काठमाडौं। नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत उपभोग गरेर नतिर्ने अडान लिँदै आएको उद्योगको लाइन काट्ने निर्णय गरेपछि अहिले धमाधम बक्यौता रकम बुझाउन थालेका छन्।
बिहीबार र शुक्रबार गरेर विभिन्न आठ उद्योगहरुले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता रकम किस्तावन्दीमा भुक्तानी गर्न थालेका हुन्। यसरी भुक्तानी गर्नेमा बाराको सिमरामा सञ्चालित हुलास स्टील इण्डष्ट्रिज लिमिटेड,अशोक स्टील इन्डष्ट्रिज लिमिटेड, सम्राट सिमेन्ट इन्डष्ट्रिज लिमिटेड, रोल्पा सिमेन्ट लिमिटेड, नव नेपाल प्लास्टिक इन्डिस्ट्रिज, लक्ष्मी स्टील इण्डष्ट्रिज लिमिटेड, हामा आइरन एन्ड स्टील लिमिटेड र सर्वोत्तम सिमेन्ट लिमिटेड हुन्।
हुलास ले प्रिमियम महसुलको बक्यौता रकम नेपाल विद्युत प्राधिकरणलाई तिर्न सुरु गरेको छ। उद्योगले २०७२ माघदेखि २०७५ वैशाखसम्ममा डेडिकेटेड तथा ट्रंक लाइन प्रयोग बापतको प्रिमियम महसुलको १४ करोड १२ लाख बक्यौता रकमलाई प्रतिकिस्ता ५० लाख ४३ हजार रुपैयाँका दरले मासिक किस्ता हुने गरी २८ किस्तामा बुझाउने स्वीकृति प्राधिकरणबाट पाएको छ।
उद्योगले शुक्रबार पहिलो किस्ता बुझाएको प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवाले जानकारी दिए।
यसैगरी, १७ करोड ५८ लाख रुपैयाँ बक्यौता रहेको सिमराकै अर्को अशोक स्टील इन्डष्ट्रिज लिमिटेडले पनि पहिलो किस्ता बुझाएको छ। अशोक स्टीलले २८ किस्ताको सुविधा लिई ६३ लाख रुपैयाँ बुझाएको हो।
यसैगरी सम्राट सिमेन्ट इन्डष्ट्रिज लिमिटेड, रोल्पा सिमेन्ट लिमिटेड र नव नेपाल प्लास्टिक इन्डिस्ट्रिजले किस्ता तिरेका छन्। तीनवटै उद्योगले विगतमा किस्ताबन्दीको सुविधा लिई बक्यौता रकम तिर्न सुरु गरेका थिए। तर, २८ किस्ता सुविधा लिएर केही बक्यौता रकम तिरेपछि गत वैशाखबाट किस्ता तिर्न छाडेका थिए।
सम्राट सिमेन्टले २०७२ माघदेखि २०७५ वैशाखसम्ममा डेडिकेटेड तथा ट्रंक लाइन प्रयोग बापतको थप महसुलको कुल ३ करोड ७७ लाख बक्यौता रकमलाई प्रतिकिस्ता १३ लाख ४९ हजार रुपैयाँ एक मासिक किस्ता हुने गरी २८ किस्तामा बुझाउने स्वीकृति प्राधिकरणबाट लिएको थियो।
उद्योगले चार किस्ता बुझाएपछि गत वैशाखबाट किस्ता बुझाउन छाडेको थियो। उद्योगले एकैपल्ट तीन किस्ताको ४० लाख ४७ हजार रुपैयाँ बुझाएपछि जेठसम्मको किस्ता चुक्ता भएको छ।
स्वीकृत किस्ता सुविधा बमोजिम गत असारबाट असोजसम्म ११ किस्ता बुझाउनु पर्नेमा सात किस्ता मात्र बुझाएको छ। बाँकी ४ किस्ताको ५३ लाख ९६ हजार रुपैयाँ बुझाउन पुनः पत्राचार गरिएको र उद्योगले उक्त रकम तिरी बाँकी किस्ता नियमित रुपमा तिर्ने बताएको प्राधिकरण, प्रदेश डिभिजन कार्यालय, नेपालगञ्जका प्रमुख दीपक गौतमले जानकारी दिएका छन्।
यसैगरी, रोल्पा सिमेन्टको ९९ लाख १२ हजार बक्यौता रकमलाई प्रतिकिस्ता ३ लाख ५४ हजार रुपैयाँ एक मासिक किस्ता हुने गरी २८ किस्तामा बुझाउने स्वीकृति प्राधिकरणबाट लिएको थियो। ६ किस्ता तिरेपछि उद्योगले तिर्न छाडेको थियो। उद्योगले पाँच किस्ताको १७ लाख ७० हजार रुपैयाँ एकैपल्ट तिरी नियमित किस्ता तिर्ने अवस्थामा पुगेको छ। अब उद्योगको १७ किस्ता तिर्न बाँकी छ।
त्यस्तै, नव नेपाल प्लास्टिक इन्डिस्ट्रिज १२ किस्ताको १ लाख २३ हजार रुपैयाँ तिरेर बक्यौता रकम चुत्ता गरेको छ।
सिमरास्थित हामा आइरन एन्ड स्टीलले डेडिकेटेड ट्रंक लाइनको कुल बक्यौता ५ करोड ८५ लाख मध्ये पहिलो किस्ता बापत २० लाख ९० हजार रुपैया बुझाएको छ।
यसअघि नै बक्यौता तिर्न सुरु गरी वैशाखबाट तिर्न छोडेको परासीस्थित लक्ष्मी स्टीलले पनि किस्ता बापत ८४ लाख ९८ हजार रुपैयाँ बुझाएको प्राधिकरणले जनाएको छ। यसअघि किस्ता बुझाइ बीचैमा छोडेको सर्बोत्तम सिमेन्टले पनि ४० लाख रुपैयाँ बुझाएको छ।


