काठमाडौं। गत भदौ २३ र २४ गते जेन्जी आन्दोलनबाट मुलुकमा ठूलो धनजनको क्षति भयो। ठूला व्यवसायिक घरना आन्दोलनकारीको निशानमा पर्दा आगजनी र तोडफोड हुँदा अर्बौं रुपैयाँ नोक्सान भएको छ। आठ अर्ब रुपैयाँ लगानीमा बनेको पाँचतारे हिल्टन होटल र भाटभटेनीका साथै थुप्रै व्यवसायिक क्षेत्रमा आगजनी र तोडफोड भयो। नेपाल बिमा प्राधिकरणका अनुसार हालसम्म साढे २३ अर्ब रुपैयाँ बिमा दाबी परेको छ।
प्रत्येक पटक हुने आन्दोलनमा व्यवसायिक क्षेत्रमा आक्रमण हुने गरेको छ। यसपटक जेन्जी आन्दोलनमा पनि केही व्यवसायिक घरनामाथि नियतवस आक्रमण, आगजनी र तोडफोड भयो। आन्दोलनमा भएको तोडफोडले गर्दा निजी क्षेत्रले असुरक्षित महशुस गरिरहेको छ भने अर्कोतर्फ यसले गर्दा व्यवसायीको मनोबल खस्केको छ।
यही बेला एक महिना नपुग्दै १९८ मेगावाट क्षमताका दुई जलविद्युत आयोजना बनाउन बैंक तथा वित्तीय संस्थाहरुले झण्डै २७ अर्ब रुपैयाँ ऋण लगानी सम्झौता गरेका छन्। दुई आयोजना बनाउन बैंकको ऋण र स्वपुँजी (इक्विटी) समेत गरी कूल ३८ अर्ब रुपैयाँ लाग्ने सम्बन्धित कम्पनीले जनाएका छन्।
जसअनुसार तमोर–मेवामा २३ अर्ब र दूधकोसीमा १५ अर्ब रुपैयाँ लाग्नेछ।
स्पार्क हाइड्रोइलेक्ट्रिक कम्पनी लिमिटेडले बनाइरहेको १२८ मेगावाटको तमोर–मेवा र ७० मेगावाट क्षमताको दूधकोशी–२ अर्धजलासय जलविद्युत (पीआरओआर) आयोजनामा बैंक तथा वित्तीय संस्थाहरुले २७ अर्ब रुपैयाँ बढी लगानी गर्ने सम्झौता गरेका हुन् । स्पार्क हाइड्रोइलेक्ट्रिकले बनाउन लागेको तमोर–मेवा आयोजनामा सिद्धार्थ बैंकको अगुवाइमा माछापुच्छ्रे बैंकका साथै कृषि विकास बैंक, नेपाल एसबीआई बैंक, ज्योति विकास बैंक, आईसीएफसी फाइनान्स लिमिटेड, नेपाल फाइनान्स लिमिटेड र गुडविल फाइनान्स लिमिटेडको ऋण लगानी हुने भएको छ।
आयोजनाको अनुमानित लागत २३ अर्ब ४ करोड रुपैयाँ रहेको कम्पनीले जनाएको छ। सोमध्ये ७५ प्रतिशत सहवित्तीयकरण प्रणालीमार्फत ऋण लगानी हुने भएको छ।
बाँकी २५ संस्थापकहरुबाट स्वपूँजी (इक्विटी) जुटाइने भएको छ। बैंक तथा वित्तीय संस्थाहरुले १७ अर्ब ६८ करोड रुपैयाँ ऋण र बाँकी पाँच अर्ब ७३ करोड रुपैयाँ प्रवद्र्धकहरुले स्वपुँजी लगानी गर्ने भएका छन्।
स्पार्क हाइड्रोले २०७७ साल असोज २५ गते विद्युत विकास विभागबाट विद्युत उत्पादन अनुमतिपत्र (जेनेरेसन लाइसेन्स) प्राप्त गरिसकेको छ। वातावरणीय प्रभाव मुल्याङकन प्रतिवेदन (इआईए) २०७५ असार ३१ गते वन तथा वातावरण मन्त्रालयबाट स्वीकृत भइसकेको कम्पनीले जनाएको छ।
स्पार्क हाइड्रोइलेक्ट्रिक र नेपाल विद्युत प्राधिकरणबीच २०८० असोज २४ मा विद्युत खरिद बिक्री सम्झौता(पीपीए) भएको हो।
निर्माण कार्यलाई निरन्तरता दिइ २५ प्रतिशत भौतिक प्रगतिसहित द्रुत गतिमा आयोजनाको काम भइरहेको कम्पनीका सञ्चालक भानेन्द्रकुमार लिम्बुले नेपाल क्लिक्सलाई बताएका छन्।
आयोजनाको व्यापारिक उत्पादन मिति २०८५ असोज २५ गते तय गरिएको छ। सो बमोजिम कम्पनीले आगामी साढे तीन वर्षभित्र विद्युत उत्पादन सुरु गर्ने लक्ष्य लिएको लिम्बुले जानकारी दिए।
कूल अनुमानित लागत आधार मान्दा आयोजना बनाउन प्रतिमेगावाट १७ करोड ८० लाख रुपैयाँ लाग्ने देखिएको छ। आयोजनाबाट वार्षिक ८२ करोड युनिट विद्युतीय ऊर्जा उत्पादन हुने अध्ययनले देखाएको छ।
१२८ मेगावाटको लेउ वा देउ (टेक अर पे) मा पीपीए भएको छ। बाँकी १७ मेगावाट पीपीए हुन बाँकी रहेको स्पार्कले जनाएको छ। पीपीए हुन बाँकी भएकालले पहिलो चरणमा १२८ मेगागाटको मात्र लगानी जुटेको उनको भनाई छ। बाँकी १७ मेगावाटको पीपीएपछि बैंकहरुले थप ऋण लगानी गर्ने लिम्बुले बताए।
परियोजनाबाट उत्पादित बिजुली ६.३ किलोमिटर लामो प्रसारण लाइनबाट २२० केभी हाङपाङ (ढुङ्गेसाँगु) सबस्टेशनमा जोड्न प्रस्ताव गरिएको छ। यो सबस्टेशन सञ्चालनमा आइसकेको छ।
पाँच किलोमिटर सुरङ खन्न टनेल बोरिङ मेशिन (टीबीएम) प्रयोग हुने सञ्चालक लिम्बुले जानकारी दिए।
मेवाखोलाको पानीसमेत तमोर नदीमा मिसाएर बनाइने उक्त आयोजनाको काम सुरु भएको पाँच वर्षभित्र बिजुली उत्पादन गर्ने लक्ष्य छ।
यस्तै ७० मेगावाट क्षमताको दूधकोशी–२ अर्धजलासय आयोजनालाई लगानी जुटेको छ। लक्ष्मी सनराइज बैंकको अगुवाईमा एभरेष्ट बैंक र सानिमा बैंकले आयोजनामा साढे १० अर्ब रुपैयाँ ऋण लगानी गर्ने भएको छन्। यही असोज पाँचमा बैंक र प्रवद्र्धकबीच ऋण लगानी सम्झौता भएको हो।
आयोजनाको कुल अनुमानित लागत १५ अर्ब रुपैयाँ रहेको छ। ७० प्रतिशत बैंकको ऋण र ३० प्रतिशत संस्थापकहरूको स्वपुँजी हुने गरी लगानी संरचना बनाइएको छ। जसअनुसार १० अर्ब ५० करोड रुपैयाँ बैंकको ऋण र बाँकी साढे चार अर्ब रुपैयाँ संस्थापकहरूको स्वपुँजी लगानी हुने दूधकोसीले जनाएको छ। काम सुरु गरेको चार वर्षमा सम्पन्न हुने कम्पनीका अध्यक्ष कदम केसीले जानकारी दिए।
विद्युत प्राधिकरणसँग २०२१ नोभेम्बरमा आयोजनाबाट उत्पादन हुने गरी पीपीए भएको थियो।
पिकिङका लागि बेलुका ५ बजेदेखि १० बजेसम्म परिभाषित गरिएको छ। पिकिङको समयमा पीपीएदर ८.५० देखि १०.५५ रुपैयाँसम्म रहेको छ। सुक्खा मौसममा दैनिक ६ घण्टाको पिकिङको अधिकतम सीमा रहेको छ। वार्षिक ३ प्रतिशतका दरले ८ पटक बिजुलीको मूल्यवृद्धि हुनेछ।
आयोजनाबाट वार्षिक ४१ करोड ७४ लाख युनिट बिजुली उत्पादन हुने अध्ययनले देखाएको छ। आयोजनाको प्रतिमेगावाट लागत २१ करोड ४३ लाख रुपैयाँ छ। आयोजनाको प्रतिफल १३.९७ प्रतिशत रहेको छ। इक्विटीमा प्रतिफल २१ प्रतिशत रहेको छ। आयोजनाले १२ वर्षमा ऋण चुक्ता गर्ने भएको छ। कम्पनीले बिजुली बेचेर औसत ५.९६ रुपैयाँ पाउने भएको छ।
परियोजनाबाट उत्पादित बिजुली १२ किलोमिटर लामो १३२ केभी प्रसारण लाइनमार्फत पहिले नै सञ्चालनमा रहेको विद्युत प्राधिकरणको टिङ्ला सबस्टेशनमा जोड्ने प्रस्ताव गरिएको छ। ३५ मेगावाट क्षमताका दुई टवाईन जडान हुने भएको कम्पनीले जनाएको छ।
यसअघि आयोजना सोलुखुम्बुमा थुलुङ दूधकोशीमा बाँध बनाइ सुरुङमार्गबाट खोटाङको ऐसेलुखर्क गाउँपालिकाको जलेश्वरीमा विद्युतगृह निर्माण गरी २३० मेगावाट उत्पादन गर्ने अनुमानसहित प्रक्रिया अगाडि बढाइएको थियो।
यसअघि दूधकोशीको पानी करिब पाँच किलोमिटर सुरुङ मार्गमार्फत पुर्याउने योजना थियो। अहिले तीन किलोमिटर सुरुङमार्गमार्फत खन्याखर्कमा निर्माण हुने विद्युतगृहमा पुर्याइने भएको छ। जसकारण उत्पादन क्षमतासमेत २३० मेगावाटबाट घटेर ७० मेगावाटमा झरेको कम्पनीले जनाएको छ।
