काठमाडौं – एएफसी यू–२० महिला एसियन कप छनोटको दोस्रो चरणअन्तर्गत आज नेपालले पहिलो खेल खेल्दैछ। म्यानमारमा आयोजना भइरहेको दोस्रो चरणको पहिलो खेलमा नेपालले आज घरेलु टोलीसँग प्रतिस्पर्धा गर्न लागेको हो।
नेपाल र म्यानमारबीचको यानगोनस्थित तुवन्ना रंगशालामा नेपाली समय अनुसार साँझ ५ः४५ बजे सुरु हुनेछ। नेपाली टिम दिपा शाहिको कप्तानीमा मैदान उत्रनेछ। दिपाले नेपाली सिनियर महिला टिमको समेत प्रतिनिधित्व गरिसकेकी छन्।
छनोटको समूह बी मा रहेको नेपालले जुन ८ मा चीन र जुन १० मा चाइनिज ताइपेइसँग खेल्नेछ। समूहका शीर्ष दुई टोली अन्तिम चरणमा छनोट हुने छन्। यसअघि गत मार्चमा प्यालेस्टाइनमा भएको पहिलो चरणको छनोटमा समूह बी को विजेता बन्दै नेपाल दोस्रो चरणमा पुगेको हो।
‘हामी साफमा रनर अप भयौँ, लगत्तै एएफी पहिलो चरणको क्वालीफायर खेल्यौँ, पहिलो चरणको क्वालिफायरमा हामीले आफुभन्दा वरीयतामा माथी रहेको टिम प्यालेस्टाइन र नर्थ क्यारोलिनालाई जितेर आएका हौँ,’ टिमका तयारी र पछिल्लो यात्राबारे शाहीले भनिन्।

प्यालेस्टाइनमा भएको छनोटपछि नेपाली टिमले दुई महिनाको अभ्यास गरेको छ। ‘दुई महिनाको प्रशिक्षणले टिमको मनोबल उच्च भएको छ,’ शाहीले भनिन्, ‘वरीयतामा हामी भन्दा माथी भएपनि म्यानमार विरुद्ध हामी उच्च मनोबलका साथ मैदान उत्रनेछौ।’
छनोटको समूह ‘बी’ मा नेपाल चीन, म्यानमार र चाइनिज ताइपेई छन्। यसैगरी नेपाले जुन ८ मा चीन तथा जुन १० मा चाइनिज ताइपेईसँग हुनेछ। नेपालले प्यालेस्टाइनमा भएको पहिलो चरणमा घरेलु टोली प्यालेस्टाइन र उत्तरी मरियाना आइल्यान्डलाई समान ६–० ले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको थियो।
पहिलो चरणको सफलताले टिमको मनोबल बढाएको र टिममा एकता रहेको प्रशिक्षक यामप्रसाद गुरुङ बताउँछन्। ‘टिमको मनोबल बढेको छ, टिममा एकता छ, कुनै पनि टिमलाई हराउन सक्ने टिम छ, हामी हरेक म्याच जित्नकै लागि खैल्छौँ,’ प्रशिक्षक गुरुङ भन्छन्, ‘फिफा वरीयतामा हामीभन्दा माथि भएका टिमहरु छन्। तर हामी उच्च मनोबलका साथ मैदान उत्रनेछौँ।’


