरेसन (डीभीसी)लाई बेच्ने भएको छ। अरुण तेस्रोबाट ९०० मेगावाट विद्युत् उत्पादन हुने अध्ययनले देखाएको छ। त्यसमध्ये दामोदर भ्यालीलाई २०० मेगावाट बिजुली बिक्री गरिने विकासकर्ता एसजेबीएनले जनाएको छ।
जलविद्युत, प्रसारणलाइन पूर्वाधार समेत गरी अरुण तेस्रो आयोजना बनाउन एक खर्ब ४४ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ। जसअनुसार जलविद्युत पूर्वाधार बनाउन एक खर्ब चार अर्ब र प्रसारणलाइनतर्फ ४० अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ।
एसजेबीएनले बनाइरहेको नेपालतर्फ २१७ किलोमिटर लामो ४०० केभी प्रसारणलाइन भारतको मुजफ्फरपुरमा जोडिनेछ। आयोजना सञ्चालनमा आएको २५ वर्षपछि नेपालले पाउने लगानी बोर्ड र एसजेबीएनबीच सन् २०१४ मा भएको आयोजना विकास सम्झौता (पीडीए)मा उल्लेख छ।
आयोजनाबाट नेपालले २१.९ प्रतिशत अर्थात १९७ मेगावाट बिजुली सित्तैमा पाउनेछ। एसजेबीएनले ढल्केबरमा रहेको सबस्टेसनबाट उक्त बिजुली नेपाललाई दिने भएको छ। एसजेबीएनले अब ५०० मेगावाट बिजुलीको बजार निश्चित गर्न बाँकी छ। उसले भारतीय बजारमा बिक्री गर्ने छ।
गत वर्ष जेठ २२ गते आयोजनाको १२ किलोमिटर सुरुङको काम सकिएको थियो। तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालको उपस्थितिमा मुख्य सुरुङको ब्रेक थ्रु गरिएको थियो। आयोजना ०७५ वैशाखमा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त रूपमा शिलान्यास गरेका थिए।
संखुवासभाको मकालु गाउँपालिका–५, फ्याक्सिन्दामा रहेको बाँधदेखि विद्युतगृहको ठाउँ चिचिला गाउँपालिका–३, दिर्दिङसम्म पानी पथान्तरणका निम्ति १२ किलोमिटरको सुरुङ निर्माण गरिएको छ। आयोजना सम्पन्न भई व्यावसायिक उत्पादन भएको एक वर्षभित्र प्रभावित क्षेत्रका स्थानीयले सेयर पाउने पीडीएमा व्यवस्था छ। पीडीएअनुसार, आयोजनाबाट एक अर्ब ६० करोड रुपैयाँबराबरको सेयर स्थानीयलाई दिइनेछ ।
अर्धजलाशय (पीआरओआर) आयोजनाबाट तीन अर्ब ४६ करोड ६० लाख युनिट बिजुली उत्पादन हुने विस्तृत आयोजना प्रतिवेदन(डीपीआर) ले देखाएको छ। आयोजनाको मुख्य सुरुङ फ्याक्सिन्दाको आमराङदेखि दिर्दिङसम्म ११.८३ किलोमिटर छ।
एसजेबीएनले तल्लो अरुण आयोजना निर्माण सुरु गर्दै छ। तल्लो अरुणको डीपीआर तयार पारी लगानी बोर्डलाई बुझाएको छ। ०८० जेठमा तत्कालीन प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा रहेका बेला लगानी बोर्ड र एसजेबीएनबीच पीडीएमा हस्ताक्षर भएको थियो।
तल्लो अरुण आयोजना बनाउन कुल ७६ अर्ब ७४ करोड रुपैयाँ (४७ अर्ब ९६ करोड ७८ लाख भारु) लाग्ने विकासकर्ता एसजेबीएन लिमिटेडले तयार पारेको डीपीआरले देखाएको छ।
तल्लो अरुण आयोजनाको प्रतिमेगावाट लागत ११ करोड ३० लाख रुपैयाँ पर्ने अध्ययनले देखाएको छ। प्रतिमेगावाट लागतका हिसाबले यो आयोजना सस्तो देखिएको छ। अर्धजलाशयुक्त प्रकृतिको आयोजनाबाट वार्षिक दुई अर्ब ६२ करोड ५० लाख युनिट ऊर्जा उत्पादन हुनेछ। तल्लो अरुण आयोजनाको रेगुलेट अरुण तेस्रोबाट हुनेछ।
एसजेबीएनले नेपाल विद्युत प्राधिकरणसँगको साझेदारीमा ४९२ मेगावाटको अरुण चार आयोजना बनाउने तयारी गरेको छ। अरुण तार अरुण तेस्रो भन्दा माथि पर्छ।


