काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ९ जिल्लाका बालबालिकालाई दादुरा–रुवेलाविरुद्धको खोप लगाउन सुरु गरेको छ। स्वास्थ्य सेवा विभागको बालस्वास्थ्य तथा खोप शाखाका जनस्वास्थ्य अधिकृत वसन्त श्रेष्ठले बिहीबारदेखि ९ जिल्लामा दादुरा रुवेलाविरुद्धको खोप अभियान सञ्चालन गर्न लागिएको बताएका हुन्।
सुनसरी, मोरङ, महोत्तरी, बर्दिया, दाङ, सुर्खेत, कैलाली, कञ्चनपुर बाजुरामा ६ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई दादुरा रुवेलाविरुद्धको खोप लगाइनेछ। देशका विभिन्न जिल्लामा दादुरा महामारी देखिएको र महामारी अन्य जिल्लामा फैलिन सक्ने जोखिम रहेकाले बालबालिकालाई दादुरा रुवेलाविरुद्धको खोप दिइन थालिएको हो।
उनका अनुसार यसअघि नेपालमा १३ जिल्लामा दादुरा रुवेला रोगको संक्रमण देखिएको थियो। दादुरा–रुवेला कोरोना भाइरसभन्दा पनि तीव्र गतिले फैलिने र मृत्युदर पनि उच्च रहेको छ।
एउटा दादुरा संक्रमितले १८ जनासम्म रोग सार्न सक्छ। मन्त्रालायले यसअघि जतिपटक खोप लगाए पनि अभियानका क्रममा खोप लगाउन आग्रह गरिएको छ। मन्त्रालयले अभिभावकलाई आफ्ना बालबालिकालाई नजिकैको स्वास्थ्य संस्थामा गई खोप लगाउनु अनुरोध गरेको छ।


