काठमाडौँ: त्रिभुवन विश्वविद्यालयको जग्गा तथा अचल सम्पत्ति खोजबिन समितिले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा रहेको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको विकल्प खोज्न सुझाव दिएको छ। पूर्वसचिव शारदाप्रसाद त्रितालको संयोजकत्वमा गठित समितिले क्रिकेट-कभर्ड हल निर्माण गर्ने हालको सरकारी निर्णयको समीक्षा गर्दै पुनर्विचार गर्न नेपाल सरकारले आवश्यक रहेको बताएको छ।
प्रतिवेदनमा त्रिविको कीर्तिपुर परिसरमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट खेलका लागि क्रिकेट- कभर्डहल बनाउने घोषणा भएकोलाई समितिले गम्भीरतापूर्वक लिई त्रिविका पूर्व उपकुलपति लगायतका पदाधिकारीहरूको समेत राय बुझेको बताएको छ।
प्रतिवेदनमा भनिएको छ, ‘क्रिकेट- कभर्डहल बनाउने घोषणा भएकोलाई समितिले गम्भीरतापूर्वक लिई त्रिविका पूर्व उपकुलपति लगायतका पदाधिकारीहरूको समेत राय बुझी विश्लेषण गर्दा त्रिवि त्यस्तो स्थान हो जहाँ शैक्षिक, प्राज्ञिक उन्नयनका लागि शान्त, सुमधुर एवं सौम्य (वेश सुन्दर ) वातावरण आवश्यक पर्दछ त्यस्तो स्थानमा अन्तर्राष्ट्रिय क्रिकेट खेल सञ्चालन गर्दा त्यहाँको शैक्षिक, प्राज्ञिक र अनुसन्धानात्मक कार्यसम्पादनमा नकारात्मक असर परी शैक्षिक एवं प्राज्ञिक वातावरण धूमिल हुन जाने देखिँदा नेपाल सरकारले उक्त निर्णयउपर पुनर्विचार गर्नुपर्ने।’
सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्तहरू अनुसार जुन कामका लागि कानूनले जुन निकाय वा पदाधिकारीलाई जे जस्तो जति अधिकार दिइएको हुन्छ सो कार्य सोही निकाय वा पदाधिकारी मात्र गर्नुपर्ने र त्यस्तो निकायको क्षेत्राधिकारमा हस्तक्षेप वा संकुचन हुने गरी अन्य निकाय वा पदाधिकारीले अधिकार प्रयोग गर्न नपाउने मान्यता रहेको तथ्य स्मरण गर्दै समितिले क्रिकेट- कभर्डहल बनाउने निर्णय पुनर्विचार गर्न सुझाव दिएको हो।
२०८१ असार ३१ गते नेपाली कांग्रेसको सिफारिसमा केपी शर्मा ओलीको नेतृत्वमा बनेको सरकारको मन्त्रिपरिषद्को पहिलो बैठकले कीर्तिपुरमा सुविधासम्पन्न खेल मैदान बनाउने निर्णय गरेको थियो।
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शपथ लिएपछि सोही दिन सिंहरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदबहालीपछि भएको बैठकले उक्त निर्णय गरेको थियो।
