काठमाडौँ। ग्लोबल इक्विटी फन्डद्वारा व्यवस्थापन भइरहेको विशिष्टीकृत लगानी कोष नेपाल इम्प्याक्ट ग्रोथ इक्विटी फन्ड–१ ले सीमारहित बैंकिङ र भुक्तानी सेवा प्रवर्द्धन गर्ने लक्ष्यसहितको फिन्टेक कम्पनी जुनोमा रणनीतिक लगानी गरेको घोषणा गरेको छ।
जुनोलाई नेपाली फिन्टेक क्षेत्रमा हालै विकसित गरिएको एक महत्वपूर्ण इनोभेसनको रूपमा हेरिएको छ। अन्तरदेशीय बैंकिङ तथा भुक्तानी प्रणालीलाई सहज, किफायती र आधुनिक बनाउने लक्ष्यसहित निर्माण गरिएको यो प्लेटफर्म अमेरिकामा आधिकारिक अनुमति प्राप्त गरी सञ्चालनमा आएको हो। ‘बैंकिङ बियन्ड बोर्डर्स’ को अवधारणामा आधारित यसले विश्वभरका व्यक्ति, व्यवसाय र अवसरहरूलाई एउटै डिजिटल प्रवाहमा जोड्ने उद्देश्य राख्छ।
फिन्टेक कम्पनी जुनोको स्थापना सीमापार भुक्तानी प्रविधिमा अनुभवसम्पन्न सूचना प्रविधि उद्यमी बालकृष्ण जोशी को नेतृत्वमा भएको हो। यो समावेशी, बहुपक्षीय फिन्टेक प्लेटफर्मको रूपमा पहिचान बनाउँदै व्यक्तिहरू, व्यवसाय, मर्चेन्ट तथा वित्तीय संस्थालाई विश्वव्यापी बैंकिङ र भुक्तानी नेटवर्कमा सहज पहुँच उपलब्ध गराउँछ। कम्पनीले उत्कृष्ट विनिमय दर, छिटो सेवा र उच्च सुरक्षा प्रदान गर्ने दाबी गर्छ।
ग्लोबल इक्विटी फन्डका प्रबन्ध निर्देशक डा. मनीष थापा ले यो लगानी नेपालका लागि फिन्टेक क्षेत्रमा एक महत्वपूर्ण मोड भएको बताए।
उनले भने,“यो केवल लगानी मात्र होइन, नेपाललाई विश्वव्यापी फिन्टेक नक्सामा उभ्याउने दृष्टिकोण हो। उदीयमान र विकसित बजारहरूबीच वित्तीय समानता प्रवर्द्धन गर्ने दिशामा यो एक महत्वपूर्ण कदम हो।”
जुनोका संस्थापक जोशीका अनुसार,“यो लगानी जुनोको विश्वव्यापी वित्तीय समावेशीकरण र आर्थिक समानता स्थापित गर्ने मिशनको दृढ समर्थन हो। नेपालले सीमारहित बैंकिङ र भुक्तानी क्षेत्रमा दक्षिण एसियामा अग्रणी बन्ने क्षमता राख्छ। अन्तरदेशीय भुक्तानी प्रणालीलाई नयाँ उचाइमा लैजाने हाम्रो प्रयास सुरु भइसकेको छ, र यसका लागि नेपाल राष्ट्र बैंक पनि सकारात्मक छ।”


