काठमाडौँ: प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचनका लागि आवश्यक वातावरण निर्माणका लागि विघटित प्रतिनिधि सभामा रहेका शीर्ष पाँच राजनीतिक दल, निर्वाचन आयोगका पदाधिकारी तथा सुरक्षा निकायका प्रमुखहरूलाई संयुक्त छलफलको लागि बोलाएकी छिन्। बैठक शुक्रबार दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ।
आगामी निर्वाचनका तयारीबारे स्पष्ट मार्गनिर्देशन खोज्दै सरकारले नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीसँग विस्तृत संवाद गर्ने तयारी गरेको हो।
गत भदौ २३ र २४ गते तत्कालिन सरकारविरुद्ध भएको जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारले यसअघि पनि केही औपचारिक र अननौपचारिक संवाद राजनीतिक दलहरूसँग गरेको छ। तर प्रधानमन्त्री कार्कीले शीर्ष नेताहरूसँग भने हालसम्म संवाद गरेकी छैनन्।
यसपटकको बैठकमा पनि दलका दोस्रो तहका नेताहरूसँग सहाभगी हुनेछन्।
छलफलमा निर्वाचन आयोगका उच्च पदाधिकारी तथा चारवटै सुरक्षा निकाय—नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरू पनि सहभागी हुँदैछन्।







