कर्णाली प्रदेशस्थित मुगुकाे छायाँनाथ रारा नगरपालिकामा अवस्थित प्राकृतिक सुन्दरताको अद्वितीयस्थल हो राराताल। यो ताल समुद्र सतहदेखि २,९७२ मिटर उचाईंमा अवस्थित छ।
जिल्लाको सदरमुकाम गमगढीबाट परिश्चमतर्फ करीब ३ घण्टाको पैदल यात्रा गरेपछि राराताल पुगिन्छ। १०.८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको रारा तालको लम्बाई ५.२किमी, चौडाइ २.७ किमी, गहिराइ १६९.९३ मिटर र क्षेत्रफल १० हजार ६२७ वर्ग किमी छ। प्रकृतिको उपहारको रूपमा श्रृजित राराताललाई रारा राष्ट्रिय निकुञ्जको मनोरम हरियाली यसमा पाइने कस्तुरी, रतुवा जस्ता जन्तुहरूका साथै नेपालको राष्ट्रिय चरा डाँफे र अन्य चरा चुरुङ्गीहरूले समेत थप शोभा पुर्याएका छन्।
यसको वरिपरि विस्तारित राष्ट्रिय निकुञ्ज १०६ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ।
दिनभरिमा आफ्नो रुप फेरिरहने राराताल जेठदेखि असोज महिनासम्म विभिन्न फूलहरूले सजिएर स्वर्गकी अप्सरा जस्तै देखिन्छ। रारातालको अर्को एक थप विशेषता के छ भने यस तालमा विश्वमा अन्यत्र कहि पनि नपाइने असला (हिमाली) माछा पाइन्छ। रारातालबाट करीब ३ घण्टाको पैदल यात्रापश्चात् यसको पश्चिमतर्फ रहेको मुर्माटपमा पुग्न सकिन्छ। जहाँबाट रारातालको मनमोहक दृष्यका साथै सैपाल हिमालको श्रृङखलाको मनोरम अवलोकन गर्न सकिन्छ।
राजा महेन्द्र शाहले २०२० सालमा यस क्षेत्रको भ्रमण गरेपछि पहिलेका दिनहरूमा रारा दह भनेर चिनिँदै आएको यस तालको नाम महेन्द्र ताल राखेका थिए ।
ग्रीष्म ऋतुमा रारा ताल निकै सुन्दर छ, तर जाडो हुन्छ। सबैभन्दा उत्तम भ्रमण गर्ने समय सेप्टेम्बर/अक्टोबर र अप्रिलदेखि मईसम्म हुन्छ। डिसेम्बरदेखि मार्चसम्म तापमान पनि जम्ने प्वाइन्टभन्दा तल झर्छ। हिउँदमा भने १ मिटर सम्मको हिउँ पर्ने गरेको छ।





तस्बिर : विष्णु नेपाल


