काठमाडौँ: बञ्चरेडाँडा ल्यान्डफिल साइटमा देखिएको समस्या समाधानका लागि ११ बुँदे निर्णय गरिएको छ। प्रभावित स्थानीयको स्वास्थ्य, मुआब्जा, वातावरणीय क्षति र फोहर व्यवस्थापन सुधारमा केन्द्रित ती निर्णय एक महिनाभित्र कार्यान्वयन गर्ने तयारी गरिएको छ।
निर्णयअनुसार विगतमा स्थानीयविरुद्ध चलाइएका मुद्दाहरू तत्काल टुंगो लगाई पत्राचार गर्न सम्बन्धित निकायलाई निर्देशन दिइएको छ। साथै, वातावरणीय प्रभाव मूल्यांकन छिटो समाप्त गर्न कन्सल्ट्यान्ट कम्पनीलाई लिखित प्रतिबद्धता माग्ने, र अर्को आर्थिक वर्षको बजेटमा आवश्यक जग्गा अधिग्रहण रकम विनियोजन प्रक्रिया अघि बढाइने छ।
त्यसैगरी, बन्चरेका स्थानीयलाई चालु आर्थिक वर्ष २०८२र८३ को घर–टहरा तथा बाली क्षतिपूर्तिका लागि काठमाडौं महानगरपालिकालाई पत्राचार गरिने छ। महानगरलाई एक महिनाभित्र प्रभावित परिवारलाई सिसडोलकै मापदण्डमा अद्यावधिक मूल्यांकनसहित राहत दिन निर्देशन गरिएको छ।
फोहोर लिचेट सिधै पानीको मुहानमा मिसिएको पाइएकोले यस्ता गतिविधि तत्काल रोक्ने, जिम्मेवारलाई कानुनी केसमा लैजाने तथा १५ दिनभित्र विज्ञ टोली बनाएर दीर्घकालीन समाधानको योजना तयार गर्न पनि बैठकले निर्णय गरेको छ।
यी हुन् ११ बुँदे निर्णय
१) स्थानीय जनतालाई विगतमा चलाइएको मुद्धाहरुको सम्बन्धमा तत्काल निर्णय गरी पत्राचार गर्ने ।
२) EIA प्रतिवेदन छिटो तयार गर्नको लागि Consultant Company लाई पत्राचार गरी सोको लिखित प्रतिवद्धता समेत लिने । आगामी आ.व. को बजेटमा EIA प्रतिवेदन अनुसारको जग्गा अधिकरणको लागि आवश्यक बजेट विनियजन गर्ने कार्य अगाडि बढाउने ।
३) बन्चरे डाँडाको स्थानीयहरुको लागि तत्काल आ.व. २०८२ / ८३ को घर टहरा तथा बालीको मुआब्जा दिनको लागि काठमाडौं महानगरपालिका लाई पत्राचार गर्ने साथ का.म.न.पा. ले समेत १ महिना भित्र बन्चरे क्षेत्रको अति प्रभावित स्थानीयलाई साविकमा सिसडोलबाट प्रभावित क्षेत्रलाई लिएको आधारमा बन्चरेको हकमा समेत सोहीलाई आधार मानी हालको मूल्यमा घर टहरा तथा बालीको क्षतिपूर्ति प्रदान गर्ने ।
४) फोहोर फाल्नको लागि तयार पारेको Caping layer भन्दा पनि बाहिर गएर वरपरको डाँडा कटान गरी फोहोर फालेको कारण लिचेट सिधै पानीको मुहानमा मिसिएको कारण कोल्पु खोला प्रदुषण भई स्थानीयको जीवन यापनमा ठूलो असर परेको हुँदा सो कार्य तत्काल रोकी उक्त कार्य गर्नेलाई कानुनी कारवाहीको दायरामा ल्याउने साथै लिचेटको उचित व्यवस्थाको लागी १५ दिन भित्र विज्ञको टोली तयार गरी फिल्ड निरीक्षण समेत गरी दीर्घकालिन समाधानको बाटो अपनाउने ।
५) बन्चरे र सिसडोलको अति प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुलाई विशेष कार्डको व्यवस्था वा अन्य कुनै माध्यमबाट काठमाडौँ महानगरपालिका भित्रको कुनै पनि सरकारी अस्पतालमा जुनसुकै रोग लागेमा समेत निशुल्क उपचारको व्यवस्था अबको १ (एक) महिना भित्र मिलाउने साथै शिक्षाको सम्बन्धमा समेत काठमाडौँ उपत्यका भित्रको स्कूल, कलेजहरुमा अनिवार्य कोटाको व्यवस्था अबको १ (एक) महिना भित्र गर्ने । साथै प्रभावित क्षेत्रका विधालयको भौतिक संरचना निर्माण गर्ने कार्यलाई प्राथमिकता दिने
६) फोहोर उत्सर्जन गर्ने नगरपालिकाहरुमा बन्चरे ल्याण्डफिल साइटका प्रभावितहरुलाई रोजगारीको अवसरका लागि मेयरस फोरम वा मन्त्रालयबाट आव्हान हुने बैठकमा एजेन्डाको रुपमा प्रस्तुत गर्ने ।
७) महानगरले २ वटा पालिकालाई दिँदै आएको ३/३ करोड रकमलाई वृद्धि गरि ६/६ करोड पुर्याउनका साथै अब आगामी आ.ब.मा थप गरी बेलकोटगढी नगरपालिकालाई समेत समावेश गर्न महानगरपालिकालाई अनुरोध गर्ने र फोहर उत्सर्जन गर्ने अन्य नगरपालिकालाई समेत अनिवार्य योग्दान गर्न शहरी विकाश मन्त्रालयले अनुरोध गर्ने ।
८) सिसडोल र कुडुले बन्चरे डाँडाको फोहरको कारण हाल सम्म विभिन्न रोग लागेर मृत्यु भएका परिवारलाई तत्काल उचित राहात दिन कार्यविधि तयार गर्ने ।
९) स्थानीयबाट फोहरमैला ढुवानी एवं विसर्जनमा भएको अवरोधलाइ तत्काल हटाउने र सुचारु गर्ने ।
१०) प्रस्तावित सहमतिका बुँदाहरू लगायत प्रभावित क्षेत्रका समस्या समाधानका लागि साई खेलेबुड लगायत भौतिक पूर्वाधारको विषयमा अनुगमन गर्न स्थानीय तहको प्रतिनिधिसमूह पुनर्गठन गर्ने, ककनी गाउँपालिकाबाट २/३ जना र देवकोटधारी नगरपालिकाबाट १ जना प्रतिनिधिको कार्यदल गठन गर्ने।
११) तिनिपिले–कुमारी गल्ली सडकको निर्माण गर्ने कार्यका लागि चालू आ.व.मा बहुवर्षीय गर्ने आवश्यक प्रक्रिया अगाडि बढाउने।



