काठमाडौँ: भिसामा विदेश जाने सर्वसाधारणबाट सेटिङ मिलाएर अवैध रकम असुलेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बहालवाला सहसचिव तथा तत्कालिन प्रमुख अध्यागमन अधिकृत तीर्थराज भट्टराईसहित ७ जना २ वटा कम्पनीविरुद्ध मुद्दा दायर गरेको छ। भ्रष्टाचार मुद्दा दायर भएसँगै अर्याल स्वत: पदबाट निलम्बनमा परेका छन्।
अख्तियारले बिहीबार भट्टराईसहित अध्यागमनका तत्कालिन अधिकृत यज्ञराज अर्याल, ग्रिनलाइन होलिडेज प्रालिका अध्यक्ष बालकृष्ण ढकाल र संस्थापक शेयर सदस्य राम खड्का तथा फेमिली होलिडेज प्रालिका सञ्चालक दीपक भण्डारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।
यस्तै कविता पौडेल र खेमप्रसाद सुवेदीलाई पनि अख्तियारले प्रतिवादी बनाएको छ। ग्रिनलाइन होलिडेज प्रालि र फेमिली होलिडेज प्रालि गरी दुई कम्पनीविरुद्ध पनि मुद्दा दायर भएको छ।
कम्पनीले निलम्बित सहसचिव भट्टराईसँग भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ को कसुर बमोजिम ७९ लाख ८० हजार रुपैयाँ र सम्पत्ति शुद्धिकरणमा १ करोड ३ लाख रुपैयाँ बिगो मागदाबी गरिएको छ।
यस्तै कविता पौडेल र खेमप्रसाद सुवेदीसँग पनि भ्रष्टाचार र सम्पत्ति शुद्धिकरण दुवैमा सोही बराबर बिगो माग गरिएको छ।
तत्कालिन अध्यागमन अधिकृत अर्यालसँग ८ लाख, गृनलाइन होलिडेजका सञ्चालक बालकृष्ण खड्का शेयर सदस्य राम खड्कासँग बराबर ३० लाख २० हजार रुपैयाँ बिगो मागदाबी गरिएको छ। यसैगरी फेमिली होलिडेज भण्डारीसँग १० लाख ६० हजार रुपैयाँ बिगो मागदाबी लिइएको छ।
अख्तियारले अनुसन्धानका क्रममा भट्टराईले भिजिट भिसामा विदेश जाने यात्रुहरूबाट अवैध रकम उठाउन ट्राभल व्यवसायी बालकृष्ण खड्का र दिपक भण्डारीसँग मिलेमतो गरेको भेटिएको अभियोगपत्रमा जनाएको छ। अदालतमा दायर भएको अभियोगपत्रअनुसार यात्रुले पेस गर्नुपर्ने आवश्यक कागजात अध्यागमन प्रणालीमा अपलोड नगराइ, ‘सेटिङ’ गरेर सहजै प्रस्थान अनुमति दिने कार्य भट्टराईले गरेका थिए।
भट्टराईले आफ्नो डायरीमा यात्रुहरूको नामावली, लिङ्ग, मिति तथा रकम ‘कोड भाषा’ प्रयोग गरी टिपोट गरेको, पुरुष यात्रुबाट रू २० हजार र महिला यात्रुबाट रू ४० हजार दरले घुस लिएको प्रमाण फेला परेको आयोगको दाबी छ।
अनुसन्धानका क्रममा भट्टराईले अध्यागमन अधिकृत अर्याललाई घरमै बोलाई ८ लाख रुपैयाँ दिएको पनि दाबी अख्तियारको छ। त्यसैगरी, भट्टराई र ट्राभल व्यवसायीहरूबीच एक हजार भन्दा बढी फोनकल र थुप्रै मेसेज आदान–प्रदान भएको पाइयो तथा मोबाइल, उपहार, खानेकुरा लगायत महँगा सामानहरू पनि लिएको आयोगले जनाएको छ।
भट्टराईले घुसबाट आएको ठूलो रकम कविता पौडेल र खेमप्रसाद सुवेदीमार्फत चलाएको, नगद लेनदेन र जग्गा किनमेलमा प्रयोग गरेको प्रमाण खुलेको अभियोगपत्रमा उल्लेख छ। कविता पौडेलको नाममा रहेको मोबाइल सिम नै भिजिट भिसा सेटिङका संवाद आदान–प्रदानमा प्रयोग गरिएको अख्तियारको ठहर छ।
सेटिङका माध्यमबाट विदेश पुगेका यात्रुहरू रामचन्द्र रिमाल, चन्द्रमाया तामाङ र सुनिता रिषिदेवले अख्तियारमा उपस्थित भई विदेशमा ठगी, श्रम शोषण, यातना भोगेको तथा नेपाल फर्किएपछि रकम फिर्ता नपाएको बयान दिएका थिए।


