काठमाडौं। नेपालमा एकछत्र राज गरिरहेको बहुराष्ट्रिय उद्योग सूर्य नेपाल प्रालिको चुरोट व्यापार वर्षेनी बढ्दै गएको छ। गत वर्ष उद्योगको चुरोट व्यापार १२.२७ प्रतिशत बढेर ३२ अर्ब ३५ करोड ६० लाख रुपैयाँ पुगेको छ।
अघिल्लो वर्ष उद्योगले २८ अर्ब ८१ करोड ८० लाख रुपैयाँको चुरोट व्यापार गरेको थियो। अघिल्लो वर्षको तुलनामा सूर्य नेपालको चुरोट व्यापार तीन अर्ब ५३ करोड ८० लाख रुपैयाँ बढेको रेटिङका लागि सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ।
सन् २०२३ मा २८ अर्ब ९९ करोड रुपैयाँ व्यापार गरेको थियो। यस्तै २०२२ मा २७ अर्ब, २०२१ मा उद्योगले २४ अर्ब ४९ करोड रुपैयाँको चुरोट व्यापार गरेको थियो ।
२०२० मा उद्योगको चुरोट व्यापार २४ अर्ब ४७ करोड रुपैयाँ थियो भने २०१९ मा २५ अर्ब १३ करोड ७० लाख र २०१८ मा २४ अर्ब २२ करोड रुपैयाँको व्यापार गरेको थियो ।
झन्डै साढे ३२ अर्ब रुपैयाँको चुरोट कारोबार गरेको सूर्य नेपालले सेयरधनीलाई आकर्षक लाभांश दिँदै आएको छ। यद्यपि, पछिल्ला तीन वर्षदेखि सूर्य नेपालले लाभांश सार्वजनिक गरेको छैन्। सन् २०२२ मा सूर्य नेपालले १० अर्ब ४३ करोड ३० लाख रुपैयाँ लाभांश घोषणा गरेको थियो। कारोबारका साथै नाफामा पनि वृद्धि भएकाले लाभांश रकम बढेको हुनसक्छ।
२०२१ मा सेयरधनीहरुलाई नौ अर्ब ४१ करोड रुपैयाँ लाभांश दिएको थियो। यस्तै २०२० मा उद्योगले नौ अर्ब ८५ करोड र २०१९ मा नौ अर्ब १३ करोड रुपैयाँ लाभांश दिएको थियो।
सूर्य नेपालले चार दशक ४० वर्षभन्दा बढी समयदेखि चुरोट उत्पादनको व्यवसायमा रहेको छ। उपभोक्ताको रुचि र प्राथमिकताको विस्तृत दायरा पूरा गर्न सूर्या लेजेन्ड, सूर्या २४ क्यारेट, सूर्या लक्जरी किंग्स, सूर्या फ्युजन, सूर्या स्लीक बोल्ट, शिखर फिल्टर किंग्स, शिखर आइस जस्ता विभिन्न सफल ब्रान्डहरू उत्पादन गरेको छ।
उद्योगको बजार हिस्सा उल्लेखनीय छ र विभिन्न क्षेत्रहरूमा बलियो उपस्थिति छ। चुरोटका साथै उद्योगले अगरवत्ति पनि उत्पादन गर्दै आएको छ। कूल आम्दानीमा अगरवत्तिको हिस्सा थोरै छ।
चुरोटका सबै वर्गहरूमा करको भार निरन्तर बढिरहेको छ। यसले वैध चुरोट उद्योगलाई दबाब बढाएको छ। बढी करका कारण नेपालमा चुरोट महंगो हुन गई सर्वसाधारणको पंहुच भन्दा टाढा हुँदै गएको दावी उद्योगले गरेको छ।
उपभोक्ताको खरिद क्षमता कम हुनु, ठूलो संख्यामा धुम्रपान गर्नेहरूले खैनी, गुट्खाजस्ता तुलनात्मक रूपमा सस्तो मूल्यका धुवाँरहित सुर्तीजन्य पदार्थहरू पनि उपभोग गर्नुलाई मध्यनजर गर्दा चुरोटमा करको भार बढ्दा उपभोक्ताहरू सस्तो र धेरैजसो कर छली गरिएका सुर्तीजन्य पदार्थतर्फ आकर्षित हुन सक्छन्। जसले उद्योेगको आम्दानी र नाफामा असर पार्न सक्छ।
सूर्य नेपालको मुलुकभर फराकिलो वितरण सञ्जाल छ। जसमा नेपालभरि फैलिएका आफ्ना उत्पादनहरूका लागि गोदामहरू छन्। उद्योगको चुरोट व्यवसायमा अत्यधिक केन्द्रित छ।
यद्यपि, सूर्य नेपालले अन्य फास्ट मुभिङ कन्जुमर गुड्स (एफएमसीजी) उत्पादनहरू अगरबत्ती पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनीमार्फत र ब्रान्डेड प्याकेज गरिएका खाद्य उत्पादनहरूमा उद्योग संलग्न छ। सूर्य नेपाल भेन्चर्स प्राइभेट लिमिटेड अगरबत्तीको उत्पादन र बिक्रीमा संलग्न छ।
सन् १९८६ मा स्थापना भएको सूर्य नेपालले चुरोट उत्पादन थालेको चार दशक भइसकेको छ। सूर्य नेपालमा आईटीसी इन्डिया लिमिटेडको ६१ प्रतिशत सेयर छ। बाँकी ३९ प्रतिशत नेपाली लगानीकर्ताको स्वामित्व रहेको छ। सूर्य नेपालमा पूर्वराजा ज्ञानेन्द्र शाहको १० र छ प्रतिशत सिद्धार्थ राणाको स्वामित्व छ।
सन् १९१० मा स्थापित आईटीसी चुरोट, ब्रान्डेड प्याकेज गरिएका खाना, शिक्षा र स्टेशनरी उत्पादनहरू, व्यक्तिगत हेरचाह उत्पादन, अगरबत्ती, होटल, कृषि, पेपरबोर्ड, कागज र प्याकेजिङ व्यवसायमा छ । उद्योग भारतमा सबैभन्दा ठूलो चुरोट उत्पादक र बिक्रेता पनि हो।
