काठमाडौँ- कोशी प्रदेश नामकरण भएपछि उत्पन्न विवाद समाधान गर्न कोशी प्रदेश सरकारले वार्ता टोली गठन गरेको छ। कोशी प्रदेश नामभएसँगै पहिचानवादीले निरन्तर आन्दोलन गरेकाले त्यसलाई समाधान गर्न वार्ता टोली गठन भएको मुख्यमन्त्री कार्कीका प्रेस सल्लाहकार महेन्द्र विष्टले जानकारी दिए।
प्रदेश सरकारले पहिचानवादीसँग वार्ता गर्न खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री तिलकुमार मेन्याङ्वोको नेतृत्वमा तीन सदस्य वार्ता टोली गठन गरेको हो। सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारी र सरकारका प्रवक्ता भक्तिप्रसाद सिटौला टोलीका सदस्य छन्।
आन्दोलनलाई मत्थर बनाउन तथा समस्या समाधान गर्न जेठ १५ गते मुुख्यमन्त्री हिक्मतकुमार कार्कीले पहिचानवादीसँग आन्दोलनलाई हिंसात्मक नबनाउन र समस्या समाधान गर्नका लागि वार्तामा आउन आह्वान गरेका थिए।
विभिन्न राजनीतिक दलका साथै प्रदेशसभाको बैठकको शून्य समय तथा विशेष समयमा पनि वार्ता टोली गठनका विषयमा चर्चा हुँदै आएको थियो।


