काठमाडौं– बागमती प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले विद्यालयमा खटाइएका नर्सलाई विषय शिक्षकको रूपमा कामकाज गराउने विद्यालयलाई कारबाही गर्ने चेतावनी दिएको छ।
प्रदेश स्वास्थ्य मन्त्रालयले विज्ञप्ति जारी गर्दै विभिन्न स्थानीय तहमा कार्यरत विद्यालय नर्सलाई विषय शिक्षकको रूपमा कामकाज गर्न लगाउँदै आएको अनुगमन र निवेदनमार्फत जानकारी पाएको भन्दै कार्य रोक्न निर्देशन दिएको हो।
‘सबै स्थानीय तहमा कार्यरत विद्यालय नर्सलाई सोही कार्यविधिअनुसार कार्य गर्न गराउन अनुरोध छ,’ विज्ञप्तिमा उल्लेख छ। एक विद्यालय एक नर्स कार्यक्रम, २०७८ कार्यविधिको दफा ४० बमोजिम विद्यालय नर्सलाई शिक्षकको रूपमा काम लगाउन नहुने उल्लेख गरिएको छ।
एक विद्यालय एक नर्स कार्यक्रम आव २०७९÷८० सम्म ११९ वटा स्थानीय तहका ५१९ वटा विद्यालयमा लागू भएको छ।


