काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले यस वर्षको युगकवि सिद्धिचरण श्रेष्ठका नाममा स्थापित युगकवि सिद्धिचरण पुरस्कार प्राध्यापक डा जयराज आचार्यलाई प्रदान गरेका छन्।
युगकवि सिद्धिचरण प्रतिष्ठानले कवि श्रेष्ठको ११२औँ जन्मजयन्तीका अवसरमा शीतलनिवासमा आयोजना गरेको कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले भाषा, साहित्य र कुटनीतिको क्षेत्रमा योगदान पुर्याएबापत डा आचार्यलाई पुरस्कार प्रदान गरेका हुन्। सो पुरस्कारको राशि एक लाख नगदसहित सम्मानपत्र रहेको छ।
यसैगरी राष्ट्रपति रामचन्द्र पौडेलले यसवर्षको युगकवि सिद्धिचरण युवा पत्रकारिता पुरस्कार पत्रकार चेतनाथ धमलालाई प्रदान गरे। सो पुरस्कारको राशि २५ हजार नगदसहित सम्मानपत्र रहेको छ। कार्यक्रममा राष्ट्रपति पौडेलले प्रतिष्ठानमा कार्यरत जनक खड्कालाई कदरपत्र प्रदान गरेका थिए।
कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष बैरागी काइला, संरक्षक रविचरण श्रेष्ठ, पुरस्कृत व्यक्तित्व आचार्य, प्राडा मोहन लोहनीले युगकवि सिद्धिचरणको साहित्य साधना, बहुआयामिक व्यक्तित्व र कृतित्वबारे प्रकाश पारेका थिए।
