काठमाडौं– हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको जन तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पूर्वानुमान महाशाखाका अनुसार आज बिहान देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा छ।
कोसी प्रदेशका एक–दुई स्थानमा मेघ–गर्जन÷चट्याङसहित क्षणिक वा हल्का वर्षा भइरहेको छ। दिउँसो पनि देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।कोसी, गण्डकी तथा कर्णाली प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा र बाँकी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघ–गर्जन÷चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
राती पहाडी भू–भागको एक–दुई स्थानहरुमा मेघ–गर्जन÷चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले बताएको छ। महाशाखले देशभरको तापक्रम तत्काल घट्ने सम्भावना पनि नरहेको बताएको छ।
बिहीबार देशका ६ स्थानको तापक्रम ४० डिग्रीभन्दा बढी मापन भएको थियो। सबैभन्दा बढी सिमरामा ४२.६ डिग्री सेल्सियस पुगेको थियो। जनकपुर, विराटनगर, भैरहवा, नेपालगञ्ज र धनगढीको तापक्रम ४० नाघेको थियो। अझै तीन दिन तापक्रम नघट्ने महाशाखाको अनुमान छ। तापक्रम बढ्दा तातो हावा चल्ने र लू लाग्ने सम्भावना भएकाले तापक्रम बढेका क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले सुझाएको छ।
लूबाट बच्न सतर्कता अपनाउन सुझाव
जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले देशका तराई भू–भागमा आगामी चार दिनसम्म तातो हावा तथा लूको सम्भावना यथावत रहने देखिएकाले त्यसबाट बच्न सतर्कता अपनाउन अनुरोध गरेको छ। देशभरिको तापक्रमको अवस्था तथा विश्लेषणअनुसार तराईका धेरैजसो भूभागमा तापक्रम क्रमिक रुपमा बढ्ने देखिन्छ।
काठमाडौं उपत्यकालगायत देशका अन्य उपत्यकामा समेत तापक्रममा क्रमिक वृद्धि भइरहेको र देशको तराई भूभागमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी मापन गरिएको छ। हालको तल्लो र उपल्लो वायुमण्डलको अध्ययन र विश्लेषणअनुसार नेपालमा यस वर्षको मनसुन आगमन हुन अझै केही दिन लाग्ने देखिन्छ।
साथै, पहाडी भूभागका उपत्यका तथा खोंचमा समेत तापक्रम क्रमिक रुपमा बढ्न सक्ने सम्भावना रहेकाले महाशाखाबाट जारी हुने सूचना तथा पूर्वानुमानमा अद्यावधिक रहनसमेत आग्रह गरिएको छ। महाशाखाले तातो हावा तथा लूबाट बच्न बढी गर्मीको समयमा घरभित्र अर्थात् चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने, हल्का लुगा लगाउने, सुती कपडा लगाउने, बाहिर निस्किँदा टाउको छोप्ने, टोपी लगाउन सुझाव दिएको छ।
नियमित (पटक–पटक) पानी तथा झोल पदार्थ (जुस, सर्वत, आदि) प्रशस्त मात्रामा पिउने र स्वास्थ्यमा समस्या भए स्वास्थ्यकर्मीसँग नियमित सम्पर्कमा रही थप सल्लाह सुझाव लिनसमेत अनुरोध गरिएको छ। तातो हावा तथा लूबाट थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशी दुख्ने, बान्ता आदि हुन सक्ने देखिएको छ।


