काठमाडौं। नेपाली कांग्रेसका नेता तथा पूर्वऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्काले झापाको धुलाबारीमा पाँचतारे होटल बनाइरहेका छन्। उनले पाँचतारे होटल इस्टर्न लिमिटेड सञ्चालनमा ल्याउन लागेका हुन्।
हालसम्म होटल इस्टर्नको ४० प्रतिशत वित्तीय प्रगति भएको छ। होटल निर्माणमा तीन अर्ब २६ करोड ९० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। होटल इस्टर्नमा ३० प्रतिशत संस्थापकको स्वपुँजी र बाँकी ७० प्रतिशत बैंकको ऋण हुने गरी लगानी संरचना बनाइएको छ।
आउँदो अप्रिल मध्यममा होटलको ‘सफ्ट लञ्च’ को तयारी गरिएको छ। होटल आगामी सन् २०२७ देखि पूर्ण सञ्चालनमा आउने इस्टर्नले जनाएको छ। निर्माणाधीन होटलमा ९८ कोठा हुनेछन्। कम्पनीको पूर्ण स्वामित्व मेसर्स न्यू इन्फ्रा हेवन ग्रुप होल्डिङस लिमिटेडको हो। होटलमा विनिता थापाको नेतृत्वमा तीन जना सञ्चालक समिति रहेको छ।
होटल परियोजना झापाको मेचीनगरको धुलाबारी चोकमा अवस्थित छ। यो आतिथ्य उद्योगको लागि एक प्रमुख स्थान हो। पूर्व–पश्चिम राजमार्गको छेउमा भएकाले होटल इस्टर्नले आन्तरिक र अन्तर्राष्ट्रिय पर्यटकहरूको लागि सजिलै पहुँचयोग्य हुनेछ।
यो स्थान प्रमुख यातायात केन्द्रहरू र प्रमुख सीमा नाकाहरूको नजिक छ। झापा आफैंमा पर्यटनको लागि बढ्दो केन्द्र हो।
परियोजनाले उच्चगुणस्तरको आतिथ्य सेवाहरूको बढ्दो मागलाई पूरा गर्नेछ। आगन्तुकहरूलाई विलासी तर घरेलु अनुभव प्रदान गर्दछ। परियोजना वरपरको क्षेत्र यसको सुन्दर परिदृश्यका लागि परिचित छ भने नेपाल र भारत दुवैका विभिन्न पर्यटकीय गन्तव्यहरूको प्रवेशद्वार हो।
होटलमा फुड एन्ड बेभरेज सेवाका साथै, क्यासिनो, स्विमिङ पुल, बैंकेट हल, रेष्टुराँ, कन्फेरेन्स हल र स्पालगायत अन्य धेरै सुविधा रहने बताइएको छ।
टीबीआई ग्रुपले बाहिरियो
यसअघि पूर्वमन्त्री खड्काले गैरआवासिय नेपाली संघका पूर्वअध्यक्ष एवम् टीबीआई ग्रुपका अध्यक्ष भवन भट्टलाई बिक्री गरेका थिए। कुरा नमिलेपछि भट्ट होटलबाट बाहिरिएका छन्।
उक्त लगानी बराबर राजधानीको बूढानिलकण्ठमा रहेको पाँचतारे फरेस्ट इन लिमिटेड होटलको सेयर लिएका छन्। सञ्चालनमा रहेको पाँचतारे फरेस्ट इन खड्काको हो।
फरेस्ट इनले प्राथमिक सेयर (आईपीओ) जारी गर्न नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ। होटल फरेस्टले ४० करोड रुपैयाँबराबरको चालिस लाख कित्ता अंकित मूल्यमा आईपीओ निष्कासन गर्न लागेको हो।
आईपीओ निष्कासन तथा बिक्री प्रवन्धकमा एनआइसी एसिया क्यापिटल लिमिटेड रहेको छ।


