एउटा कारिगढले जसरी आफ्नो मिहिनेत, पसिना र लगनशीलताले वज्र ढुंगा कुँदेर कला भर्छ, तब त्यो ढुंगा ढुंगा मात्र नभएर मूर्ति बन्न पुग्छ र सबैको आकर्षणको केन्द्र बन्दछ। हो, ठीक त्यसैगरी एउटा भर्भराउँदो युवाले आज कुश्माको दैनन्दिनी बदलिदिएको छ। अर्थात्, आफ्नो ऊर्जा, सीप र जाँगरले कुश्माको भीरपहरा खोपेर/सिञ्चिएर संघीयताका कारण थला परेको कुश्मालाई पुनः गुल्जार बनाएको छ।
साहसिक पर्यटनको पर्यायको रुपमा परिचित सिन्धुपाल्चोकको पाङ्ग्रेटारमा जन्मिएका राजु कार्की देश युवा पलायनले थला परिरहेका बेला स्वदेशमै केही गर्नुपर्छ भन्ने हुटहुटीले ओतप्रोत भएर यहीँका भीर, खोँच र पहरामा आफ्नो सीप र क्षमता खर्चने युवाको नाम हो। तत्कालिन समय द लास्ट रिसोर्ट भोटेकोशीमा बञ्जी मास्टरको रुपमा ख्याति कमाएका कार्की आफ्ना थप साहसिक सपना पूरा गर्न देश दौडाहा निस्किए।
ई.सं. १९९९ मा बनेको नेपालकै पहिलो बञ्जीमा रहेर बञ्जी मास्टरको अनुभव बटुलेका उनी पर्यटकीय सहर पोखरामा आएर बञ्जीको सम्भाव्यता अध्ययन गरे। उनी पोखरा भिजिट गर्दा हाइग्राउन्ड एडभेन्चरले नेपालमा दोश्रो बञ्जीको रुपमा सेवा प्रवाह गरिसकेको थियो। उनले पोखरा वरीपरीका सम्भावना खोज्दै गर्दा ठिक त्यतिनैबेला कुश्मामा अग्ला र लामा पुल बन्ने क्रम चलिरहेको थियो।

वि.सं. २०६७ सालमा मोदीखोलामाथि नेपालकै अग्लो पुलको नामबाट कुश्मा–ज्ञादी झोलुंगे पुल र २०७० मा प्रसिद्ध कालीगण्डकी नदीमाथि कुश्मा–कैयौँ लामो तथा अग्लो झोलुंगे पुल निर्माण भइसकेको थियो। राजु कार्कीले यी दुवै पुललाई सम्भावनाका नजरले हेरे। कुश्मा वरपरका खोंच र खोला नियाले। स्थानीय पनि निकै उत्साहित भएर बञ्जी जम्प पर्वतमा भित्र्याउनुपर्छ भनेर उनलाई हौस्याए।
निजी क्षेत्रबाट सञ्चालन गरिने बञ्जी जम्प त्यतिबेला जोखिमको व्यावसायको रुपमा हेरिन्थ्यो। उनले ठूला र लामा खोंचमा व्यक्तिगत तवरबाट पुल बनाएर लगानी गर्ने वा सरकारी पुलमै प्रक्रिया मिलाएर बञ्जी सञ्चालन गर्ने भन्ने दोधारमा थिए। कुश्मेलीहरूले सरकारी लगानीबाट बनेका पुलहरूमै बञ्जी जम्प गराउन सुझाए। मोदी खोला तथा कालीगण्डकी नदीमा निर्माण भएका यी दुवै लामा र अग्ला पुल नेपाल सरकारको लगानीमा निर्माण भएका पुल थिए।
त्यतिबेला कार्कीले कुश्मामा निर्माण सम्पन्न यी दुई पुलमध्ये कुश्मा–कैया झोलुंगे पुलमा आवतजावतलाई व्यवस्थापन गरेर बञ्जी सञ्चालन गराउने निधो गरे। त्यतिबेला सरकारी तवरबाट स्वीकृत लिनेलगायतका आवश्यक सबै प्रक्रिया पूरा गराए। आफ्नो मोटो रकम बञ्जीमा फसिने तर सार्वजनिक पुल भएकै कारण अपेक्षागरेजति व्यावसायिक सफलता हात नलाग्ने पो हो कि भनेर उनले पुनः आफ्नो योजना ब्रेक गरे।
तर, उनको मन लोभ्याएको कालीगण्डकी खोंच भने बिर्सिन सकेनन्। उनले त्यतिबेला स्थानीय युवा युवराज जोशीलाई भेटे।
उनी कुश्माका सामाजिक, राजनीतिक तथा व्यावसायीक युवा हुन्। उनले आफ्नो योजना जोशीलगायतलाई सुनाए। स्थानीय युवा उद्यमी जोशीले उनको योजनामा सकारात्मक भए र साथ दिने बचन दिए। सुरुमा बञ्जी र रेष्टुरेन्ट मात्र सञ्चालन गर्ने सोंचमा दुईजना पुगे। जसअनुसार कार्कीले कालीगण्डकी खोंचमाथि कुश्मा–नेपाने साहसिक पुल निर्माण गर्ने सोच बनाए।

प्रारम्भमा पर्वतको कुश्मामा वारिपट्टि तीन आना र बागलुङको नारायणस्थान–१४ नेपानेमा २०/२२ रोपनी जग्गा व्यवस्थापन गरेर पुल र टेन्टबाट व्यावसाय सुरु गर्ने निर्क्यौल गरे। पछि जग्गा व्यवस्थापन हुँदै जाँदा हाल ५० रोपनी बढीमा कार्कीले साहसिक खेलका अलवा कटेज सहितको रिसोर्ट सञ्चालन गरेका छन्।
प्यारामाउन्ट कन्स्ट्रक्सन प्रालिले निर्माणको जिम्मा लिएको सो पुल निर्माणको क्रममा दुईपटकसम्म लट्टा तान्ने क्रममा भुइँमा बजारिन पुग्यो। थुपै्र रकम स्वाहा भयो, तथापि उनी हरेस खाएनन्। निर्माण अवधिमा थुप्रै मान्छेले उनलाई हतोत्साही बनाए। लगानी डुब्छ भनेर भड्काउन खोजे तर उनी आफ्नो उद्देश्यबाट कत्ति पनि विचलित भएनन्। ५० बढी रोपनी जग्गामा ८७ जना नियमित र १८ जना आंशिक गरी कुल एक सय पाँच जना स्टाफलाई रोजगारी उपलब्ध गराउँदै आएका कार्कीको बन्जी ‘द क्लीफ’ को नामले परिचित छ।
ई.सं. २०२० अक्टोबरबाट बञ्जी, स्वीङ, स्काइ साइक्लिङ, स्काई क्याफेलगायत करीव डेढ दर्जन बढी साहसिक गेम सञ्चालन गरेका कार्कीलाई सफल गराउन फ्रान्समा जन्मे हुर्केकी फ्लोरेन्स कार्कीले उत्तिकै साथ र सपोर्ट छ। फ्लोरेन्स उनकी श्रीमती हुन्। यतिबेला उनलाई साथ दिन भोटेकोशीका तत्कालिन समयका १० जना पूर्वसहकर्मीहरू पनि आइसकेका छन्। उनीहरूले कार्कीकै योजनाअनुसार सेवा प्रवाह गरिरहेका छन्।
कर्मचारीका लागि मासिक २२ लाख र अपरेटिङमा करिब ५० लाख हाराहारी खर्च गर्ने द क्लिफले वार्षिक ११ करोड बढीको व्यापार गर्ने गरेको अध्यक्ष राजु कार्कीले जानकारी दिए। उनले भने,‘स्वदेशी र विदेशी गरी हालसम्म ४५ हजार बढीले साहसिक खेलको अनुभव लिएका छन्।’ द क्लीफको कार्यालय रेकर्डअनुसार सबैभन्दा धेरै नेपालीले साहसिक खेल खेल्ने गरेका छन् भने त्यसपछि बंगालादेशी, तेस्रोमा भारतीय र चौथोमा युरोपियनले एडभेन्चर गेम खेल्ने गरेका छन्।
द क्लीफमा आउने सामान्य आगन्तुकको संख्या भने यकिन छैन। तर, लाखौंले भ्रमण गरेको दाबी द क्लीफको छ। सामान्य भिजिटरलाई समेत प्रवेश शुल्क पाँच सय रुपैयाँ लिने गरिन्छ। उक्त शुल्कमा एउटा सामान्य गेम वा खाजा व्यवस्था गर्ने गरेको द क्लीफले जनाएको छ।
पाँच करोड लगानीमा सुरु गरेको व्यवसायमा हाल ४० करोड बढीको लगानी पुगिसकेको छ। द क्लीफका अध्यक्षसमेत रहेका व्यावसायी राजु कार्कीलाई सञ्चालक समिति सदस्यको रुपमा स्थानीय युवा व्यावसायी नेत्र पराजुली, युवराज जोशी, नवराज शर्मा र राजनकुमार जोशीले साथ दिइरहेका छन्। उक्त व्यावसायमा हाल ६० जनाको सेयर रहेको छ। जग्गा किन्ने क्रममा जग्गा दाताहरूले जग्गाको रकम सेयरमा परिवर्तन गर्न अनुरोध गरेपछि सञ्चालकले उनीहरूलाई जग्गा बराबरको सेयर दिएका हुन्। सोही कारण पछिल्लो समय सेयरदाताको संख्या बढ्न गएको द क्लीफले जनाएको छ।
द क्लीफका कार्यकारी निर्देशक इश्वध्वज कार्कीका अनुसार हाल द क्लीफले विश्वकै दोस्रो अग्लो बञ्जी (२२८ मि. अग्लो र ५२० मि. लामो), विश्वकै अग्लो स्वीङ (२२८ मि. लामो) विश्वकै लामो र अग्लो स्काई साइक्लिङ (६०० मि. लामो र २५५ मि. अग्लो), विश्वकै लामो र अग्लो स्काई क्याफे (२५५ मि. अग्लो), विश्वकै अग्लो र लामो मेघा ट्रोल (एक हजार दुई सय २८ मि. लामो, २५५ मि.अग्लो) सञ्चालनमा ल्याएको छ।
यसका अतिरक्त स्काई चियर (दुई जना बस्न मिल्ने), फेमिली पिङ (चार जना खेल्न मिल्ने), गुलेली पिङ, साहसिक वीसिङ ह्यान्ड, वाल क्लाइमिङ, क्रेजी ब्रीज, स्काई ग्लाइडिङ (११० मि. लामो), फ्लाइङ फक्स (११० मि. लामो) लगायतका साहसिक गेम पनि यस रिसोर्टमा सञ्चालनमा छन्।
निर्देशक कार्कीका अनुसार बञ्जीका लागि प्रतिव्यक्ति ९ हजार पाँच सय, स्वीङका लागि ९ हजार पाँच सय, स्काई साइक्लिङका लागि तीन हजार, स्काई क्याफका लागि दुई हजार पाँचसय, मेघा ट्रोलको एक जनाको चार हजार पाँच सय, दुई जनाको सात हजार आठसय, तीन जनाको १० हजार पाँच सय रुपैयाँ तथा फेमिली पिङ, गुलेली पिङ, वीसिङ ह्यान्ड, वाल क्लाइमिङ, क्रेजी ब्रिजको प्रतिव्यक्ति तीन/तीन सय र स्काई ग्लाइडिङ एवं फलाइङ फक्सको प्रतिव्यक्ति सात/सात सय रुपैयाँ शुल्क कायम गरिएको छ।
रिसोर्टले अफ सिजनमा आवश्यकताअनुसार छुट स्किमसमेत ल्याउने गरेको छ। चाप कम भएको मौकामा पाँचदेखि २० प्रतिशतसम्म बसाइ तथा साहसिक गेममा छुट दिने गरेको सञ्चालक नेत्र पराजुली बताउँछन्। उनका अनुसार वर्षातको समयमा कटेज तथा मिनी गेमहरूका लागि १० देखि २० प्रतिशतसम्म छुट प्रदान गरिन्छ।

२१ वटा कटेज, एक वटा सेमिनार हल रहेको द क्लिफ रिसोर्टले हाल स्पा, मसाज, सोना, जकुजी, जीम, योगा स्टुडियोसहित कालीगण्डकी नदीदेखि दुई सय २६५ मिटरको उचाइमा नयाँ निर्माण हुँदै गरेको भवनको दोस्रो तलामा सुविधासम्पन्न स्वीमिङ पुल निर्माण गरिररहेको छ।
पोखरादेखि एक घन्टाको दूरीमा रहेको उक्त रिसोर्ट पुर्व पश्चिम जोड्ने पुष्पलाल मध्यपहाडी लोकमार्ग र उत्तर दक्षिण जोड्ने कालीगण्डकी करिडोरको ट्रान्जिट प्वाइन्ट मानिने कुश्मामा अवस्थित छ। हाल कुश्माबाट मात्र रिसोर्टमा प्रवेश गराइने गरेको भए पनि भोलिका दिनमा पोखरा, काठमाडौं तथा पूर्वी नेपालबाट मध्यपहाडी लोकमार्ग भएर आउनेहरू साहसिक पर्यटकलाई कुश्माबाट र बुटवल, भैरहवा हुँदै पश्चिम नेपालबाट कालीगण्डकी करिडोर हुँदै आउने पर्यटकलाई बलेवा नेपानेबाट इन्ट्री र एक्जीटको व्यवस्था गर्न लागिएको कार्यकारी निर्देशक ईश्वरध्वज कार्कीले बताए।
कडा मिहिनेत र परिश्रमले सफलता हात पारेका राजु कार्की पछिल्ला दिनमा दर्जनौं सरकारी तथा गैरसरकारी संघ–संस्थाबाट सम्मानित र पुरस्कृत हुँदै आएका छन्। स्थानीय तथा राष्ट्रिय स्तरमा सम्मानित कार्की सन् २०२३ मा राष्ट्रपतिबाट प्रदान गरिने जनसेवा पदकबाट सम्मानित भएका थिए। उनै कार्की सबैभन्दा धेरै कर तिर्ने असल करदाताको रुपमा आन्तरिक राजश्व कार्यालय बागलुङबाट आ.व. ०७९/०८० र ०८०/०८१ मा दुईपटक सम्मानित भएका थिए।
भद्र, शालीन र सरल स्वभावका धनी राजुले व्यवसायबाट आर्जन गरेको मुनाफाको हिस्सा अझै पनि व्यावसाय प्रवद्र्धनमै लगाउने गरेको बताए। उनले विगतमा द क्लीफ सम्झेर आउने पाहुनालाई भोलिका दिनसम्म पनि स्तरीय सेवा दिन र सेवालाई अझ प्रभावकारी बनाउनेतर्फ सचेत रहेको बताए।
व्यवसायी कार्कीले भने, ‘राज्य हाम्रोे अभिभावक हो, उसले हामीलाई ढाडस दिन सक्नुपर्छ र हाम्रा समस्यालाई तत्काल सम्बोधन गर्ने हिम्मत गर्नुपर्छ।’ उनले पर्यटनमैत्री व्यावसायलाई जोगाउने र बचाउने हो भने सडक निर्माणको कामलाई समयमै सक्ने परिपाटी बसाल्नुपर्छ। भइरहेका सबै सडक राम्रोसँग चल्न मात्र सके यस क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको कुनै कमी नहुने दाबी गरे। उनले थपे, ‘राज्यले सडक निर्माणको कामलाई आलटाल नगरोस्, बिजुली, पानी र इन्टरनेटजस्ता अत्यावश्यकीय सेवामा तदारुकताका साथ समाधानमा जुटोस्। कोही व्यावसायी हतोत्साही हुनुपर्दैन र घाटामा जानुपर्दैन।’
व्यवसायलाई थप प्रोत्साहन गर्न कार्कीले विभिन्न अवसर पारेर स्थानीय तथा राष्ट्रिय स्तरका कलाकारलाई समेत निम्त्याउने गरेका छन्। द क्लीफमा चर्चित गायक प्रकाश सपुत, रचना रिमाललगायतले आफ्नो एकल गीत संगीत प्रस्तुत गरिसकेका छन्। उसो त कुश्मा, बागलुङ भएर आवातजावत गर्ने देशका प्रमुख राजनीतिक तथा सामाजिक व्यक्तित्व द क्लीफको आनन्द नलिने सायदै होलान्।
द क्लीफले बञ्जीसँगै निर्माण गरेका साहसिक खेलका कारण क्लीफ मात्र नभएर यतिबेला समग्र कुश्मा नै साहसिक गेमको हब बन्दै गएको छ। बञ्जीकै कारण अनकन्टार भीर अहिले लोभलाग्दो अनि रहरलाग्दो बन्दै गएको छ। आज पनि भीर पहरा खोपेर व्यवसाय गर्नेहरू कुश्मामा बढिरहेका छन्। हाल बञ्जी वरपर करिब तीन दर्जन बढी होटल, लज, रेष्टुरेन्टलगायत सेवामुखी व्यवसाय सञ्चालनमा रहेका छन्।
बञ्जी निर्माणपछि सोही क्षेत्रमा स्थानीय युवा व्यवसायी सुनिल बानिँयालगायतको टिमले करिब ३० करोड लगानीमा हार्नेस जीप लाइन एन्ड एडभेन्चर रिसोर्ट सञ्चालनमा ल्याएको छ। उक्त टिमले स्काई ब्रिज, २१ वटा भिल्ला, ग्याङ स्वीमिङ पुलसहितको रेष्टुरेन्ट पनि सञ्चालनमा ल्याएको छ। सञ्चालक सुनिल बानियाँका अनुसार सो रेष्टुरेन्टमा साउना, स्टिम वाथलगायत कालीगण्डकीमा र्याफ्टिङलगायतका साहसिक खेल पनि उपलब्ध छन्। उनका अनुसार हार्नेस जीपलाइनमा टेन्डम, क्लासिक र सुपरम्यान जीपलाइन गर्न सकिन्छ।
पछिल्लो समय कालीगण्डकीको खोंच पर्यटकीय गन्तव्य बन्दै गएपछि पोखरा आउने पर्यटक अधिकांश कुश्मा आउने गरेका छन् भने मुस्ताङ, म्याग्दी, बागलुङ आउजाउ गर्ने पर्यटक तथा लुम्बिनीबाट कालीगण्डकी करिडोर हुँदै मुक्तिनाथ, दामोदरकुण्ड घुमफिर गर्ने पर्यटक रोजाइमा समेत यो क्षेत्र पर्न थालेको छ।

साहसिक पर्यटक आउने क्रम बढेसँगै सोही क्षेत्रको कालीगण्डकीकै किनारमा बञ्जीसँगै विश्वकै अग्लो शिवपार्वतीको मूर्ति निर्माणको काम समेत अघि बढिरहेको छ। शिव सिम महल निर्माण क्रममा रहेको छ भने विश्वकै लामो मानिएको साततले गुप्तेश्वर गुफाको शिरमा धार्मिक पर्यटकलाई लक्षित गरी शिवपार्वतीको मूर्ति निर्माण अघि बढिरहेको छ। करिब १४ करोडको लायतमा निर्माण हुँदै गरेको उक्त मूर्तिको फाउन्डेसन तयार हुँदै गरेको छ।
बञ्जी रहेकै इलाकामा नेपाली इन्जिनियले निर्माण गरेको केबलकार मोडलको कुश्मा बलेवा यान्त्रिक पुल यसअघि नै सञ्चालनमा रहँदै आएको छ। यसले समेत पर्यटकलाई आकर्षण गरिरहेको छ। धेरै अग्ला र लामा झोलुंगे पुलले प्रसिद्धि कमाएको पर्वतमा केवलकार मोडलका यान्त्रिक पुल, द क्लीफले निर्माण गरेको ह््याङगीङ साहसिक पुल र हार्नेस जीपनलाईन एण्ड एड्भेन्चर रिसोर्टले निर्माण गरेको स्काई ब्रिज (सिसाको पुल) यस क्षेत्रका फरक प्रकृतिका आकर्षणका केन्द्र हुन्।
संघीयतासँगै सुस्ताएको कुश्माबजारको व्यापार व्यावसाय द क्लीफले सञ्चालन गरेको बञ्जीसँगै कोल्टे फेर्न थालेको महसुस सर्वसाधारणले गर्न थालेका छन्। विशेषगरी साहसिक र धार्मिक पर्यटकको हब बन्दै गएको कुश्मा अहिले सबैको चासो र रोजाइको केन्द्र बन्दै गएको छ।
पश्चिमदेखि पूर्वसम्मका मानिस कुश्मा आउने गरेका छन्। विद्याालय, कलेजका विद्यार्थीदेखि आमा, महिला समूह, उद्योगी व्यापारीका संघ–संस्था, सहकारी संस्था र शिक्षक, कर्मचारी सबैको रोजाइ कुश्मा हुन थालेको छ। यिनै साहसिक खेलका कारण कुश्माबजारमा अन्य व्यापार व्यवसायले समेत कोल्टे फेरेको छ। कुश्माबजारमा रहेको रोयल कुश्मा, होटल बन्दना, होटल स्वर्ग, होटल वेन्जु, होटल माउन्टेन भ्यू, होटल ग्रीन, होटल फ्रेन्डलीलगायतमा पाहुना आउजाउ बाक्लिन थालेको छ।

आँटिला र जोशिला युवाहरूले आफ्नो ऊर्जा, पसिना र लगानी यहीँका भीमकाय चट्टानमा सिञ्चिन थालेपछि विदेश रहेका र जाने सोच बनाएका थुप्रै तन्नेरीलाई स्वदेशमै बस्न थप प्रेरणा मिलेको छ। कार्की र बानिँयाजस्ता स्वदेशमै भविष्य देख्ने युवाको लगानीप्रति राज्य सकारात्मक बन्न सकोस्।


