कुश्मा: कथैकथा अनि गाथाहरूमा उभिएको कुश्मा नगरीलाई थप मौलिक सांस्कृतिक सोचले अघि बढाउने उद्देश्यका साथ स्थापित ‘शताब्दी घर’मा ‘भजन–कीर्तन साँझ’ सम्पन्न गरिएको छ। कार्यक्रमको उद्देश्य संस्कृति, कला र मौलिक परम्पराको संरक्षण तथा संवर्द्धन गर्दै स्थानीय युवाहरूलाई सांस्कृतिक चेतनासँग जोड्ने रहेको आयोजकहरूले बताएका छन्।
शताब्दी घरका परिकल्पनाकार आरके अदीप्त गिरीका अनुसार, ‘संस्कृति आफैंले गरीब–धनी छुट्याउँदैन, तर संस्कृति अपनाउनेहरूले छुट्याइहाल्छन्। संस्कृति भनेको सुधार्दै ल्याइएको संस्कारलाई सर्वोत्तम रूप दिएर समाजले आफूलाई अघि बढाउने एउटा प्रभावशाली साधन हो।’

उनका अनुसार, संस्कृति व्यवहारमा नआएसम्म जीवित रहन सक्दैन। ‘व्यवहारमा नल्याइएको संस्कृति जति नै घतलाग्दो भए पनि मरेर जान्छ,’ गिरीले बताए। त्यही चिन्तनबाट प्रेरित भएर पर्वते युवाहरूले एकजुट भई ‘भजन कीर्तन सत्सङ्ग साँझ’ आयोजना गरेको उनले जानकारी दिए। ‘कला अनि संस्कृतिबिनाको शहर आत्माबिनाको शरीरजस्तै हो। सुन्दर सहर बन्न कला–संस्कृति, सम्पदा र सभ्यता बाँच्नुपर्छ,’ गिरीले जोड दिए।
पर्वत युवा सञ्जालको *‘भजन मण्डली’*का संयोजक वसन्त बास्तोलाका अनुसार, ‘हाम्रो मौलिक संस्कार अन्तर्गतको भजन संस्कृति वैदिक परम्परासँग जोडिएको छ। यसको उचित संरक्षण गर्नुपर्छ भन्ने सोचले नै यो कार्यक्रम आयोजना गरिएको हो।’
उनले थपे, ‘संस्कृति, संस्कार र परम्परालाई परिस्कृत तुल्याउँदै जानु हरेक पुस्ताको कर्तव्य हो। पुरानो संस्कारलाई वर्तमान चेतनाको कसीमा घोटेर व्यवहारमा ल्याउँदा मात्र संस्कृतिको जगेर्ना र विकास सम्भव हुन्छ।’
गिरीले भने, ‘हाम्रा संस्कृतिहरूमा हामीलाई सम्पन्न तुल्याउने स्रोत, सम्पदा र ज्ञान लुकेको हुन्छ। पुर्खाको विश्वासलाई अन्धविश्वासमा परिणत गर्ने मूल तत्व अज्ञानता हो, र अज्ञानताको जड बेवास्तामा लुकेको हुन्छ। कुसंस्कारलाई त्यागेनौँ भने हाम्रो साख गिर्नेछ।’

उनका अनुसार, कुश्माको सिर्जनशील विकासका लागि साना–साना सहयोगले पनि ठूलो रूप लिन सक्छ। ‘नगरबासीले एक–एक बुँद सहयोग गरे अथाह परिणाम देखिनेछ,’ गिरीले बताए। युवा सञ्जालका संयोजक समुन्द्र गिरीले भने, ‘सांस्कृतिक सुन्दरताले भरिएको कला घर ‘शताब्दी घर’ आफैंमा एउटा जीवित इतिहास हो। यहाँबाट कार्यक्रम सुरु गर्दा हाम्रो आफ्नै संस्कृतिप्रतिको सम्मान अझ बढ्छ भन्ने सोचका साथ नै यो स्थान रोजिएको हो।’
उनका अनुसार, ‘धुर र आनामा खुम्चिँदै गएको समाजलाई स्वच्छ चिन्तनको ठाउँ आवश्यक छ, र शताब्दी घर त्यही आवश्यकताको केन्द्र बन्न सक्नेमा हामी आशावादी छौं।’
शताब्दी घरका शिल्पकार आरके अदीप्त गिरीले भने, ‘समाज, संस्कृति र सभ्यताको कथा अब एउटै साझा मञ्च ‘शताब्दी घर’बाट बोलिनेछ।’ उनका अनुसार, तीन सय वर्ष पुरानो यो घरमा पहाडी वास्तुकला अवलोकन, अध्ययन र अनुसन्धानका लागि अद्वितीय अवसर रहेको छ।



