काठमाडौँ: पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी प्राध्यापक रविलक्ष्मी चित्रकार तीन महिनासम्म भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा गहन उपचारपछि सोमबार स्वदेश फर्किएकी छन्। जेनजी आन्दोलनका क्रममा घरमा भएको आगलागीमा गम्भीर घाइते भई जीवन–मरणको अवस्थाबाट गुज्रिएकी चित्रकारको स्वास्थ्य अवस्था अहिले स्थिर र सुधारोन्मुख भएपछि उनी नेपाल फर्किएकी हुन्।
सोही क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले जेनजी भाइबहिनीहरूकोअवोधपनको मकुन्डो ओडेर देशलाई नष्ट पार्न खोज्नेहरुलाई यो सरकारले छिटै चिनेर कारबाही गर्नुपर्ने माग गरेकी छन्।
उनले भनिन्, ‘भाइबहिनीहरूको अवोधपनको मकुन्डो ओडेर जुन देशलाई नष्ट पार्न खोजे उनीहरूलाई सरकारले छिटै चिनेर कारबाही गर्नुपर्छ। मेरो यही माग छ। मैले किताबमा पढेको थिएँ–हिटलरको ग्याँस चेम्बर, त्यसमा म आफैँ परें। अहिले यस्तो गति भयो मेरो। मलाई बचाउनको लागि जसले जति प्रयास गर्नु भएको छ उहाँहरुलाई धन्यवाद दिन चाहन्छु।’
भदौ २४ गते बिहान खनाल दम्पत्ती बसोबास गर्ने काठमाडौँ डल्लु निवासमा भएको आगलागीमा चित्रकारको शरीरको करिब १५–१७ प्रतिशत भाग जलेको थियो। विशेषगरी देव्रे हातमा गम्भीर चोट लागेपछि सङ्क्रमण फैलिँदै जाँदा अवस्था जटिल बनेको थियो।


