भक्तपुर- मध्यपुर युथ एसोसिएसनले ग्रासरुट फुटबल कार्यक्रम सुरु गरेको गरेको छ। मध्यपुर थिमीस्थित एसोसिएसनको कार्यालयमा शनिबार मध्यपुर नगरपालिकाका मेयर सुरेन्द्र श्रेष्ठले कार्यक्रमको उद्घाटन गरे।
११० जना बालबालिकाले फुटबलको आधारभूत तालिम लिइरहेको एसोसिएसनका अध्यक्ष तथा नेपाली राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान उपेन्द्रमान सिंहले जानकारी दिए। ‘कार्यक्रम अन्तर्गत सुरुमा साप्ताहिक रूपमा आधारभूत फुटबल प्रशिक्षण दिने, लिग प्रतियोगिता सञ्चालन गर्ने र क्षमतावान् खेलाडीलाई एकेडेमीमै राखेर थप प्रशिक्षणको व्यवस्था मिलाइनेछ,’ सिंहले भने।
साप्ताहिक रूपमा हरेक शनिबार डेढ घण्टाका दरले फुटबल सिकाइनेछ। अहिले ६ देखि १३ वर्षसम्मका ११० जना बालबालिकाले प्रशिक्षण लिन थालेका छन्। उनीहरूलाई उपेन्द्रमान सिंह, बालगोपाल महर्जन, राजेश मानन्धर, राकेश श्रेष्ठसहित थप १२ जना प्रशिक्षकले प्रशिक्षण दिने एसोसिएसनले जनाएको छ।
प्रशिक्षण वर्षभरि नै सञ्चालन गर्ने लक्ष्य रहे पनि वर्षाका कारण २ महिना सञ्चालन गर्न कठिनाइ हुने देखिएको छ। कार्यक्रममा ए डिभिजन लिग विजेता क्लब चर्च ब्वाइजका प्रशिक्षक बालगोपाल महर्जनलाई सम्मान पनि गरिएको थियो।




