फेब्रुअरी महिनाको अन्तिम साताको एक रात काम सकेर सुत्ने तरखर गर्नुअघि राखनधारन मिलाइरहेका बेला बाबुराम तुम्वापो लुङाको भिडियो कल आयो।
यताबाटः ‘सेवारो लुङा! के छ हो खबर?’
उताबाट: सेवारो हो लुङा! हैन तपाईंको ढुंगावाला प्रेम मेरो झोलामा आइपुगेको छ भनेर पो हो!
यताबाट: लु म काममै छु। यतै निस्केर जानुस् कति टाइम लाग्छ?
उताबाट: ‘५/७ मिनेटमा आइपुग्छु।’
हितैषी मित्र गिरिराज बाँस्कोटाका दुई कृति ढुंगाको प्रेम कवितासंग्रह र कञ्जनजङ्घाको काखबाट नियात्रासंग्रह बाबुरामजीको झोलामा बसेर मेरो हातसम्म आइपुगे।
पूर्वी नेपाल लिम्बुवानको फेदेन (फिदिम)बाट पुर्तगालको लिस्बन आइपुग्न झन्डै डेढ महिना लाग्यो। त्यहाँदेखि यहाँसम्म आइपुग्न दुई किताबले पाएको साथको फेहरिस्त पनि गज्जब स्मरणीय बन्यो।
पुस महिनाको २७ गते मध्यदिन फेदेनस्थित गिरिजीको डेरा निवासबाट हिडेका थिए दुई किताब। यात्रा लिम्बुवानबाट सुरु भएर पृथ्वीको उत्तरी गोलार्धको पश्चिमी भागमा पुर्तगाल पुगेर अन्त हुनेवाला थियो। घुर्मैलो मौसम, पहारिलो घाम, पत्रकार महासंघ तेह्रथुमका अध्यक्ष अमृत बास्तोलाले झोला भिरे र आठराई हिँड्न बाइक स्टार्ट गरे। उनकै साथ लागेर यात्रारम्भ भएको थियो।
अमृतजीसँगको उठबस दशक पुग्यो। रेडियो जीवनका साथी। उनीसँग पनि लेख्ने पेसासम्बन्धी संघर्षका अनेक कहानी छन्।
रिपोर्टर हुँदा मिडिया हाउसको खप्की, समाचार लेखेबापत र नलेखेबापत पारिने सास्तीदेखि लिएर सूचना संकलन गर्दा भोगेका अनेक घटना छन्। पछि आफैँ अनलाइन मिडिया हाउस चलाउनु भयो अमृतजीले। त्यसपछि रिपोर्टरदेखि सम्पादकसम्मका भूमिकाले थोपर्ने जिम्मेवारी, दायित्व र अवसरसँग जुध्नुभयो। कहिले समाचार छापेकोमा धम्की, कहिले नछापेकोमा खप्की खानुभयो। कहिले कि जागिर खानु र लेख्न छाड्नु, कि लेख्न छाड्नु र जागिर खानु भनी आदेश। यस्ता अनेक हन्डर र ठक्करले अमृतजी झनै निखारिनु भयो। अहिले पत्रकार महासंघ जिल्ला शाखा तेह्रथुमको नेतृत्व सम्हालिरहनु भएको छ।
अमृतजीले पोखरी उच्च मावि झातेढुंगामा कार्यरत सरु मिसको हातमा किताब छोड्नु थियो। सरु लिम्बू मिससँग प्रत्यक्ष भेटघाट छैन, भौतिक र भर्चुअल बोलचाल पनि छैन। तर मकहाँ हिँडेका किताबको भने साक्षात्कार अनि यात्रा क्या गज्जब भो! सरु मिसको नाममा मैले छ कक्षा पढ्दा स्कुलमा आउनुहुने कोपिला राई मिसको अनुहार झलझली सम्झिएँ। मिसप्रतिको त्यो बाल कौतुहलता, उत्सुकता अनि अविश्वास।
उत्तिबेलै जिल्लाको एक नम्बर धनी स्कुल भनेर नाम याद गरेको पोखरी उमावि २०५४ सालको दिपावली मेला भर्न आमासँग पुगेको थिएँ म। आमासँगै मेलाहाट भरेको र आफ्नै अगाडि आमा धान नाचेको हेर्ने मौका त्यो नै अन्तिम भयो सायद।
पछि रेडियोकर्मी भएपछि निकै पटक पुगेँ हुँला। सामुदायिक रेडियो स्थापनाका दक्षिण एसियाली अभियन्ता डाक्टर रघु मैनाली, पत्रकारिता जगतका कुशल गुरु मोहन मैनालीले स्कुले जीवन बिताएको उक्त विद्यालयको प्रांगण वरिपरि घुमीघुमी निक्कै वटा सार्वजनिक कार्यक्रमको प्रत्यक्ष प्रसारण गरेको छु। रेडियो कार्यक्रम रेकर्डिङका लागि छातेढुंगावासी कृषकको सुन्तला बगान, भैंसी गोठ, बाख्रा खोर घुमेका घटना ताजै छन्।
डेरा पुगेर चकमन्न मध्यरातको बेला दुवै कृति फरररर पल्टाएँ। अनि गिरिजीसँगको पहिलो भेटमा मन फर्काएँ।
माघ महिनाको एक बिहान सरु मिस धरान झर्नुभयो। झोलाको कुनामा दुई किताब लुसुक्क छिरे र मिससँगै हिँडे। नयाँ कच्ची बाटो कञ्जनजङ्घा र फक्ताङलुङ हिमालको पानी सोहोरेर बग्ने तमोर नदीको किनारैकिनार भएर जान्छ। पितापुर्खाहरुले ढाकरको भारी खेपेर हिँडेको गोरेटो अहिले सडक बन्दैछ। गिरिजीले नियात्रा लेख्ने क्रममा त्यही बाटो भएर तमोरको दोभान टेक्नु भएको छ, अनि शिर छुन जानू भएको छ। यसपालि भने त्यही बाटो किताब यात्रा गरिरहेथ्यो।
सरु मिससँगको यात्रा धरानको विजयपुर पगेर टुंगियो। त्यहाँ दाइ भगत चोङबाङको दरवारमा केही हप्ता बसेर बल्ल यता हिँड्नु थियो ती किताबले। विजयपुर डाडासँग मेरो शीतल आत्मियताभाव छ। बसन्तको कुनै एउटा याममा म बुढासुब्बाले रोपेका बाँसमा लेखिएका नाम पढ्न पुगेको छु। ग्रीष्मको गरम निष्पट मध्यरातमा डाँडाको चौतारीबाट झिलिमिलि धरान हेरेको छु। कुनै रात सुमधुर सम्बन्धका पीडादायी अन्तले जीवनमा ल्याएका व्यथा ओढेर कटाएको छु। उदास मान्छेका निराश सुक्सुकाहट झैं लाग्ने झरी सुन्दै पनि निदाएको छु।
हुन त धरानसँगको साइनो भानुचोक, देशीलाइन, बाझोगरालगायतका स्थानसँग धेरै छ। बेलायत हुनुहुने अमित याक्थुङ्वाजी, धरानमै अहिले हुनुहुने सन्तोष कुरुम्वाङजीसँग बिताएका दर्जनौं याद छन्। तर पनि विजयपुर विशेष लाग्छ मलाई।
कविताको यात्रा ‘बगिरहनेछ निरन्तर’बाट आरम्भ हुन्छ अनि ‘यात्री’सम्म पुग्छ। यात्रामा कहीँ पनि रोमान्स भेटिने छैन। स्मृतिका नुनिला यादहरुको रसास्वादन हुनेछ।
फागुन महिनाको दोस्रो हप्ता बल्ल पुर्तगालका लागि भनेर हिँडे ‘कञ्जनजङ्घाको काखबाट’ र ‘ढुंगाको प्रेम’। साथ लाएर ल्याउँदै थिए विजय चोङ्वाङ। अन्तमा तुवाँलो लागेको घुर्मैलो एउटा दिन काठमाडौँको आकाश भएर ८ हजार ५ सय किलोमिटर टाढा लिस्बनका लागि उडे। फेब्रुअरी २८ को मध्यरात बल्ल यात्रा मेरो डेरासम्म आई पुग्यो।
डेरा पुगेर चकमन्न मध्यरातको बेला दुवै कृति फरररर पल्टाएँ। अनि गिरिजीसँगको पहिलो भेटमा मन फर्काएँ। त्यो बेला पुष्पलाल (मध्यपहाडी) लोकमार्गको १० नमुना सहरको सूचीमा परेको तेह्रथुमको बसन्तपुर बजारमा वर्षको पहिलो दिन गुराँस महोत्सवको हुन थालेको थियो।
त्यही मौका पारेर कुनै एउटा वर्षको महोत्सव हेर्न गिरिजी, युवा नेता सुमन लामा, विजय आङ्देम्बेलगायतको टोली आउँदा भेट भयो। म्याङ्लुङ बजारको जर्नी होटलमा आधारातसम्म तोङ्वाको चुस्की लिँदै ‘मेड इन फेदेन’वाला अर्गानिक जोक्सले थकाई लाग्ने गरी हसाएको क्षण सम्झेर अझै पनि मुसुक्क हुन्छ मन।
गिरिजी नागरिक दैनिक पत्रिकालाई खुराक बटुल्न गुराँसको राजधानी आएका थिए। भारी कसेरै लगे। र मलाई भने साहित्य चौतारी रेडियो कार्यक्रमको एक एपिसोड पुग्ने कविता छोडेर गए। उत्तिबेलै कवि हुन्छन् यी पत्रकार भन्ने मनमा परेको मलाई चाँहि परिसकेको थियो। म यता कुहिरे गाउँ पसेपछि थाहा भयो यी कवि अब आख्यान लेख्ने दमवाला पनि भइसकेछन्।
ढुंगाको प्रेम गिरिजीको पहिलो साहित्य सन्तान हो। हजुरसामु २६ कविता फिँजारिदिन्छ। गिरिजीले २०७८ मा पूर्णता दिनु भएको यो पहिलो सन्तानको नाम ‘ढुंगाको प्रेम’ भएपनि ढुंगा जस्ता कठोर भाव कतै पढ्न पाइन्न। बरु ढुंगाले थिलथिलो भएका सुस्केरा सुनिन्छन्। समाजका दुखाइहरु भेटिन्छन्।
लिम्वुवानमा हुर्केर होला, ढुंगामा प्रेम भेट्छन् उनी। लिम्बुभाषामा ढुंगालाई ‘लुङ’ भन्छन्। लिम्बुहरुको लुङ याङ (जन्मसंस्कार), युप्पालुङ (विवाह संस्कार), सुत्लुङ (मृत्युसंस्कार), हात्लुङ (घरको चुला)देखि चोत्लुङ (सिद्धिप्राप्तिस्थल)सम्मले ढुंगासँग सम्बन्ध राखेको हुन्छ।
कविताको यात्रा ‘बगिरहनेछ निरन्तर’बाट आरम्भ हुन्छ अनि ‘यात्री’सम्म पुग्छ। यात्रामा कहीँ पनि रोमान्स भेटिने छैन। स्मृतिका नुनिला यादहरुको रसास्वादन हुनेछ। तर अन्तिममा ‘यात्री’ शीर्षकमा लगेर जीवनप्रतिको आशलाई जगजगी बनाएका छन् कविले।
‘निर्मल तर अनिश्चित बोधगम्यता बोकेर
एउटा यात्री हरेकपल्ट लड्दै
हरेक पल्ट उठ्दै यात्रा गर्छ’
कवितासंग्रहकै नाम बोक्ने कविता ’ढुंगाको प्रेम’ पुस्तकभित्र भने दोस्रो सूचीमा पढ्न पाइन्छ। खासमा यसभित्र गिरिको प्रेमपूर्ण रुपमा फक्रिएको समयबोध हुन्छ। प्रेमको बीजारोपण त ‘सम्झौटोको स्वर’मै भएको भेटिन्छ। जीवनको पहिलो प्रेमानुभुति उनले गाढा स्वादमा घोलेका छन्। त्यसपछी ‘अन्तिम कप कफी’मा उहाँको प्रेम झ्याँगिन्छ। अनि बल्ल आइपुग्छ ‘ढुंगाको प्रेम’मा उहाँको फक्रिएको प्रेम यात्रा–
‘एउटै बेडमा सिरानी सिमाना बनाएर सुतेको सम्झना
कपडा फेर्ने बेला मेरो आँखामा तिमीले बाँधेको सलको पट्टी
……।’
यति पढिसकेपछि लाग्छ सायद कविजीको प्रेमिकासँग दरार सुरु भयो-
‘लाग्छ तिमी बिर्सने योजनामै थियौ
तिमी ढुंगाझैं बन्दै गयौ
यता म ढुंगालाई प्रेम गर्न थालेँ।’
जब ‘पृथकता’ शीर्षक पढिन्छ तब सम्बन्धमा दरार छ्याङ्गै हुन्छ। त्यसपछि ‘सम्झनाको कथा’मा पनि कविले आफ्नो प्रेम वियोग पोखाउछन्। ‘सम्झनाको गोरेटो’मा लगेर प्रेमिकाले अरुकै हातबाट सिउँदो सजाएको उप्काउछन् तर प्रेमिकालाई अन्तिम पटक भने संग्रहको सत्रौं कविता ‘र तिम्रो लागि’ शीर्षकमै प्रेम भाव पोखाएको भान हुन्छ।
आखिर प्रेम त प्रेम नै भएको छ
सत्यलाई कस्ले छेक्न सक्छर?
उहीँ भएर
सुकोमल यादहरु
प्रेमका अगम्य रहरहरु
तिम्रो लागि
र, तिम्रो लागि।
कविले ’क्षितिजपारिको मान्छे’ शीर्षकमा चाहिँ व्यक्त गर्न नसकेका प्रेमिल गुनासा, उनेका पुराना गन्थनहरु एकतर्फी प्रेमिकालाई सुनाएका छन्। र ‘यात्री’ लाई सुम्पिएर संग्रहको अन्तिम पाना छोपिदिएका छन्।
‘ढुंगाको प्रेम’मा समाज र सत्ताप्रतिको असन्तुष्टि पनि ओकल्छन्। ‘समाजवादको यो यात्रा’,‘भगवानलाई पनि किन्ने’, ‘अँध्यारोमै जुन टल्किन्छ’ आदि कवितामा उनको असन्तुष्टि पोखिएको छ।कवितासंग्रहभरि गिरिजीको मनोभाव बढि उदास भेटिन्छ। ‘नयाँ वर्ष’ शिर्षकमा पनि उदासी नै छचल्काउछन्ः
‘ओ नयाँ भनिएको नयाँ वर्ष
यसपल्ट पनि तिम्रो नाममा
कच्याक कुच्चुक गुम्सिएका रहरहरुको अर्थ
दःखको भारी
यहि थुम्किलो माथि
साँचेर हिडिरहेछौं।’
अब कञ्चनजङ्घाको काखबाटतिर पुगेर बात मारौँः
पृथ्वीको दुई ठूला टेक्टोनिक प्लेटहरु करोडौँ वर्ष अघिदेखि एक अर्काबीच धसिएर उठेको हिमालय रेन्जको पूर्वीभागमा अवस्थित सबैभन्दा अग्लो र विश्वको तेस्रो अग्लो चुचुरो हो कञ्चनजङ्घा। पूर्व भुटान आसपासदेखि शुरु भएर अफगानिस्तान आसपाससम्म लमतन्न परेको हिमालय रेन्जमा हजारौं चुचुरा छन्। सयौं नदि जन्मिएका छन्।
यिनै हिमाली शिखर परिवारको एक सदस्य कञ्चनजङ्घाको काखैमा बसेर गिरिजीले जन्माए नियात्रा संग्रह। यो उनको दोस्रो कृति हो। लेखकले घुमेर लेखेका सबै ठाउँ मैले पढी/छिचोलिसकेको छैन। तैपनि लेखुँ लागेको हुटहुटी थाम्न सकिनँ।
यसको मुख्य विशेषता भनेको कञ्चनजङ्घाको काखमा बसेर पूर्व चिवा भन्ज्याङदेखि पश्चिम झुलाघाटसम्म यात्रा गर्न पाइन्छ। पूर्व-पश्चिम पुष्पलाल (मध्यपहाडी) लोकमार्गको विस्तृत यात्राका लागी ३८ पेज छिचोल्न पर्ने हुन्छ। पहाडैपहाड पूर्वपश्चिम यात्रा गर्ने योजना भए यही किताब तपाइँको कुशल गाइड हुनेछ। यात्राको रहर छ तर भौतिक रुपमा सक्नुहुन्न भने पनि यहि किताबले तपाइँलाई यात्रा गरेको आभाष दिलाउने छ।
बाटोमा भेटिने सहर, गाउँ, त्यहाँको हावापानी, मान्छेका रहनसहन, खानपान, उनीहरुका दुखसुखसँगै घुलमिल हुन पाइन्छ। किताबका बाँकी सबै पानाहरुमा कञ्चनजङ्घा हिमालको दक्षिण पश्चिम फेद घुम्न पाइनेछ।
नियात्रा संग्रहमा लेखकले १९ ठाउँ घुमाउँछन्। हिमाल उठाउन धर्तिले गरेको संघर्षबाट बनेका दर्जनौं पोखरीमध्ये यहाँ तीन वटा पोखरी घुम्न पाइने छ।
नियात्रा संग्रहमा लेखकले १९ ठाउँ घुमाउँछन्। हिमाल उठाउन धर्तिले गरेको संघर्षबाट बनेका दर्जनौं पोखरीमध्ये यहाँ तीन वटा पोखरी घुम्न पाइने छ। तिम्बुङ पोखरी, साधुटार र माइपोखरी।
गिरिजीले कञ्चनजङ्घा हिमालको छिमेकी फक्ताङलुङ पनि पुर्याएका छन्। लिम्बू (याक्थुङ मुन्धुम)हरुको आस्थाको धरोहर हो फक्ताङलुङ। मुन्धुमका अधिकांश भाग यही हिमालको छत्रछाया वरपर घुम्छन्।
घुमन्ते पत्रकार न परे गिरि, कहिले तितेमाछाको शिकार गर्न लैजान्छन्, कहिले लोपोन्मुख लजालु जनावर रेडपान्डा हेर्न लैजान्छन् र आफू चाहिँ टन्न फोटो खिचेर फर्कन्छन्। कहिले विकट बर्मे गाउँ लैजान्छन्। अनि रैथाने अर्गानिक जीवनमा आधुनिक सहरिया जीवन शैलीको संक्रमणबारे चिनाउँछन्। घरी चौँरी डुलाउनेका कथा पछ्याउदै माथि लेकका खर्कतिर डुलाउँछन्। नियात्रा संग्रहमा बहुमुल्य जडिबुटी केन्जो फुल हेर्न उच्च पहाड उकाल्न पनि माहिर देखिएका छन्। केन्जोको अद्भुत सौन्दर्यानुभुतिसँगै उसका दुःख पनि देखाउँछन्।
मिक्किफुङ (जीवन फूल) नजोडी बसेका गिरिजीले गुराँसको राजधानी पुगेर छातिभरी गुराँस टाँसेको अनुभूति साटेका छन्। हाइकिङको सम्भावना देखाउँदै पानीटारदेखि श्रीअन्तु लैजान्छन्, पौवाभन्ज्याङदेखि लेकको बाटो सन्दकपुर हिडाउँछन्। नियात्रामा ओलाङ्चुङगोला हुँदै टिप्तला पुगेर चीनको सिमाना टेक्ने लोभ देखाउन पनि भ्याएका छन्। लुकेको भन्ज्याङमा थकाई मार्न लगाएर फाल्गुनन्दलाई सम्झने समय पनि दिएका छन्।
कितावको अर्को गज्जब विशेषता चाहिँ छापिएका रंगिन फोटोले जीवन्तता थपिएको छ। कञ्जनजङ्घाको काखबाटमा लिम्बुवान भुगोलको चित्र समेटिएको छ।
किताब पाएपछि लेख्ने बोलकबोल त फरफराक भयो। अब एउटा शर्त चाहिँ बाँकी नै छ। गिरिजीलाई यसैवर्षको वर्थ डे गिफ्ट याक्थुङ मुन्धुम चढाउँछु भनेको थिएँ। जन्मदिन आएर गयो। चढाउन बाँकी नै रह्यो।


