काठमाडौँ: स्मार्टफोन निर्माता जेडटीईले नेपाली उपभोक्तालाई लक्षित गर्दै नुबिया सिरिजका दुई नयाँ मोडेल बजारमा उतारेको छ। शंकर ग्रुपमार्फत नेपाल भित्रिएका ‘नुबिया एयर’ र ‘नुबिया भी८० डिजाइन’ आकर्षक डिजाइन, उन्नत फिचर र शून्य प्रतिशत ब्याजदरको मासिक किस्ताबन्दी सुविधासहित सार्वजनिक गरिएको हो।
जेडटीईले हालै सार्वजनिक गरेको ‘नुबिया एयर’ पातलो बनावट र मजबुत संरचनाका कारण विशेष ध्यान खिच्ने स्मार्टफोनका रूपमा आएको छ। केवल ५.९ मिलिमिटर मोटाइ रहेको यस फोनमा ६.७८ इन्चको १.५ के एमोलेड डिस्प्ले दिइएको छ। स्क्रिन सुरक्षाका लागि कोर्निङ गोरिल्ला ग्लास ७आई प्रयोग गरिएको छ भने धुलो र पानीबाट जोगाउन आईपी६८, आईपी६९ तथा आईपी६९के रेटिङ प्रदान गरिएको छ।
एन्ड्रोइड १५ अपरेटिङ सिस्टममा आधारित नुबिया एयरमा ५० मेगापिक्सेलको रियर क्यामेरा र २० मेगापिक्सेलको फ्रन्ट क्यामेरा जडान गरिएको छ। ५,००० एमएएच क्षमताको ब्याट्री र ३३ वाट फास्ट चार्जिङ सपोर्ट रहेको यो फोन ८ जीबी र्याम र २५६ जीबी आन्तरिक स्टोरेजसहित उपलब्ध छ। यसको मूल्य ३३ हजार ९९९ रुपैयाँ निर्धारण गरिएको छ।
यसैगरी, तुलनात्मक रूपमा किफायती मूल्यमा ‘नुबिया भी८० डिजाइन’ पनि नेपाली बजारमा ल्याइएको छ। कम्पनीका अनुसार यो फोन एन्ड्रोइड १६ मा चल्नेछ र दुई फरक भेरियन्टमा उपलब्ध हुनेछ। ८ जीबी र्याम र १२८ जीबी स्टोरेज भएको मोडेलको मूल्य १९ हजार ९९९ रुपैयाँ तोकिएको छ भने ८ जीबी र्याम र २५६ जीबी स्टोरेज भएको भेरियन्ट २१ हजार ९९९ रुपैयाँमा बिक्री हुनेछ।
नुबिया भी८० डिजाइनमा ५० मेगापिक्सेलको एआई सपोर्ट भएको मुख्य क्यामेरा, १६ मेगापिक्सेलको सेल्फी क्यामेरा तथा २२.५ वाट चार्जिङ क्षमतासहितको ५,००० एमएएच ब्याट्री समावेश गरिएको छ।


