काठमाडौँ- भारतको संसद् भवनको भित्तामा बनाएको ‘अखण्ड भारत’को नक्साका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल र पराराष्ट्रमन्त्री एनपी साउदको भनाई आपसमा बाझिएको छ। जेठ १७ देखि २० गतेसम्म भारतको भ्रमणमा गएका प्रधानमन्त्री र परराष्ट्रमन्त्रीबीच नै कुरा बाझिएको हो।
भारतीय समकक्षी नरेन्द्र मोदीसँग भारतीय संसदको नयाँ भवनमा बनाइएको अखण्ड भारतको नक्साका विषयमा गम्भीर छलफल भएको प्रधानमन्त्रीको दाबी छ। राष्ट्रिय सभा बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफमा प्रधानमन्त्री प्रचण्डले भारतीय पक्षसँग आफूले नक्साबारे कुरा गर्दा ‘यो सांस्कृतिक नक्सा हो, राजनीतिक नक्सा होइन’ भनेर आफूलाई भनिएको उनको भनाइ छ।
यसअघि परराष्ट्रमन्त्री एनपी साउदले अखण्ड भारतका विषयमा भारतीय पक्षसँग कुनै पनि कुराकानी नभएको बताएका थिए। नेपाली भूभाग समेटेर भारतले संसद भवनमा राखेको नक्साको बारेमा नेपाललाई जानकारी नै नभएको बताएका थिए।
‘जानकारीमा नै नभएको विषयमा विरोध गरिरहन नेपाललाई जरुरी छैन,’ प्रधानमन्त्रीकै भारत भ्रमणका सदस्य साउदले भारतीय सञ्चार संस्था आजतकसँग कुराकानी गर्दै भनेका थिए, ‘फेरि यो सीमाको विषय होइन। ८२५ वर्षपहिलेका गणराज्यको नाम अंकित गरेर फेसबुकमा आएको हो। यो विषयमा हाम्रो कुनै कुराकानी भएन। जुन विषयमा कुराकानी नै भएन त त्यस विषयमा मैले के भनूँ?’ यो विषयमा नेपालको कुनै धारणा पनि नरहेको उनको भनाइ थियो।
अघिल्लो आइतबार उद्घाटन भएको भारतको नयाँ संसद् भवनमा ‘अखण्ड भारत’को नक्सा भित्तामा अंकित नक्साका विषयमा नेपालमा विरोध भइरहेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणअघि यो विषयमा नेपाली सरकारी पक्ष मौन थियो। त्यसपछि पहिले परराष्ट्रमन्त्री साउदले आफूहरूलाई सरोकार नै नभएको बताए भने राष्ट्रिय सभामा पुगेर प्रधानमन्त्री दाहालले यस विषयमा भारतीय समकक्षी मोदीसँग कुराकानी भएको जिकिर गरे।
भारतको संसद भवनमा राखिएको नक्सामा ‘अखण्ड भारत’ भन्दै नेपालको लुम्बिनी र पाकिस्तानको तक्षशीलासम्मका क्षेत्रलाई समावेश गरिएको छ। अखण्ड भारतमा भारतवर्षका पुराना राज्य र सहरलाई समावेश गरिएको बताइँदै आएको छ।
भारतका संसदीय मामिला मन्त्री प्रल्हाद जोशीले अखण्ड भारत अंकित मुरालको फोटो राख्दै ‘दृढता स्पष्ट छ- अखण्ड’ भारत भन्दै ट्वीट गरेका छन्। बीजेपी सांसद मनोज कोडाकले ‘अखण्ड भारत’ले शक्तिशाली र आत्मनिर्भर भारत भन्दै ट्वीट गरेका छन्। ‘नयाँ संसद् भवनमा अखण्ड भारत। यसले हाम्रो शक्तिशाली तथा आत्मनिर्भरताको प्रतिनिधित्व गर्छ’ उनले लेखेका छन्।
भारतीय सत्तारुढ दल भाजपाको मातृसंस्था राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस)ले ‘अखण्ड भारत’मा हालको अफगानिस्तानदेखि थाइल्यान्डसम्मका भूभागलाई समेटिने बताउँदै आएको छ। २४ र २५ फेब्रुअरी २०२३ मा भएको एबीपी नेटवर्कको कार्यक्रम ‘आईडियाज अफ इन्डिया’मा अखण्ड भारतका विषयमा छलफल भएको थियो।
सम्मेलनमा आरएसएसका सरकार्यवाह डा. कृष्ण गोपालले यो विषयमा कुराकानी गरेका थिए। अखण्ड भारतको विषय राजनीतिकका साथसाथै सांस्कृतिक विषय पनि भएको टिप्पणी गरेका थिए। यद्यपि यो विषय राजनीतिकभन्दा बढी सांस्कृतिक विषय भएको उनको भनाइ थियो।
‘हामीलाई नेपाल, भुटान, म्यानमार र श्रीलंकाले भारतलाई आफ्नो ठुल्दाइ ठानेको देखिन्छ। अहिले पाकिस्तानमा पनि धेरै विश्वविद्यालयमा पाकिस्तान जन्मेको चर्चा छ। इतिहासका प्राध्यापकहरू पाकिस्तान १४ अगस्ट १९४७ मा जन्मिएको कुरामा सहमत छैनन्। उनले ‘मोहनजोदारो’लाई आफूसँग जोड्छन्, तक्षशीलालाई आफूसँग जोड्छन्,’ उनले भनेका थिए।
भारतले नेपाली भूभाग समेटेर अखण्ड भारतको नक्सा जारी गरेको विषयमा नेपालमा विरोध भइरहेको छ।


