बुटवल- आइएमई समूहको लगानीमा बनेको लुम्बिनी केबलकार व्यावसायिक रुपमा सञ्चालनमा आएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबार औपचारिक रुपमा उद्घाटन गरेपछि केबलकार व्यावसायिक रूपमा सञ्चालनमा आएको हो। मोनोकेवल डिट्याचेबल सिस्टमका २५ वटा गोण्डोला रहेको केबलकारले दैनिक ६ हजार यात्रुलाई ओसारपसार गर्न सक्ने कम्पनीको भनाइ छ।
लुम्बिनी केवलकार उद्घाटन कार्यक्रमका कारण बिहीबार बस्ने भनिएको प्रदेशसभाको बैठक स्थगित भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल बुटवलमा केबलकार उद्घाटन गर्न आउने भएपछि प्रधानमन्त्रीको स्वागतमा मुख्यमन्त्री, सभामुखलगायत बुटवल जानुपर्ने भएकाले बैठक स्थगित गरिएको सभामुख तुलाराम घर्तीले जानकारी बताए।
लुम्बिनी प्रदेशसभाको सचिवालयले विशेष कारणवश बैठक स्थगित गरिएको उल्लेख गरेको छ। प्रदेशसभाको बैठक जेठ २६ गते बस्नेछ। बैठकमा प्रदेश सरकारको नीति तथा कार्यक्रम पेस गर्ने तय भएको छ।
केबलकार दैनिक सञ्चालनका लागि बुटवल उपमहानगरपालिका र तिनाउ गाउँपालिकासँग आईएमईले त्रिपक्षीय सम्झौता गरेको थियो। लुम्बिनी केबलकार प्रालिले २ प्रतिशत रकम दुई वटा पालिकाका लागि छुट्टाउने छ।
केबुलकार बुटवलको गोलपार्क बमघाटदेखि पाल्पाको तिनाउ गाउँपालिका-३ बसन्तपुरसम्म पुग्छ। यसको लम्बाई ३ किलोमिटर छ। यो प्रदेशको पहिलो केबलकार हो।आइएमई समूहले यसअघि काठमाडौंको चन्द्रागिरी र नवलपुरको गैडाकोटमा मौलाकालिका केबलकार सञ्चालनमा ल्याइसकेको छ।

केवलकारमा प्रधानमन्त्रीलगायत।
लुम्बिनी केवलकार प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकालले लुम्बिनी केबलकार सञ्चालनले बसन्तपुरमा नयाँ धार्मिक र पर्यटकीय गन्तव्य थपिएको बताए।
केबलकार र रिसोर्ट सहितको आयोजनाको कुल लागत ५ अर्ब रुपैयाँ छ। पर्यटकका लागि भेज र नन भेज छुट्टाछुट्टै रेष्टुरेन्ट बनिसकेका छन् भने होटल, बाल उद्यान, स्काईवाक, जीप लाइन निर्माणको क्रममा छन्।
भारतको गुहावटीमा रहेको मन्दिरकै शैली र कलामा बसन्तपुरमा कामाख्या मन्दिर निर्माण गरिएको छ।

आईएमई ग्रुपका अध्यक्ष ढकालसँग प्रधानमन्त्री दाहाल।


