नयाँदिल्ली: भारतीय उद्योगपति रिलायन्स समूहका अध्यक्ष अनिल अम्बानीमाथि प्रवर्तन निर्देशनालय (ईडी) ले ठूलो कारबाही गरेको छ। अम्बानीसँग सम्बन्धित करिब ३० अर्ब रुपैयाँभन्दा बढी (भारतीय ३,००० करोड रुपैयाँ) बराबरका सम्पत्तिहरू जफत गरिएको छ।
गत अगस्ट महिनामा सम्पत्ति शुद्धिकरणसम्बन्धी ईडीले अम्बानीसँग सोधपुछ पनि गरेको थियो। समाचार एजेन्सी पीटीआई का अनुसार, ईडीले सम्पत्ति शुद्धिकरण ऐन अन्तर्गत सम्पत्ति जफत गर्नका लागि चारवटा अस्थायी आदेश जारी गरेको हो। जफत गरिएका सम्पत्तिहरूमा मुम्बईको पाली हिलस्थित घर, र उनका समूह कम्पनीहरूसँग सम्बन्धित अन्य आवासीय तथा व्यावसायिक सम्पत्तिहरू समावेश छन्।
यसबाहेक दिल्लीको महाराजा रणजीत सिंह मार्गमा रहेको रिलायन्स सेन्टरको जग्गा, र नोएडा, गाजियाबाद, मुंबई, पुणे, ठाणे, हैदराबाद, चेन्नई र पूर्वी गोदावरीमा रहेका अन्य सम्पत्तिहरू पनि जफत गरिएका छन्। स्रोतका अनुसार, जफत गरिएका सम्पत्तिहरूको कुल मूल्य भारतीय ३,०८४ करोड रुपैयाँ बराबरको छ।
रिलायन्स होम फाइनान्स लिमिटेड र रिलायन्स कमर्शियल फाइनान्स लिमिटेडद्वारा संकलित सार्वजनिक रकमको हेराफेरी र मनी लन्ड्रिङको आरोप अम्बानीमाथि छ। यसबाहेक वित्तीय अनियमितता र रिलायन्स इन्फ्रास्ट्रक्चरलगायतका समूह कम्पनीहरूले लिएका १७,००० करोड रुपैयाँभन्दा बढी ऋण निर्धारित उद्देश्यबाहेक अन्य काममा खर्च गरेको आरोप पनि उनीमाथि छ।
यसअघि २४ जुलाईमा ईडीले ५० कम्पनीका अधिकारी र २५ व्यक्तिसँग सम्बन्धित ३५ स्थानमा छापा मारेको थियो।


