काठमाडौँ: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी महाधिवेशन यसपटक आफूले दिएको निर्देशनात्मक सम्बोधनपछि कुनै छलफल नगरी सम्पन्न हुने बताएका छन्।
एमाले केन्द्रीय शिक्षा तथा मानव स्रोत विभागले शुक्रबार आयोजना गरेको ‘विद्वत वर्ग अन्तरसंवाद’ कार्यक्रममा उनले भने, ‘यो महाधिवेशनमा मैले एकतर्फी रूपमा सम्बोधन गर्नेछु। मेरो उद्घाटन मन्तव्य आउँछ र त्यत्तिमै कार्यक्रम समाप्त हुन्छ। त्यसमा छलफल हुने छैन।’
उनका अनुसार, छलफलको समय राखिए महाधिवेशन पाँचदेखि सात दिनसम्म लम्बिन सक्ने भएकाले त्यो व्यावहारिक नभएको उनले बताए। ‘त्यति लामो समय हामीसँग छैन,’ ओलीले भने। ‘अहिलेको प्राथमिकता भनेको विघटित प्रतिनिधिसभा पुनर्स्थापना गर्नु हो। त्यसपछि सुविस्तासँग नीति निर्माण र कार्यान्वयनमा लाग्नेछौं।’
उनले अहिलेको मुख्य राजनीतिक उद्देश्य प्रतिनिधिसभा पुनर्स्थापना नै भएको दोहोर्याउँदै भने, ‘राष्ट्रिय राजनीतिको केन्द्रबिन्दु यही हो, उपलब्धि हासिल गर्नुपर्ने यहीँनिर छ, र हामीले प्रयास पनि यहीँ केन्द्रित गर्नुपर्छ।’
नेतृत्व चयन र पार्टी पुनर्गठनको विषय उठाउँदै केही नेताहरूले आन्तरिक असन्तोष देखाएपछि मात्रै महाधिवेशन एक वर्ष अगाडि सारिएको उनले बताए। ‘केही साथीहरूले पुनर्गठन र नेतृत्व चयनको कुरा अनुशासनहीन ढंगले उठाए, त्यसैले एक वर्षपछि गर्नुपर्ने महाधिवेशनलाई हामीले अगाडि सारेका हौं,’ ओलीले भने।
उनले थपे, ‘काम नगर्नेहरू गए पनि फरक पर्दैन, काम गर्नेहरू रहन्छन्। को सक्रिय छ, को निष्क्रिय—सबै कार्यकर्ताले देखेका छन्। मूल्यांकन उनीहरूले नै गर्छन्।’







