काठमाडौँ: नेकपा एमालेको ११औँ महाधिवेशनबाट निर्वाचित नयाँ पदाधिकारी टिममा महिलाको प्रतिनिधित्व अत्यन्तै न्यून देखिएको छ। १९ पदाधिकारीमध्ये पद्माकुमारी अर्याल एक जनामात्रै महिला पदाधिकारीका रूपमा निर्वाचित भएकी छन्।
महाधिवेशनबाट तेस्रो कार्यकालका लागि केपी शर्मा ओली अध्यक्षमा निर्वाचित भएका छन्। निर्वाचनमा उनले प्रतिस्पर्धी ईश्वर पोखरेललाई फराकिलो मतान्तरले पराजित गरे। अध्यक्षसहित अधिकांश पदाधिकारी ओली प्यानलकै उम्मेदवार विजयी भएका छन्।
महासचिवमा ओली प्यानलकै शंकर पोखरेल निर्वाचित भएका छन्। उपाध्यक्ष पाँच जनामध्ये चार जना ओली प्यानलबाट निर्वाचित हुँदा एक जना मात्रै पोखरेल प्यानलबाट विजयी भएका छन्। उपमहासचिवमा पनि ओली समूहको बहुमत रहँदा एक जना पोखरेल समूहका उम्मेदवार निर्वाचित भएका छन्।
सचिव पदमा भने ओली प्यानलले क्लिन स्वीप गरेको छ। नौ जना सचिवमध्ये पद्माकुमारी अर्याल एक जनामात्रै महिला हुन्। बाँकी सबै सचिव पुरुष निर्वाचित भएका छन्।
यसैगरी विजयी १९ एमाले पदाधिकारीमध्ये ब्राह्मण १३ जना, आदिवासी/जनजाती तीन जना र दलित एक जना रहेका छन्।


