जुम्ला- जुम्लाका तीन स्थानीय तहले बाल विवाह रोकथाम गर्न विवाह गर्दा अनिवार्य वडाको सिफारिस अनिवार्य गरेका छन्। हालै जिल्लाको तिला गाउँपालिकाले विवाह गर्दा अनिवार्य रुपमा वडाको सिफारिस लिनुपर्ने निर्णय गरेसँगै यो संख्या तीन पुगेको हो।
विवाह गर्ने जोडीले वडाको सिफारिस अनिवार्य गरिएको तिला गाउँपालिका उपाध्यक्ष गोरीकला बुढाले जानकारी दिइन्। पालिकाका नौवटै वडालाई परिपत्रसमेत गरिएको छ। पछिल्लो समयमा बाल विवाह बढ्दै गएको छ। बाल विवाह रोक्न वडाको सिफारिस अनिवार्य गरिएको उपाध्यक्ष बुढाको भनाइ छ।
वडावासीले विवाह गर्नुपूर्व वडाको सिफारिस अनिवार्य लिनुपर्ने व्यवस्था गरिएको छ। बाल विवाह न्यूनीकरण गर्न तिला–६ लाई बाल विवाहमुक्त वडा घोषणासमेत गरिएको छ। देखासेखीले गर्दा हुने बाल विवाहलाई रोक्न वडाको सिफारिसले निकै महत्वपूर्ण भूमिका खेल्ने गाउँपालिका अध्यक्ष मोतिलाल रोकायाले भने, ‘पालिकाका सबै वडालाई बाल विवाहमुक्त गर्न लागिपरेका छौँ।’
कार्यपालिकाबाट गरिएको निर्णयलाई कडाइका साथ कार्यान्वयन गर्न वडालाई निर्देशनसमेत गरिएको गाउँपालिका अध्यक्ष रोकायाको भनाइ छ। जुनसुकै उमेर समूहकाले विवाह गर्दा पनि अनिवार्य वडा कार्यालयमा जन्मदर्ता पेस गर्नुपर्ने र स्वीकृति लिनुपर्ने व्यवस्था गरिएको गाउँपालिकाले जनाएको छ।
विवाह गर्दा अनिवार्य वडाको सिफारिस गरेसँगै वडाबाट सिफारिस लिनेको सङ्ख्या बढेको तिला–१ को वडा कार्यालयले जनाएको छ। पालिकाको वडा नं ६ निवासी विकास रोकायाले विवाहका लागि वडाबाट सिफारिस लिएर विवाह गरेको वडाध्यक्ष जङ्ग रोकायाले जानकारी दिए।
यहाँको पातारासी गाउँपालिकाले पनि विवाह गर्दा वडाको सिफारिस अनिवार्य गरिएको उपाध्यक्ष जनमाया रोकायाले बताए। सिञ्जा गाउँपालिकाले पनि विवाह गर्दा अनिवार्य वडाको सिफारिस लागू गरेको जनाएको छ।


