काठमाडौँ: भदौ २३ गते जेनजी आन्दोलनका क्रममा भएको बलप्रयोगलगायत घटना छानबिन गर्न बनेको जाँचबुझ आयोगले पूर्वगृहमन्त्री रमेश लेखकलाई बयानका लागि बोलाएको छ। सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्ध तथा भ्रष्टाचारविरुद्ध भएको आन्दोलनका क्रममा तत्कालिन सरकारले गरेको बल प्रयोगका कारण त्यसदिन १९ जनाको गोली लागेर मृत्यु भएको थियो।
उक्त घटनापछि तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकार अपदस्त भई पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भएको थियो। अन्तरिम सरकारले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वमा गठन गरेको आयोगले ९० दिनको म्यादसहित आयोग गठन गरेको थियो। तर उक्त अवधिमा बयान पनि नसकेपछि गत पुस ३ गते आयोगको म्याद एक महिना थप गरिएको छ।
यसअघि आयोगले पूर्वगृहसचिव गोकर्णमणि दुवाडी, पूर्वआइजिपी चन्द्रकुबेर खापुङ र काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छविलाल रिजाललगायतको बयान लिइसकेको छ।
आयोगले तत्कालिन गृहमन्त्री लेखकलाई बयानका लागि बोलाएकोमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि यसै साता बयानका लागि बोलाउने तयारी गरे पनि निर्णय हुन बाँकी छ। आयोगका प्रवक्ता विज्ञानराज शर्माले पूर्वप्रधानमन्त्री ओलीलाई बयानमा बोलाउने निर्णय हुन बाँकी रहेको बताएका छन्।
यता ओलीले भने आफू बयानमा नजाने अडान लिएका छन्।


