काठमाडौँ: निर्वाचन आयोगले अनलाइन प्रणालीमार्फत नाम दर्ता गर्न सकिने नयाँ व्यवस्था बिहीदेखि लागू गरेको छ। नयाँ व्यवस्था लागू भएसँगै अब राष्ट्रिय परिचयपत्र लिएका नागरिकले मतदाता नामवलीका लागि निर्वाचन कार्यालय धाउन पर्ने बाध्यता हटेको छ।
नयाँ व्यवस्थाअनुसार परिचयपत्रमा रहेका विवरण स्वतः मतदाता नामवलीमा समावेश हुनेछन्। कार्यबाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार अब अनलाइन फारम भर्नेबित्तिकै आयोगले राष्ट्रिय परिचयपत्रमा सुरक्षित बायोमेट्रिक विवरण प्रयोग गरी नामवली तयार गर्नेछ। उनका अनुसार, यो प्रणालीले मतदाता दर्ता प्रक्रियालाई सहज, छरितो र त्रुटिरहित बनाउन सहयोग गर्नेछ।
बुधबार रातिसम्म प्राविधिक तयारी सम्पन्न गरी आज (बिहीबार) बाट यो व्यवस्था औपचारिक रूपमा लागू गरिएको जानकारी उनले दिए।आयोगका अनुसार राष्ट्रिय परिचयपत्र नलिएका नागरिकले भने अनलाइन फारम भरेपछि स्थानीय निर्वाचन कार्यालयमा पुगेर बायोमेट्रिक विवरण उपलब्ध गराउनुपर्नेछ।
सरकारले ३० कात्तिकसम्म मतदाता नामवली दर्ताको समय सीमा तोकेको छ। समय सकिन तीन दिन मात्र बाँकी रहँदा ठूलो संख्यामा नागरिक दर्ता हुन बाँकी रहेकाले आयोगले यो वैकल्पिक प्रक्रिया सुरू गरेको हो।
आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचनको मिति तोकिएको छ। अनलाइनमा मतदाता नामावली दर्ता गर्न असहज भएको भन्ने गुनासो आएपछि प्रधानमन्त्री सुशीला कार्कीले चासो देखाउँदै तीन बुँदे निर्देशन दिएकी थिइन्। उनले मतदाता नामवली दर्ता कार्यलाई छिटो, छरितो र प्रभावकारी बनाउन प्रधानमन्त्री कार्कीले तीन बुँदे निर्देशन पनि दिएकी थिइन्।


